अनिल पराजुली
हेटौँडा, कात्तिक ६ गते । प्रकृति संरक्षणको क्षेत्रमा सक्रिय अन्तर्राष्ट्रिय निकाय अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) ले सङ्कटापन्न सूचीमा सूचीकृत सालक संरक्षणमा मकवानपुरका सामुदायिक वनका प्रतिनिधिहरू सक्रिय हुनुभएको छ ।
सङ्कटापन्न सूचीमा तामे सालक अर्थात् इन्डियन प्याङ्गोलिन र अति सङ्कटापन्न सूचीमा सूचीकृत कालो सालक अर्थात् चाइनिज प्याङ्गोलिनलाई जिल्लाको विभिन्न स्थानबाट उद्धार गरी सामुदायिक वनमा संरक्षण गरिएको छ ।
चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूह र रानी सामुदायिक वन उपभोक्ता समूहले आफ्नो वन क्षेत्रभित्र सालकको संरक्षण गर्दैआएका छन् । मकवानपुरगढी, जितपुर भन्ज्याङ, धादिङ, देवी डाँडा, मोरङे, सहिद स्मारक नवलपुर, सिन्धुली र हेटौँडा आसपासका विभिन्न स्थानबाट उद्धार गरिएको २५ वटा सालक सामुदायिक वनमा संरक्षण गरिएको डिभिजन वन कार्यालय मकवानपुरका वन अधिकृत वसन्तराज गौतमले जानकारी दिनुभयो ।
गत आर्थिक वर्षमा विभिन्न स्थानबाट उद्धार गरी ल्याइएको कालो सालक २३ र तामे सालक २ वटा चुच्चेखोला सामुदायिक वनमा संरक्षण गरिएको छ । मकवानपुरको चुच्चेखोला, रानी, अशोक, न्यूरेनी सामुदायिक वनमा यसको संरक्षण हुँदैआएको छ ।
हेटौँडा–१७ मा सालक संरक्षणका साथै सालक पार्क पनि निर्माण गरिएको छ । डिभिजन वन कार्यालय हेटौँडा र राप्तीले सालक संरक्षणको अभियानमा टेवा गर्दैआएको छ । विभिन्न सङ्घ संस्था, सामुदायिक वन, पालिका, विद्यालय अनि युवा वर्गसँग यसको प्रवर्धनका लागि समन्वय र सहकार्य गरिरहेको छ ।
रानी सामुदायिक वन समूहले २०६२ सालदेखि सालकको संरक्षण गर्दैआएको छ । सालकको संरक्षण र व्यवस्थापन र यसको प्रचार प्रसारको लागि समूहले चौघडा बजार र पिस पार्कमा सालकको प्रतिमा निर्माण गरेको छ । समूहको बलक नं ६ मा सालक केज समेत बनाएको छ । समूहको वनक्षेत्र भित्र ३ दर्जनभन्दा बढी सालक रहेको समूहका व्यवस्थापक भीमसेन पौडेलले जानकारी दिनुभयो ।
सालक जोगाउन समुदायका मानिसहरू नै सक्रिय भएको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहका व्यवस्थापक केदार गौतमले बताउनुभयो । आम उपभोक्ता र विद्यालय स्तरसम्म सालक संरक्षणका लागि जनचेतना बढ्दै जाँदा बाटोमा भेटिएका, घाइते अवस्थामा रहेका सालक उद्धारगरी सामुदायिक वनमा हस्तान्तरण गर्ने चेतनाको विकास भएको उहाँले बताउनुभयो ।
वन विज्ञान अध्ययन संस्थान हेटौँडामा अध्ययनरत समिक विष्टले जर्मन सरकारको सहयोगमा सालकको वासस्थानको सम्भाव्यता अध्ययन गरिरहेका छन् । मकवानपुरको सालक पाइने सामुदायिक वनको सङ्ख्या, सालकको वासस्थान र उपलब्धताको विषयमा वन विज्ञान अध्ययन संस्थानका विद्यार्थी विष्टले अध्ययन गर्नुभएको हो । सालकलाई मकवानपुरको गौरव, प्रकृतिको साथीका रूपमा संरक्षण गरिएको डिभिजन वन कार्यालय राप्ती मनहरीले जनाएको छ ।
मकवानपुरको चुरेको फेद, जहाँ सालको जङ्गलको राम्रो उपस्थिति छ, त्यो क्षेत्रमा र माथिल्लो भेगको चित्लाङ पालुङको जङ्गलमा समेत यसको उपस्थिति रहेको डिभिजन वन कार्यालय राप्ती मनहरीको भनाइ छ । चितवन र पर्सा दुवै राष्ट्रिय निकुञ्जको सीमा जोडिएको र उत्तरी भागमा फुलचोकी चन्द्रागिरि क्षेत्र जोडिएको हुनाले यहाँ दुवै प्रकारका सालकको उपस्थिति भएको हुन सक्ने उल्लेख छ । मकवानपुरका विभिन्न १५० भन्दा बढी सामुदायिक वनमा सालक फेला परेको वन कार्यालयले जनाएको छ ।
“शान्त स्वभावको लजालु, स्तनधारी जनावर सालक किसानको साथीको रूपमा परिचित छ । सालकले मुख्य रूपमा धमिरा, कमिलालगायत साना किरा र तिनका अण्डा खाने गर्दछ । यसको शरीर खपटाले ढाकिने र प्रमुख आहारा कमिला, धमिरा हुनाले यसलाई स्केली एन्टएटर पनि भनिन्छ, यसले अन्नबाली, पशुचौपाया र मानिसलगायत कसैलाई पनि हानी नोक्सान गर्दैन” डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यले भन्नुभयो ।
किसानको बालीनाली नोक्सान गर्ने कीरा, धमिरालाई प्राकृतिक तरिकाले नियन्त्रण गर्ने हुँदा सालक मानव समुदायका लागि हितकारी जीवका साथै जमिनको प्राङ्गारिक माटो खनेर जमिनको उर्वराशक्ति बढाउने भएकाले किसानको साथीका रूपमा लिइएको उहाँको भनाइ छ ।
अवैध चोरी निकासी एवं व्यापार, अन्धविश्वास, समुदायमा जनचेतनाको कमी, सरोकारवालाको कम चासो, वन डढेलो, जलवायु परिवर्तन, साघुरिँदै गएको वासस्थान, वन क्षेत्रको अतिक्रमण, यसको वासस्थानमा अत्यधिक मानवीय गतिविधि र वन क्षेत्रमा भौतिक पूर्वाधार निर्माण र आहारको कमी हुँदै जाँदा सालक लोप हुँदै गएको वन अधिकृत गौतमले बताउनुभयो ।
वन्यजन्तुसम्बन्धी अन्तर्राष्ट्रिय व्यापार अभिसन्धिको अनुसूचीमा सालक राखिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले सालकसहित २७ प्रजाति स्तनधारी प्राणीलाई लोपोन्मुख सूचीमा राखी संरक्षण गरिरहेको छ । त्यसैगरी यस ऐनको दफा २६ को उपदफा १ अनुसार सालक मारेमा घाइते बनाएमा वा यसको अङ्गको व्यापार वा ओसारपसार गरेमा ५ लाखदेखि १० लाख रुपियाँसम्म जरिवाना वा ५ वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।
नेपालमा सालक समुद्र सतहबाट करिब २५०० मिटरसम्मको उचाइमा विशेषगरी सालको शान्त जङ्गलमा पाइने गरेको छ । सालकको मुख्य वासस्थान पूर्वी तथा मध्यनेपालका चुरे पहाड तथा उत्तरी साल वन र त्यसको आसपासका वन क्षेत्र र महाभारतको तल्लो क्षेत्र हुन् । नेपालका ६१ जिल्लामा सालक पाइन्छ ।
सालकले दुलो खनेर जमिनमुनि बस्ने र आहारको खोजी गर्छ । सालक आहाराको खोजीमा रातमा मात्र निस्कने गर्छ । सालक दिउँसो दुलोमा बस्छ र आहाराका लागि रातको समयमा बढी क्रियाशील हुन्छ । सालकलाई रातमा सक्रिय हुने जीव भनिन्छ ।
बागमती प्रदेशको मकवानपुरसहित धादिङ, सिन्धुली र काभ्रेपलान्चोकमा सालक पाइने गरेको डिभिजन वन कार्यालयको भनाइ छ । विश्वभर पाइने ८ प्रजातिमध्ये नेपालमा दुई प्रजातिका सालक पाइन्छन् । सालकको शरीरभरि बाक्लो र कडा खपटा हुन्छ । सालकलाई विभिन्न स्थान–समुदायअनुसार फरक–फरक नामले चिनिन्छ । तराईमा यसलाई ‘हिलेमाछो’ वा ‘सालमछरी’ भनिन्छ । पश्चिम पहाडतिर यसलाई ‘भकुण्डे भूत’ भनेर चिनिन्छ ।