• १६ भदौ २०८१, आइतबार

राजु विदेसिँदा चिन्तित छन् भलिबलप्रेमी

blog

भलिबल खेलाडी राजु विक । तस्बिर : रासस

बागलुङ, असार १४ गते । अब सायदै भलिबल कोर्टमा देखिनुहेनेछ, राजु विक। देशका लागि प्रतियोगिता खेल्न नपाए पनि भलिबलप्रेमीले भने उहाँलाई पछिसम्म सम्झनेछन् । क्विक स्पाइकर विक उत्कृष्ट खेल्दाखेल्दै भलिबलबाट हात धुन विवश बन्नुभएको छ ।

गलकोट नगरपालिका–५ हरिचौरका विकका लागि गत जेठ दोस्रो साता ‘पर्वत कृषि तथा पर्यटन महोत्सव’मा आयोजित भलिबल प्रतियोगिता नै अन्तिम बन्न पुग्यो ।भलिबल करियरलाई बीचमै त्यागेर उहाँ यसै साता युरोपेली देश क्रोएसिया पुग्नुभएको छ । खेलमा भविष्य असुरक्षित देखेपछि २५ वर्षीय विकले बैदेशिक रोजगारीका लागि देश छाड्नुभएको हो । भलिबलमा चम्किनुभएका विकको बहिर्गमनलाई लिएर खेलप्रेमी भने चिन्तित छन् ।

उनीहरूले उदाउँदो खेल प्रतिभालाई राज्यले चिन्न नसकेको टिप्पणी गरेका छन् । विक तिनै खेलाडी हुनुहुन्छ जसले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका तर्फबाट बिच भलिबल खेल्नुभएको थियो । उहाँले गण्डकी प्रदेशस्तरीय भलिबल टिमबाट पनि प्रतियोगिताहरु खेल्नुभयो। पछिल्लो दुई वर्षयता विक गलकोट भलिबल टिमका कप्तान हुनुहुन्थो । उक्त टिमका प्रशिक्षक सुरेन्द्र केसीले विक टिममा नहुनुलाई मौरीको बथानमा ‘रानी मौरी’ नभएको झैँ रुपमा लिनुभएको छ ।

“हामी त रानी मौरी नभएको मौरी झैँ भएका छौँ, राजु नहुँदा टिमलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्ने चुनौती हाम्रासामु छ,” केसीले भन्नुभयो, “क्विक स्पाइकमा त उनी देशमै चिनिएका थिए, उत्कृष्ट खेलाडी हुँदाहुँदै पनि देशमा टिकाउन सकिएन, खेलेर मात्रै नपुग्ने भएपछि विदेसिन बाध्य हुनुपर्‍यो ।”

प्रशिक्षक केसीले आफूले सधैँ राजुलाई फुर्तिलो, आँटिलो र अनुशासित खेलाडीका रुपमा पाएको बताउनुहुन्छ । विकको कप्तानीमा उक्त टिमले लगातार दुई वर्षसम्म स्याङ्जाको पुतलीबजारमा भएको पाँच लाख रुपयाँ राशिको ‘पुतलीबजार कप अन्तरपालिका कप भलिबल प्रतियोगिता’को उपाधि चुमेको थियो ।

गत चैतमा ताप्लेजुङको पाथीभरामा आयोजित पालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि चुम्दा पनि गलकोट टिमको कप्तानी विकले नै गर्नुभएको थियो । उक्त प्रतियोगितामा गलकोट भलिबल टिमले  पाँच लाख ५५ हजार ५५५ रुपियाँ पुरस्कार हात पारेको थियो । त्यसअघि सङ्खुवासभाको सभापोखरी पालिका कप र मोरङको उर्लाबारीमा भएको प्रथम संसारीमाई जल्पादेवी कप भलिबल प्रतियोगिताको उपाधि गलकोटले जित्दा पनि टिमको कप्तानी विकले नै सम्हाल्नु भएको थियो । 

“राजुको कप्तानीमा गलकोट भलिबल टिमले जिल्लादेखि क्षेत्र र राष्ट्रियस्तरका प्रतियोगिता खेलेको छ,” प्रशिक्षक केसीले भन्नुभयो, “उत्कृष्ट खेल कौशल र टिमको सफल कप्तानीका कारण उनी हामी र टिममा नयाँ आउने खेलाडीका लागि पनि सँधै सम्मानयोग्य रहनेछन् । विकको अभाव टिमका सदस्यलाई मात्र खड्किने छैन, उनका प्रशंसक र आम भलिबलप्रेमीका लागि पनि उनी कोर्टमा नहुनु अफसोचको विषय हुनेछ । ”

विक विदेश उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ भएको टिकटक भिडियोमा पनि थुप्रैले भावुक टिप्पणी गरेका छन् । ‘भलिबल लाइफ’ फेसबुक पेजले स्टेटससहित भिडियो शेयर गरेको छ । फेसबुक प्रयोगकर्ता पूर्ण बिसीले ‘राष्ट्रको एउटा खेलाडी परिवारको रोजीरोटीका लागि विदेसिनुपर्ने बाध्यता हाम्रो देशमा छ, ‘‘देशलाई केही दिने प्रयास गर्नु सफलताको कामना’’ लुख्नुभएको छ । 

गोपाल केसीले लेख्नुभएको छ,‘‘नेपालीको पीडा यही नै छ, मन सानो नबनाउनु जहाँ रहे पनि भलिबल खेललाई माया गरिरहनु, जय भलिबल, जय राजु विक ।’’ उक्त भिडियो पोष्टलाई ५३ हजार जनाले हेरेका छन् भने झन्डै तीन सय जनाले टिप्पणी र ७५ जनाले शेयर गरेका छन् । विकले आफ्नो र परिवारको भविष्य हेरेर विदेसिनु परेको बताउनुभयो । 

“जोसजाँगर हुन्जेल भलिबलमा लागियो, अब परिवारका लागि पनि सोच्नुपर्‍यो,” उहाँले भन्नुभयो, “सधैँ खेलेर पनि नहुने, अरु पेसा, व्यवसायमा लाग्न पनि नसकिने अवस्था भएपछि मैले विदेसिनुको विकल्प देखिनँ,” विक विवाहितसमेत हुनुहुन्छ । 

उहाँले १६ वर्षको उमेरदेखि व्यावसायिक रुपमा भलिबल खेल्न सुरु गर्नुभएको थियो ।  जिल्ला भलिबल सङ्घका सल्लाहकार एवं पूर्वखेलाडी याम श्रीसले विकलाई नेपाली भलिबलको उदाउँदो र प्रतिभावान् खेलाडीका रुपमा स्मरण गर्नुभयो । “उनी न्यून आय भएको परिवारमा जन्मेका हुन्, बिहेवारी भएपछि घरको आर्थिक दायित्व पनि थपियो त्यसपछि विदेश जान बाध्य हुनुपर्‍यो,” श्रीसले भन्नुभयो, “क्रिकेट, फुटबलमा जस्तो भलिबलमा खेलाडीको व्यावसायिक सुरक्षा पनि छैन ।” उहाँले भलिबलमा करियर बनाएका धेरै नेपाली खेलाडीहरू विदेश पलायन भएको पनि बताउनुभयो । 

“कतिपय खेलाडी त इच्छा र रोजाइ भएर नै विदेश छिर्छन्, कोहीको भने बाध्यता हुन्छ”, श्रीसले भन्नुभयो, “लामो समर्पण र त्यागसहित भलिबलमै जीवन फालेका खेलाडीहरू पनि नेपालमा छन् ।” संघका अध्यक्ष योगेश भण्डारीले राज्यले मात्रै सबै खेलाडीको व्यावसायिक सुरक्षाको सुनिश्चितता गर्न नसक्ने हुँदा कर्पोरेट क्षेत्रले पनि लगानी बढाउनुपर्ने धारणा राख्नुभयो । “विभागीय टिममा पर्न सके खेलाडीलाई राम्रै छ, नत्र केही समय खेलेर बीचमै छोड्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो,“राज्यका निकायले पनि खेलाडी संरक्षणको नीति र योजना ल्याउन सकेका छैनन् ।”