काठमाडौँ, असोज २५ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले पुसमा आयोजना गर्ने भनिएको सहिद स्मारक ‘ए’ डिभिजन लिग एसियाली फुटबल महासङ्घ (एएफसी) को क्लब लाइसेन्सिङको मापदण्डअनुसार हुनुपर्ने माग क्लबहरूले राखेका छन् ।
शनिबार ‘ए’ डिभिजनका नौ क्बलले ललितपुरमा पत्रकार सम्मेलन गरी एन्फाले होम एन्ड अवेको आधारमा लिग गर्ने भनेर भ्रम छर्ने काम गरिरहेको पनि आरोप लगाए ।
पत्रकार सम्मेलनमा एन्फाका निवर्तमान अध्यक्ष एवं हिमालयन सेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पाले होम एन्ड अवे लिग भनिए पनि क्लबहरूले कुन–कुन मैदान पाउने भन्ने एकिन नभएको बताउनुभयो ।
‘‘एन्फाले होम एन्ड अवे लिग भन्दै अन्योल छर्ने काम गरेको छ । अबको लिग एएफसीको क्लब लाइसेन्सिङअनुसार हुनुपर्छ । क्लबहरूले लिग खेलिसकेपछि जित्ने टोलीले एएफसीको प्रतियोगिता पनि खेल्न पाउनुपर्छ । नत्र लिगको के अर्थ रह्यो र ?’’ शेर्पाले प्रश्न गर्नुभयो ।
उहाँले एन्फाले सरकारसँग क्लबहरूलाई आफ्नो होम मैदान स्थायी रूपमा उपलब्ध गराउन पहल कदमी चाल्नु पर्ने पनि बताउनुभयो । एन्फाले लिग सञ्चालनका लागि क्लबहरूलाई आइतबार छलफलका लागि बोलाएको छ ।
एन्फासँगको छलफलअघि क्लबहरूले लिगका लागि विभिन्न माग अगाडि सारेका हुन् । हाल ‘ए’ डिभिजनमा विभागीय तीनसहित १४ क्लब छन् । विभागीय क्लबबाहेक अन्यको आफ्नै मैदान छैन ।
पत्रकार सम्मेलनमा नौ क्लबलका प्रतिनिधि सहभागी थिए । एन्फाले यसअघि आगामी पुसमा लिग सञ्चालन गर्ने घोषणा गरेको थियो ।
एन्फाले पछिल्लो पटक २०७९ मा ‘ए’ डिभिजन लिग गरेको थियो । त्यसपछि लिग नहुँदा राम्रा फुटबल खेलाडी अस्ट्रेलियालगायत देशमा पलायन भएका छन् ।