टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), असोज ११ गते । दशैमा स्वदेशकै सहर तथा परदेशबाट गाउँ आउनेहरुको दैनिक भिड बढिरहेको छ । गुल्मेली नागरिकको यात्रा सहजताका लागि करिव चारसय सार्वजनिक सवारी साधन सञ्चालन भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका अनुसार सबैभन्दा धेरै गुल्मी यातायात प्रालिका ३५० सवारी साधन छन् । तीमध्ये २८० अहिले रुटमा सञ्चालन भइरहेका छन् । अरु बेलाभन्दा बुटवलका लागि मात्र १५ सवारी साधन थपेर ६९ वटा सञ्चालन गरेको गुल्मी यातयात प्रालिले जनाएको छ ।
त्यस्तै, रुरु–रेसुङ्गा यातयात प्रालिको ३१, मैत्री यातयात प्रालिको २३, पश्चिम नेपाल यातयात प्रालिको २४, रेसुङ्गा यातायात प्रालिको आठ र आँगन यातायात प्रालिको १९ सवारीसाधन रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरीक्षक ज्ञानबहादुर कुँवरले जानकारी दिनुभयो ।
वुटवलबाट लगभग गुल्मीको गाउँसम्म नै गाडीहरु पुग्ने गरेका छन् । तर, काठमाडौंबाट पर्याप्त बस छैनन् । साना गाडीहरु लामो समयदेखि रिजर्ब हुने भए पनि यात्रुहरुलाई सास्ती भइरहेको छ । मालिका गाउँपालिका –७ का सुवासजङ्ग थापाले सार्वजनिक सवारी साधन र जहाजको टिकट समेत सर्वसाधरणको पहुँच बाहिर रहेकाले काठमाडौंबाट गुल्मीको यात्रा अनिश्चित बनिरहेको गुनासो गर्नुभयो ।
मुग्लिङको पहिरोका कारण लामो समय दशैंमा यात्रा गरेकाहरुले समस्या भोगे । ठुला गाडीहरु जाममा परेका कारण साना गाडीहरुले रिजर्बको नाममा मनपरी भाडा असुल्न थालेको यात्रुहरुले गुनासो गरेका छन् ।
जिल्लाका १२ भन्दा बढी गाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । सहरदेखि गाउँसम्मको यात्रा सुरक्षित बनाउन जिल्लाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय गुल्मीको समन्वयमा पर्व केन्द्रित यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
दशैमा घर फर्किने यात्रुहरुको चाप बढिसकेकाले जिल्लाको मुख्य प्रवेशद्वार रिडी, देउराली, तम्घास बसपार्क, उदिनढुङा, पुर्कोट, शान्तिपुर र वामी बजारमा सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीको प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद कोइराला सुरक्षित यात्राका लागि चालक, सहचालक, व्यावसायी र यात्रु सचेत बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले बर्सातसँगै चाडपर्वनजिक आएकाले सम्बन्धित कार्यालय र स्थानीय तहलाई सडक मर्मतको लागि आग्रह गरिएको बताउनुभयो ।
सहायता कक्षमा यात्रु हरुको समस्याहरु समाधन गर्न नेपाल प्रहरी र ट्राफिक प्रहरी, स्वास्थ्य सामग्री र खानेपानीको समेत व्यवस्था गरिएको छ । सहायता कक्षबाट यात्रुहरुका समस्याहरुको बारेमा समाधान गरिने व्यवस्था रहेको प्रहरीले जनाएको छ । चाडपर्वको बेला यात्रुहरुले गाडी नपाउने, सवारीधनीले दोब्बर भाडा असुल्ने, क्षमताभन्दा बढी यात्रु राख्ने लगायतका समस्या झेल्दै आएका छन् ।
यी समस्या समाधानका लागि समग्रमा प्रहरी, यातायात व्यावसायी र यात्रु सहायता कक्षबाट काम हुने प्रहरी नायव उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो । व्यवसायीहरुले आफ्नो तर्फबाट यात्रुको गन्तव्यलाई सुरक्षित बनाउने कोशिस गरिरहेका छन् ।
गुल्मी यातायात प्रालिका सञ्चालक हिमाल कुँवरले यातायात व्यवसायीहरुको तिव्र प्रतिस्पर्धा, प्राइभेट गाडीहरुको मनपरी र सडक मर्मतको बिषयलाई जिल्ला प्रशासन कार्यालय र प्रहरीले चासोका साथ हेर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आफूहरुले यात्रुहरुको सुरक्षित यात्राकै लागि रुटहरुमा गाडी थप्ने, चालकहरुलाई निर्देशन गर्ने लगायतका काम गरिरहेको बताउनुभयो ।