• १९ कात्तिक २०८२, बुधबार

गुरुनानक जयन्तीको अवसरमा कार्यवाहक राष्ट्रपतिको शुभकामना

blog

कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादव ।

काठमाडौँ,कात्तिक १९ गते । कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले गुरुनानक जयन्ती (प्रकाश पर्व) २०८२ का अवसरमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ ।

 उहाँले शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण सिख समुदायसहित नेपाली दिदीबहिनी र दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्नुभएको हो । 

 राष्ट्रपतिले गुरुनानक जयन्ती सत्य, समानता र भ्रातृत्वको सन्देश बोकेको पर्व भएको उल्लेख गर्दै यस अवसरले सबैलाई एकता, सहिष्णुता र सद्भावको बाटोमा अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।

उहाँले प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन सिख धर्मावलम्बीहरूले धर्मगुरु गुरुनानक देवको जन्मजयन्तीलाई ‘गुरु पूरब’, ‘गुरु पर्व’ र ‘प्रकाश वर्षका रूपमा श्रद्धा र भक्तिपूर्वक मनाउने परम्परा रहेको बताउनुभयो। 

गुरुनानक देवले दिनुभएको ‘इमानदारीपूर्वक परिश्रम गर’, ‘लोभमोह त्यागेर सत्यको स्मरण गर’ र ‘कमाएको धन अरूसँग बाँड’ भन्ने त्रिसूत्रीय सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक रहेको उहाँको भनाइ छ। 

कार्यवाहक राष्ट्रपतिले गुरुद्वाराहरूमा हुने कीर्तन, दीप प्रज्वलन र सामूहिक ‘लंगर’को परम्पराले साम्प्रदायिक एकता र सामाजिक समानतालाई प्रवर्द्धन गर्न सहयोग पुग्ने उल्लेख गर्नुभयो।

सन्देशमा गुरु ग्रन्थ साहिबको पाठबाट प्राप्त ज्ञानले समाजमा विद्यमान विकृति, विसङ्गति र विभेद अन्त्य गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ । 

उहाँले गुरुनानक जयन्तीले सबै नेपालीलाई शान्त, सभ्य र एकतामूलक समाज निर्माणमा जुट्न तथा समृद्ध नेपाल निर्माणको महाअभियानमा समर्पित हुन प्रेरणा देओस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ।