• १२ असोज २०८२, आइतबार

अस्पतालको शय्याबाट लिजाको आह्वान : ‘छ महिनामा परिवर्तन सम्भव’

blog

ट्रमा सेन्टरमा उपचाररत लिजा अधिकारी ।

  • जेनजी आन्दोलनको पीडादायी कथा : गोलीको घाउसँगै न्यायको अपेक्षा

नारायण न्यौपाने/रासस

काठमाडौँ, असोज १२  गते । २०८२ भदौ २३ गते बिहान माइतीघरमा आफ्नै उमेर समूहका युवाले भ्रष्टाचारविरुद्ध आन्दोलन छेडेपछि २० वर्षे लिजा अधिकारीलाई ललितपुर बालकुमारीको डेराभित्रै बसिरहन मनले मानेन । 

सामाजिक सञ्जालमा युवा जम्मा हुँदै गरेको भिडियो हेर्दा उहाँको मनमा आन्दोलनमा जान उकुसमुकुस भइसकेको थियो । आमालाई अफिसको काम देखाएर उहाँ आन्दोलनमा मिसिइनुभयो । 

आन्दोलन सुरु भएको केही समयमै नयाँबानेश्वरमा जब भीडमाथि आक्रमण भयो, त्यसको सिकार लिजा पनि बन्नुभयो । भ्रष्टाचारविरुद्धको आन्दोलनमा आवाज बुलन्द गरिरहँदा लिजालाई पछाडिबाट प्रहार गरिएको गोलीले बाँया कुम छेड्यो ।

“हामी भ्रष्टाचारविरुद्धको आवाज बुलन्द गर्दै थियौँ, जेनजीका माग सरकारलाई सुनाउन चाहन्थ्यौँ, हाम्रो शान्तिपूर्ण जुलुसमा आक्रमण भएपछि भीड आक्रोशित भयो”, ट्रमा सेन्टरमा  उपचाररत लिजाले भन्नुभयो,  “हामीले माइकबाट प्रदर्शनकारीलाई बारम्बार ढुङ्गामुढा नगर्न र प्रहरीलाई गोली नहान्न आग्रह गरिरह्यौँ, तर कसैले सुनेनन् ।”

लिजाका शब्दमा जब जेनजी युवाको आन्दोलन माइतीघरबाट नयाँबानेश्वरस्थित संसद् भवनतर्फ अघि बढ्यो, जुलुस शान्तिपूर्ण थियो । ती युवासँग न कुनै हतियार थियो, न त विशेष माग नै । उनीहरु भ्रष्टाचारविरुद्धको आफ्नो आवाजलाई सरकारलाई सुनाउन मात्रै चाहन्थे । तर जब उनीहरुको आवाजलाई दबाउन प्रहरीले हस्तक्षेप सुरु गर्‍यो, तब भीड आक्रोशित भयो, तितरवितर भयो ।

“हामी नयाँ बानेश्वर पुग्दासम्म आन्दोलन शान्तिपूर्ण थियो, तर जब मेरो आँखै अगाडि एक जनाको टाउकोमा गम्भीर चोट लाग्यो र एक जना दाइको हातमा गोली लाग्यो, त्यसले हामीलाई आक्रोशित बनायो”, लिजाले घटना सम्झँदै भन्नुभयो, “मलगायतले त्यो दाइलाई निजामती अस्पताल पठायौँ, यत्तिकैमा प्रहरीबाट अश्रुग्यास प्रहार भयो, भीड तितरवितर भयो ।” 

लिजाले डेराबाट निस्कनुअघि आमालाई म पनि आन्दोलनमा जान्छु है भन्नु भएको थियो तर आमाले आन्दोलनमा जानु पर्दैन भनेपछि अफिस जाने बाहना बनाएको कुरा खुल्यो । 

 “आमालाई म आन्दोलनमा मिसिएको थाहा थिएन, जब आन्दोलनमा प्लास्टिकको गोली चल्यो भन्ने सुन्नु भएछ उहाँले फोन गरेर छिटो घर फर्कन भन्नुभयो, आमालाई म ठीक छु छिट्टै आउँछु भन्दै फोन राख्नेबित्तिकै मलाई गोली लाग्यो”, उहाँले भन्नुभयो ।

लिजालाई मेटलको गोली लाग्नुअघि नयाँ बानेश्वरमा केही राउण्ड हवाई फायर भइसकेको थियो । जब भीड तोडफोडमा उत्रियो, तब प्रहरीले ताकेरै गोली हान्न थाल्यो । सुरुमा प्लाष्टिकको गोली प्रहार भएको भन्ने सुनिए पनि त्यो देखिएन । लिजालाई गोली लाग्नुअघि दुई जना आन्दोलनकारीको मृत्यु भइसकेको थियो ।

“हाम्रो उद्देश्य तोडफोड र ढुङ्गामुढा गर्ने थिएन, त्यसैले अडिग भई शान्तिपूर्ण रुपमा धर्नामा बसौँ भन्दै आह्वान गरिरहेका थियौँ, हामीलाई त गोली चल्छ भन्ने अनुमान गर्नै सकेनौँ”, उहाँको भनाइ छ । 

लिजालाई गोली लाग्दा, आसपासका मानिसहरु तितरवितर भइसकेका थिए । दायाँ हातले आफूलाई सम्हाल्दै उहाँ रक्ताम्य शरीर लिएर संसद् भवनको अगाडि निकैबेर उभिइरहनु भयो । केही समयपछि एक जनाले आएर झण्डाले हात बाँधिदिए । “दाइले साथ दिएपछि आत्मबल बढ्यो, अर्को दाइले बाइकमा एभरेष्ट अस्पताल पुराइदिनुभयो”, उहाँले घटनाक्रम सुनाउनु भयो । 

एभरेष्ट अस्पतालमा ब्याण्डेज गरेपछि चिकित्सकले गोली लागेकाले शल्यक्रिया गर्नुपर्छ भन्दै ट्रमा अस्पताल ‘रेफर’ गरिदिए । त्यसपछि उहाँ एम्बुलेन्समा ट्रमा सेन्टर आइपुग्नु भयो । 

लिजा अस्पताल आइपुग्दा आन्दोलनमा घाइते भएकाहरुले अस्पतालको भूँइसमेत भरिएको थियो । अस्पतालमा आउनासाथ घाउमा गज खादेर ब्याण्डेज गरियो । त्यतिका धेरै घाइते हुँदा पनि अस्पतालले उपचारमा राम्रो व्यवस्थापन गरेको थियो । 

“अस्पतालका स्वास्थ्यकर्मीहरु जसरी त्यो दिन घाइतेहरुको उपचारमा खटिनुभयो, म त्यसका लागि हृदयदेखि धन्यवाद दिन चाहन्छु”, उहाँले भन्नुभयो “त्यो गर्न उहाँहरुका लागि चुनौतीपूर्ण अवस्था थियो, त्यो दिन राति नै मेरो शल्यक्रिया भयो ।” आन्दोलनका घाइतेहरुलाई अस्पतालले खाजा, खाना र औषधिको व्यवस्था गरेको छ । 

त्यसदिन अस्पतालमा १८१ जना घाइतेलाई ल्याइएको थियो । घाइतेका लागि सुताउने शय्या थिएन । भुइँमै म्याटमाथि उपचार गर्नुपर्ने अवस्था थियो । भीड यति धेरै थियो कि, घाइतेहरु सुतिरहेकै ठाउँबाट मृतकको शरीर उचालेर लैजानुपर्ने अवस्था थियो ।

“म सुतिरहेको ठाउँमाथिबाट जब आन्दोलनकारीको शव लगियो, मलाई लाग्यो कि, मेरो पालो पनि यसरी नै त आउने होइन, “जब गोली लागेको घाउ बेस्सरी दुख्थ्यो, तब बाँचिन्छ कि मरिन्छ भन्ने होस् नै नहुँदो रहेछ ।” लिजाका अनुसार उहाँको शरीरमा अझ ठूलो शल्यक्रिया भने गर्न बाँकी नै छ । कुमको हड्डी गोलीले पूरै टुक्राएको छ, चिकित्सकले तारले बाँधिदिएका छन् ।   

लिजालाई अहिले पनि ‘मुभमेन्ट’ गर्न सकस हुन्छ । अलिकति यताउता चलाउँदा पनि शरीर सहनै नसक्ने गरी दुख्छ । चिकित्सकले पहिले गरेको शल्यक्रिया निको भएपछि दोस्रो गर्नुपर्छ भनेका छन् । अहिले उहाँले शरीरको दुखाइ कम गर्न पेनकिलरको सहायता लिनु परेको छ । 

लिजाको अस्पताल बसाइ अझै कति लम्बिने हो भन्ने टुङ्गो छैन । तर उहाँ सम्मिलित आन्दोलनले ल्याएको परिवर्तन र माग पूरा हुनुपर्छ भन्नेमा लिजा दृढ हुनुहुन्छ । “हामीलाई सडकमा आउन बाध्य बनाएको चरम भ्रष्टाचार, बेथिती र अपारदर्शीताले हो, हामीले आन्दोलनमार्फत उठाएका माग नयाँ सरकारले पूरा गर्छ भन्नेमा विश्वास छ”, उहाँले भन्नुभयो । 

“निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कारबाही गरी मुलुकलाई सुशासनको दिशामा अघि नबढाएसम्म हामीले सडकमा दिएको बलिदानले न्याय पाउँदैन ।” उहाँको भनाइ छ ।

अस्पतालको शय्याबाटै नवगठित सरकारलाई आन्दोलनका दोषीमाथि कारबाही गर्न दबाब दिँदै आएका छन् । लिजालगायतका घाइतेलाई भेट्न प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरु, जेनजी आन्दोलनका प्रतिनिधिहरु आइरहनुहुन्छ ।

“हामीले अस्पतालको शय्याबाटै उहाँहरुको जिम्मेवारीलाई स्मरण गराइरहेका छौँ, छ महिनाको सरकार भए पनि केही सकारात्मक कामको सुरुआतका लागि यो पर्याप्त समय पनि हो भन्दै आएका छौँ, हाम्रो आशा र विश्वासलाई उहाँहरुले मर्न दिनुहुन्न भन्नेमा विश्वास छ”, लिजाले थप्नु भयो । 

लिजा जेनजीका क्षमतावान् र सक्षम व्यक्तिलाई सरकारमा लैजानुपर्छ भन्नु हुन्छ । भ्रष्टाचारसँग जोडिएका र पहिलेदेखि नै चर्चामा रहेका मुद्दाका फाइल खोलेर अनुसन्धानको थालनी हुनुपर्छ भन्ने उहाँको माग छ । लिजाका शब्दमा देशमा ‘गुड लिडर’ भए ‘गुड फ्युचर’ भन्ने पनि थाहा छ ।

मोरङ रतुवामाई स्थायी घरभएकी लिजा बालकुमारीमा आमा र भाइसँग बस्दै आएको छ । जेठो सन्तानका रुपमा लिजामाथि पढ्दै कमाउँदै गर्ने जिम्मेवारी पनि छ । भाइलाई राम्रो कलेजमा उच्च शिक्षा दिलाउने सपना छ । केही समयअघि ओपन हार्ट सर्जरी गरेकी आमाको हेरचाह पनि उहाँकै जिम्मेवारीमा छ ।

कुसुम कलेजमा बिबिए सातौँ समेस्टरमा अध्ययनरत लिजा आन्दोलन हुने दिनभन्दा चार दिनअघि मात्रै जेनजी समूहमा जोडिएको थियो ।