• २८ वैशाख २०८१, शुक्रबार

भारतद्वारा ७५ एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार

blog

तस्बिर सौजन्य नेपालस्थित भारतीय राजदूतावास ।

काठमाडौं, असार १९ गते। भारत सरकारले अनुदान सहायतास्वरुप ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस दिएको छ। आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा नेपालस्थित भारतीय राजदूतावासले विभिन्न सङ्घसंस्थामा ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको हो। 

नेपालका विभिन्न जिल्लामा अवस्थित विशेष गरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामूलक संस्थालाई एम्बुलेन्स र बस उपलब्ध गराएको दूतावासले जनाएको छ। 

एम्बुलेन्स र बस प्रदान गरिएको कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव सहभागी हुनुहुन्थ्यो। श्रीवास्तवले सम्बन्धित बस र एम्बुलेन्स प्रदान गरिएका संस्थालाई चाबी प्रदान गर्नुभयो।  यो सहयोग भारत स्वतन्त्र भएको ७५ औँ वर्षगाँठको अवसरमा प्रदान गरिएको हो। 

कार्यक्रममा मन्त्री पौडेल र नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले नेपाल र भारतको सम्बन्ध बलियो र सहयोगीपूर्ण हुने उल्लेख गर्नुभएको थियो। भारतले सन् १९९४ यता नेपालका विविध जिल्लामा अवस्थित विभिन्न संस्थाहरुलाई ९४० वटा एम्बुलेन्स र १८४ वटा विद्यालय बस उपहारस्वरुप प्रदान गरिसकेको छ।