• १३ असोज २०८१, आइतबार

यू–२० साफको बन्द प्रशिक्षणमा ३० खेलाडी

blog

यू–२० साफ च्याम्पियनसिपको तयारीमा रहेका खेलाडी । तस्बिर : एन्फा

काठमाडौं, असार १९ गते । भारतमा आयोजना हुने यू–२० साफ च्याम्पियनसिप फुटबलका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले दोस्रो चरणको बन्द प्रशिक्षणमा ३० खेलाडी राखेको छ । एन्फाले आइतबार प्रारम्भिक प्रशिक्षणमा रहेका ४१ खेलाडीबाट ३० खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको हो ।

प्रशिक्षक मेघराज केसीले खेलाडीको प्रदर्शनका आधारमा ११ खेलाडीलाई बाहिर राख्दै दोस्रो चरणको प्रशिक्षण क्याम्प सञ्चालन गर्न लाग्नुभएको छ । भुवनेश्वरमा जुलाई २५ देखि अगस्ट ५ तारिखसम्म सञ्चालन हुने यू–२० साफमा आयोजक भारतसहित नेपाल, माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेशले भाग लिने पक्का भएको छ ।

लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा शीर्ष दुई टोलीबीच फाइनल भिडन्त हुनेछ । साफले यस प्रतियोगितालाई एएफसी यू–२० एसियन कप छनोट फुटबलको तयारी प्रतियोगिताको रुपमा पनि लिएको छ । नेपाल  एसियन कप छनोटको समूह ‘बी’ मा परेको छ ।

नेपालको समूहमा कतार, बहराइन, भुटान र बङ्गलादेश छन् । छनोट खेल सेप्टेम्बर १० देखि १८ सम्म बहराइनमा हुनेछ । समूह विजेता टोलीले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२० एसियन कपमा स्थान बनाउनेछन् । 

बन्द प्रशिक्षणमा रहेका खेलाडी

गोलरक्षक : इश्वर गुरुङ, उनेश चौधरी, जियारथ सेख र सौरभ कार्की

रक्षक : अकिव हक, अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, आश्विन भट्टराई, सृजन धानी, रोशन थापा र राज थोकर

मिडफिल्डर : अभिषेक वाइबा, दीपेश गुरुङ, आशिष राई, क्षितिज भण्डारी, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिशरत्न छिन्जु, प्रीतम स्याङ्तान, सुगम सुवाल, मनग्य नकर्मी र आयुष घलान

स्ट्राइकर  : दीपेश राई, निरञ्जन मल्ल, रोहित सुब्बा र रोहन खड्गी ।