• ११ असोज २०८२, शनिबार

निष्पक्ष निर्वाचनका लागि सहयोग हुन्छ : महामन्त्री शर्मा

blog

शनिबार कांग्रेस मकवानपुर आयोजित पत्रकार भेटघाटमा समसामयिक राजनीतिका बारेमा कांग्रेसको धारणा राख्नुहुँदै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा । तस्बिरः राममणि दाहाल

राममणि दाहाल

मकवानपुर, असोज ११ गते। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्न कांग्रेसले साथ सहयोग गरेर जानुपर्ने बताउनुभएको छ। 

उहाँले कांग्रेसभित्र रुपान्तरण गरेर अगाडि बढ्ने बताउँदै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई सफल बनाउन सरकारलाई साथ समर्थन रहने बताउनुभएको छ।

गत भदौ २३ र २४ गते जेनजीको प्रदर्शनीका क्रममा निजी र सार्वजनिक सम्पत्तिको आगजनी र तोडफोडबाट पुगेको क्षतिको निरीक्षण र कांग्रेस कार्यकर्तासँगको संवादको क्रममा शनिबार हेटौँडामा सञ्चारकर्मीसँगको  कुराकानीमा महामन्त्री शर्माले घाइते अवस्थामा पुगेको संविधानलाई ट्रयाकमा ल्याउन निर्वाचनमा सहभागिता आवश्यक भएको बताउनुभयो। 

भदौ २३ गतेको घटनाको छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने महामन्त्री शर्माको भनाइ छ।  उहाँले जेनजीको नाममा अरु जो छिरे तिनलाई सर्लक्क पहिचना गरेर कारबाही गर्नु सरकारको दायित्त्व हुन्छ भन्दै सार्वजनिक र निजी संरचना तोडफोड गर्नेलाई कारबाही गरियोस् भनेर जेनजी पुस्ताले नै बोल्नु पर्ने बताउनुभयो। 

कांग्रेस महामन्त्री शर्मा जेनजीको प्रदर्शनीका क्रममा कोशी र मधेश प्रदेशका विभिन्न जिल्लामा सार्वजनिक र निजी सम्पत्तिमा भएको क्षतिको निरीक्षणका क्रममा शनिबार हेटौँडामा कांग्रेस मकवानपुरको पार्टी कार्यालय, कांग्रेसको बागमती प्रदेश कार्यालय, बागमती प्रदेश सभा भवन, हेटौँडा उपमहानगरपालिका कार्यालयको निरीक्षणसँगै वर्तमान अवस्थाका बारेमा कांग्रेसका कार्यकार्तासँग छलफल गर्नुभएको थियो। 

सो अवसरमा कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले प्रदर्शनीका क्रममा भएको क्षति र पछिल्लो अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो।