• २५ असोज २०८२, शनिबार

कर घटेपछि भारतीय बजारमा उपभोक्ताको भिड

blog

सीमापारीको रक्सौल बजार । तस्बिरः कन्हैयालाल केशरी

कन्हैयालाल केशरी 

पर्सा, असोज २५ गते। भारत सरकारले आफ्नो मुलुकमा वस्तु एवम् सेवा कर (जिएसटी) मा ठुलो परिवर्तन गरेपछि वीरगञ्जको स्थानीय बजारमा प्रत्यक्ष प्रभाव पारेको छ । भारत सरकारले दैनिक उपभोग्य सामग्री तथा खाद्यान्नमा लगाउँदै आएको वस्तु एवम् सेवा कर १२ प्रतिशतबाट झारेर ५ प्रतिशतमा सीमित गरेपछि वीरगन्जका उपभोक्ताहरू सीमापारीको रक्सौल बजार जान थालेपछि वीरगन्ज बजार सुनसान भएको स्थानीय व्यवसायीहरूको भनाइ छ।

भारतीय बजारमा चामल, दाल, चिनी, खाने तेल, कफी आइसक्रिम, घिउ दुधबाट बनेको सामग्री भुजिया नमकिन, पापड लगायतका समानको मुल्यमा ठुलो गिरावट आएपछि वीरगन्जका स्थानीय सीमापारी जान थालेका हुन् । 

यस्तै, कस्मेटिक गुड्स विलासिताका समान कपडा तयारी कपडा पेट्रोल, डिजेल, एलपीजी ग्यास लगायतका सामानमा लगाउँदै आएको २८ प्रतिशतलाई १८ प्रतिशत कायम गरेको बताइएको छ । वीरगन्ज उद्योग वाणिज्य सङ्घ वीरगन्जका वरिष्ठ उपाध्यक्ष माधव राजपालले अर्थ मन्त्रालयले भन्सार महसुल दरमा परिवर्तन नगर्ने हो भने तस्करीले प्रोत्साहन पाउने तथा यसको असर मुलुकको अन्य ठाउँमा हेर्न सकिने बताउनुभयो।

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले भारत सरकारले आफ्नो मुलुकमा लगाएको वस्तु एवम् सेवा करको प्रभाव आयातमा कतिको परेको छ भने प्रशासनमा प्रमुख ज्ञवालीले यस विषयमा अर्थ मन्त्रालयले अध्ययन गरिरहेको बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकले भारतले आफ्नो मुलुकमा लगाएको वस्तु एवम् सेवा करले सीमाक्षेत्रमा तस्करीले प्रोत्साहन पाउने सम्भावना बढेकाले सशस्त्र प्रहरीसँग समन्वय गरी सीमा नाकामा थप कडाइ गरेको बताउनुभयो।