प्रेम अधिकारी
पशुपतिनगर(इलाम) असोज २५ गते। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले इलामको बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ।
शनिबार मन्त्री घिसिङले इलाम नगरपालिका-१०, माइखोला टापु, मेची राजमार्गको राजदुवाली खण्ड र नेपालटार सडकको मिल गोलाई क्षेत्रमा बाढी पहिरोले पुर्याएको क्षतिको स्थलगत निरीक्षण गर्नु भएको हो ।
निरीक्षणको क्रममा ऊर्जा मन्त्री घिसिङसँगै गृहसचिव रामेश्वर दङ्गाल, भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव शर्मा, विपद् प्राधिकरणका प्रमुख दिनेश भट्ट र नेपाल प्रहरीका प्रमुख चन्द्रकुवेर खापुङ सहितको टोली रहेको थियो।
मन्त्री घिसिङले माईखोला टापुमा बाढीपहिरो प्रभावितलाई भेटी पीडितका गुनासो सुन्नु भयो।बाढी पीडितले तत्कालको पुनःस्थापना र दीर्घकालीन बसोवासको व्यवस्थापन गर्न सरकारले ध्यान दिनुपर्ने माग गरे।
मन्त्री घिसिङले मेची राजमार्गको बन्द रहेको सडक तत्कालका लागि आइतबारसम्ममा खुलाइने र दीर्घकालीन योजना बनाएर विकल्प खोजिने बताउनुभयो।
इलाम नगरपालिकामा बाढीले पुर्याएको क्षतिबारे इलाम नगरपालिकाका नगर प्रमुख केदार थापाले जानकारी गराउनुभएको थियो। यसैबिच इलाममा बाढी पहिरोले गरेको क्षति, पीडितको पुनःस्थापना, भौतिक संरचनाको पुनः निर्माण, राहत वितरण लगायतका विषयमा जिल्ला प्रशासन कार्यालयमा छलफल भएको छ।छलफलमा मन्त्री घिसिङले इलामलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो। छलफलमा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जिल्लामा भएको क्षतिको बारेमा जानकारी गराउनुभएको छ।
यसअघि मन्त्री घिसिङले इलामको रोङ गाउँपालिका र सूर्योदय नगरपालिकामा भएको क्षतिबारे जानकारी लिनुभएको थियो।
माईखोला टापुमा मात्र ३८ परिवार पूर्णरूपमा विस्थापित भएका छन्। जहाँ नेपाली सेनाको सहयोगमा अस्थाई टहरा बनाएर पीडितलाई राख्ने काम भइरहेको छ।बाढीपीडित डुक्पा विश्वकर्माले भएको घरसहित सबै सम्पति बाढीले लगेपछि सरकारले दिगो रूपमा पुनःस्थापना गर्नु पर्ने बताउनु भयो। बन्द भएको मेची राजमार्ग खुलाउने प्रयास भए पनि खनेको सडक बगेका कारण राजमार्ग खुल्ने टुङ्गो छैन।