अबु धाबी, असोज २५ गते । युरोपका जङ्गली परागणकर्ताको अस्तित्व गम्भीर जोखिममा परेको प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घ (आइयुसिएन) ले चेतावनी दिएको छ । उक्त सङ्घले शनिबार सार्वजनिक गरेको प्रतिवेदनमा दर्जनौँ मौरी र पुतलीका प्रजातिहरू खतराको सूचीमा पुगेको बताइएको छ ।
युरोपका लगभग सबै फूल फुल्ने बोटबिरुवा जङ्गली परागणकर्ता, विशेष गरी मौरीमा निर्भर छन् । तर बास स्थानको क्षति, कीटनाशकको अत्यधिक प्रयोग र जलवायु परिवर्तनका कारण यी महत्त्वपूर्ण प्रजाति लोप हुने सङ्कटमा पुगेका हुन् । प्राकृतिक विश्वको अवस्थाबारे अहिलेसम्मको सबैभन्दा व्यापक मूल्याङ्कनका क्रममा आइयुसिएनले करिब एक सय वटा नयाँ मौरी प्रजातिलाई पनि खतरामा परेको सूचीमा समावेश गरेको छ ।
सन् २०१४ मा ७७ मौरी प्रजाति जोखिममा थिए भने हाल एक हजार ९२८ प्रजातिमध्ये कम्तीमा १७२ जङ्गली मौरी लोप हुने खतरा रहेको जनाइएको छ । “जङ्गली मौरीको सङ्ख्या तीव्ररूपमा घटिरहेको छ र तिनलाई व्यवस्थापित मौरी उपनिवेशले सजिलै प्रतिस्थापन गर्न सक्दैनन्”, युनिभर्सिटी अफ मोन्सका अनुसन्धानकर्ता डेनिस मिचेजले भन्नुभयो, “यदि जङ्गली मौरीहरू हराए भने, धेरै जङ्गली बोटबिरुवा पनि नष्ट हुनेछन्ज-समा सुन्दर फूलले भरिएका घाँसेमैदान र दुर्लभ अर्किड प्रजाति पनि समावेश छन् ।”
मूल्याङ्कनले पछिल्लो दशकमा खतरामा परेका युरोपेली पुतली प्रजातिको सङ्ख्या ७६ प्रतिशतले बढेको पनि देखाएको छ । युरोपका लागि अद्वितीय मानिएका पुतली प्रजातिको ४० प्रतिशतभन्दा बढी अहिले खतरामा परेको वा नजिक पुगेको सूचीमा छन् । पोर्चुगलको मडेइरा टापुमा मात्र पाइने मडेइरान ठुलो सेतो पुतली अब विलुप्त भएको आधिकारिकरूपमा पुष्टि गरिएको छ ।
आइयुसिएनका महानिर्देशक ग्रेथेल एगुइलरले भन्नुभयो, “मौरी र पुतली केवल सौन्दर्यका प्रतीक मात्र होइनन्, तिनीहरू हाम्रो स्वास्थ्य, खाद्य प्रणाली र अर्थतन्त्रका लागि जीवनरेखा हुन् । ती नै हाम्रो फलफूल, तरकारी र बिउको उत्पादन कायम राख्ने मुख्य आधार हुन् ।” हाल युरोपका ९० प्रतिशतसम्म फूल फुल्ने बोटबिरुवा कीट परागणमा निर्भर छन्, जसमा पाँच मध्ये चार वटा बाली र जङ्गली फूलका प्रजाति समावेश छन् ।
आवासको क्षतिले जङ्गली मौरी र पुतलीको अस्तित्वमा सबैभन्दा ठुलो खतरा पुर्याइरहेको आइयुसिएनले जनाएको छ । खेतीपाती र वन विस्तारले फूलले भरिएका घाँसेमैदान जस्ता परागणकर्ताका लागि महत्त्वपूर्ण क्षेत्र नष्ट गरिरहेका छन् । मल र कीटनाशकको अत्यधिक प्रयोगले फूलको विविधता घटाउँदै परागण गर्ने कीटहरूको जनसङ्ख्या र व्यवहार्यतामा नकारात्मक असर पारिरहेको पनि प्रतिवेदनले उल्लेख गरेको छ ।
जलवायु परिवर्तनले अहिले युरोपका आधाभन्दा बढी खतरामा परेका पुतली प्रजातिलाई असर पुर्याइरहेको छ । लामो खडेरी र बढ्दो डढेलोले तिनीहरूको बासस्थान नष्ट गरिरहेको छ, जसको पुनः स्थापना वर्षौं लाग्ने बताइएको छ । मौरीमा तापक्रम वृद्धिको असर मिश्रित देखिएको छ-चिसो वातावरणमा अनुकुलित बम्बल मौरी पीडित भइरहेका छन् ।
तातो वातावरणमा फस्टाउने बढई मौरीले तुलनात्मकरूपमा फाइदा उठाइरहेका छन् । आइयुसिएनले युरोपेली सरकार र विश्व समुदायलाई मौरी तथा परागणकर्ताको संरक्षणका लागि तत्काल ठोस कदम चाल्न आह्वान गरेको छ । रासस/एएफपी