• १२ असोज २०८२, आइतबार

अध्यक्ष ओलीको राहादानी रोक्काप्रति एमालेको आपत्ति, असोज अन्तिम साता केन्द्रीय कमिटीको बैठक

blog

गुन्डुमा बसेको एमाले सचिवालय बैठक ।

भक्तपुर, असोज १२ गते ।  नेकपा (एमाले)ले विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्नका लागि असोज २७ र २८ गते पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएको छ । 

केन्द्रीय सचिवालयको आइतबार गुण्डुमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । उपमहासचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार केन्द्रीय कमिटीका एजेण्डा तय गर्न असोज १९ र २० गते सचिवालयको बैठक डाकेको छ ।

‘सम्भवत हामी चाँडै राष्ट्रिय महाधिवेशन गर्दैछौं । केन्द्रीय कमिटीले यस विषयमा निर्णय लिन सक्छ’, ज्ञवालीले भन्नुभयो । ज्ञवालीका अनुसार जेनजी आन्दोलनका क्रममा निधन भएकाप्रति श्रद्धान्जली र घाइतेको स्वास्थ्य लाभको कामना गरेको छ । यसैगरी आन्दोलनका दोषी र तोडफोड र आगजनीमा संलग्नलाई कार्यबाहीको दायरामा ल्याउन पनि बैठकले माग गरेको छ । 

 ज्ञवालीका अनुसार भदौ २३ र २४ गतेका घटनाको जाँचबुझ गर्न गठित आयोगले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राहादानी रोक्का गरेको समाचारप्रति गम्भीर ध्यानआकर्षण भएको बताउनु भएको छ । 

‘सरकारले राजनीतिक दलहरुलाई पन्छाउन खोजेको मात्र नभइ निषेध गरेको, दलहरुलाई सम्पर्क, संवाद आदि गर्न नचाहेको देखिएको छ ज्ञवालीले भन्नुभयो, ‘यी सबै घटनाप्रति हामी गम्भीर र चिन्तित छौं ।’