• ११ असोज २०८२, शनिबार

चाडपर्वमा फूल बिक्री धमाधम

blog

धनगढी उपमहानगरपालिका परिसरमा रहेको फूल बिक्री केन्द्र । तस्बिरः अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, असोज ११ गते । दसैँ, तिहारजस्ता चाडपर्वको लागि धनगढीमा धनगढीकै किसानका फूल बिक्रीको काम धमाधम भइरहेको छ ।  यहाँ फूलखेती गर्दैआएका किसानको फूल धनगढी उपमहानगरपालिका परिसरमा रहेको फूल बिक्री केन्द्रबाट बिक्री गर्न थालिएको हो ।

धनगढीमा प्लाष्टिकजन्य फूल, माला बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ । प्लाष्टिकजन्य माला बिक्रीमा रोक लगाइएपछि धनगढीमा १७ जना कृषकले तालिम लिएर व्यावसायिक फूल खेतीको काम गर्दैआएका छन् । 

किसानले उत्पादन गरेको फूल पालैपालो बिक्री केन्द्रमा बिक्रीका लागि ल्याइने गरेको फूल बिक्री केन्द्रका सञ्चालक पुष्कर विष्टको भनाइ छ । उहाँले प्रतिकेजी ३५० रुपियाँमा सयपत्री फूल बिक्री भइरहेको जानकारी दिनुभयो । यसैगरी, माला ८० रुपियाँमा बिक्री भइरहेको जनाइएको छ । 

धनगढी उपमहानगरपालिकाले २०७९ बाट धनगढीमा प्लाष्टिकको फूल र माला बिक्री वितरणमा रोक लगाएपछि फूल खेती गर्न चाहेका किसानलाई तालिम पनि दिएको थियो । पहिले फूल उत्पादन त्यसपछि सजावटसम्बन्धी तालिम लिएर किसानले पुष्प खेतीको काम गर्दैआएका छन् । 

केन्द्र सञ्चालक विष्टले वितरण केन्द्रमा कोल्ड च्याम्बर रहेका कारण अन्य समयका लागि पनि फूल, माला सुरक्षित राख्ने गरेको जानकारी दिनुभयो । उहाँले चाडपर्वमा मात्र नभइ फूल, माला, बुकी अन्य समयमा पनि बिक्री हुने गरेको बताउनुभयो ।