• १६ भदौ २०८१, आइतबार

सभामुख सापकोटा र मलेसियाका उपसभामुख रसिदबीच भेटवार्ता

blog

गोरखापत्र अनलाइन 

काठमाडौं, असार १९ गते । सभामुख अग्निप्रसाद सापकोटा र मलेसियाका उपसभामुख मोहमद रसिद हसनबीच भेटवार्ता भएको छ । उहाँहरुबीच अजरबैजानको राजधानी बाकुमा असंलग्न आन्दोनको संसदीय सञ्जालको सम्मेलनका क्रममा भेटवार्ता भएको सभामुख सापकोटाका स्वकीय सचिव गोविन्द पाठकले जानकारी दिनुभयो । 

भेटमा सभामुख सापकोटाले नेपाल र मलेसियाबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै द्विपक्षीय सम्बन्ध मैत्रीपूर्ण र सौहार्द रहेको चर्चा गर्दै दुबै देशले असंलग्नताको नीतिमा विश्वास गरेको र संयुक्त राष्ट्र सङ्घको आदर्शमा प्रतिबद्ध रहेको बताउनुभयो । 

सभामुख सापकोटाले मलेसियाले सन् २००१ को सुरुदेखि नै नेपाललाई विदेशी कामदारहरूको स्रोत देशको रूपमा मान्यता दिएर ठूलो सङ्ख्याका नेपाली कामदारलाई रोजगारी दिएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । 

उहाँले मलेसिया नेपालको प्रमुख व्यापारिक साझेदार रहेको चर्चा गर्दै दुई देशबीच पर्यटन प्रवद्र्धनको सम्भावनामा जोड दिनु भयो । २००३ मार्चदेखि सुरु भएको दुई देशका राजधानीबीचको सिधा हवाई सम्पर्कले दुवै देशका नागरिकलाई अझ नजिक ल्याउन सहज भएको उहाँको भनाइ थियो । 

भेटमा मलेसियाका उपसभामुख मोहमद रसिद हसनले नेपाल मलेसियाको असल मित्र रहेको बताउँदै सभामुख र नेपाली संसदीय प्रतिनिधि मण्डलसँगको भेटप्रति खुसी व्यक्त गर्नुभयो । सो भेटमा नेपाली प्रतिनिधि मण्डलका सदस्यहरु पुष्पा भुसाल गौतम, रामचन्द्र राई र सभामुखका स्वकीय सचिव गोविन्द पाठक सहभागी हुनुहुन्थ्यो ।