• २५ असोज २०८२, शनिबार

वाइवाइ तेस्रो ज्योतिपुञ्ज कपको तयारी पूरा

blog

प्रतियोगिताको बारेमा जानकारी दिँदै आयोजक ।

इमान सिं राना

रामपुर (पाल्पा), असोज २५ गते । वाइवाइ तेस्रो ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिता रामपुरमा आइतबारदेखि सुरु हुँदैछ ।

रामपुर–७, किसानबारी खेलमैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक ज्योतिपुञ्ज युवा क्लबले जनाएको छ ।

आयोजकले शनिबार पत्रकार सम्मेलन गरी सम्पूर्ण तयारी सकिएको जानकारी दिएको हो । प्रतियोगितामा ए डिभिजन क्लब हिमालयन शेर्पा सहित १० क्लबको सहभागिता रहने खेल संयोजक अनिल शाहीले जानकारी दिनुभयो । 

कार्तिक ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा हिमालयन शेर्पासँगै अभिषेक चर्च रजहर नवलपुर, न्यू युथ युनियन क्लब तानसेन, सम्पूर्ण युथ क्लब रूपन्देही, भैरव स्पोर्ट क्लब नवलपरासी, सूर्यपुर फुटबल क्लब, चितवन, होराइजन क्लब वालिङ स्याङ्जा, देवदह ब्वाईज रूपन्देही र आयोजक ज्योतिपुञ्ज युवा क्लबबिच प्रतिस्पर्धा हुने छ ।

उट्घाटन खेल आइतबार दिउँसो १ बजे अभिषेक चर्च नवलपुर र न्यू युथ युनियन क्लब तानसेनबिच हुने छ । प्रतियोगितामा विजेताले ३ लाख ५० हजार र उपविजेताले २ लाख नगदसहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । 

साथै सेमिफाइनलमा पुग्ने तर फाइनलमा पुग्न नसक्ने टिमलाई २५र२५ हजार रुपियाँ प्रदान गरिने छ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १७ हजार रुपियाँ  र ट्रफी प्राप्त गर्ने छन्‌ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, इमर्जिङ प्लेयर, उत्कृष्ट कोचलाई जनही ८ हजारसहित पुरस्कृत गरिने छ ।

‘फुटबल खेल मैदान निर्माणको अभियान, रामपुरको गौरवमा तपाईंको योगदान’ भन्ने नाराको साथ सुरु भएको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष सुन्दर रानाले जानकारी दिनुभयो । 

यस अघिका प्रतियोगिता भन्दा यस पटक परिस्कृत ढङ्गबाट अघि बढाउने गरी प्रतियोगिताको तयारी भएको बताउनुभयो । क्लबका पूर्व अध्यक्ष एवं आर्थिक संयोजक सुदिप गौतमले खेल सञ्चालनका लागि ३० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको बताउनुभयो । 

रामपुरलाई फुटबलको हबको रूपमा विकास गर्नका लागि प्रतियोगिता सञ्चालन गर्दै आएको बताउनुभयो । पत्रकार सम्मेलनको अवसरमा क्लबले ट्रफी र जर्सी समेत सार्वजनिक गरेको छ । ज्योतिपुञ्ज कप कालीगण्डकी वेशी क्षेत्रकै सबैभन्दा ठुलो प्रतियोगिताको रूपमा परिचित छ ।