• १३ असोज २०८१, आइतबार

शोधनान्तर घाटाको स्थिति आउनुमा ओली सरकार जिम्मेवार : अध्यक्ष प्रचण्ड

blog

फाइल तस्बिर ।

गोरखापत्र अनलाइन

काठमाडौं, असार १३ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिले शोधनान्तर घाटाको स्थिति आउनुमा केपी ओली नेतृत्वको पूर्ववर्ती सरकार जिम्मेवार रहेको बताउनुभएको छ । 

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानद्वारा सोमबार आयोजित ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा बोल्दैहुँदै अध्यक्ष दाहालले वर्तमान शोधनान्तर घाटाको स्थितिको जिम्मेवार केपी ओली नेतृत्वको सरकार र तत्कालीन अर्थमन्त्री युवराज खतिवडा भएको बताउनुभएको हो । उहाँले नेकपा (एमाले) का महासचिव शंकर पोखरेलतर्फ लक्षित गर्दै आफू वामपन्थी तथा कम्युनिष्ट एकताको पहलकर्ता रहेको उल्लेख गर्नुभयो । 

उहाँले देशमा भएको राजनीतिक परिवर्तनलाई मन नपराउनेहरुले परिवर्तन अनुरुपको ऐन, कानून निर्माण गर्न नचाहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो – “हाम्रो अगाडी उहाँले जो शोधनान्तर घाटाको कुरा गर्नुभयो । त्यो शोधनान्तर घाटाको आज जो स्थिति छ, त्यसको प्रणेता, त्यसको जन्मदाता केपी ओली नेतृत्वको सरकार र युवराज खतिवडा हो । समाजवादको कुरा गर्ने, समाजवादतिर जाने कुरा गर्ने हामीले गरेको होइन ?”

अध्यक्ष दाहालले विगतमा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता नेता झलनाथ खनालको नेतृत्वमा एमसीसीको बारेमा अध्ययन गर्न आयोग बनाउने प्रस्ताव आफूले राखेको हेक्का राख्न समेत आग्रह गर्नुभयो । उहाँले एमसीसीलाई व्याख्यात्मक घोषणामार्फत पारित गरेको उल्लेख गर्दै एसपीपीलाई खारेज गराउन आफुहरुले नेतृत्वदायी भूमिका खेलेको पनि बताउनुभयो ।

“झलनाथजीलाई म के सम्झाउन चाहान्छु भने एमसीसी बारे दस्तावेजिकरण गर्ने, पहिलो दस्तावेज मैले लेखेको हो । एमसीसीबारे अध्ययन गर्नुस् भनेर झलनाथजीको नेतृत्वमा आयोग बनाउने प्रस्ताव पनि मैले नै राखेको हो । झलनाथजीलाई यो हेक्का होला, यो हेक्का रहोस्,”अध्यक्ष दाहालले भन्नुभयो । उहाँले कम्युनिष्टहरु हरेक विषयको वैज्ञानिक ढंगले विश्लेषण, संश्लेषण गर्न सक्षम हुनुपर्नेमा जोड दिनुभयो ।