• २२ भदौ २०८२, आइतबार

प्रशासनतन्त्रमा ‘ज्युन–झी’

blog

जुनबेला प्राचीन पश्चिमेली दार्शनिकहरूले शासन सञ्चालन गर्ने जिम्मा बोकेकासँग सदाचार, नैतिकवान्, असल व्यवहारयुक्त र जनउत्तरदायी हुनुपर्ने कुरामा जोड दिँदै प्राज्ञिक र व्यावहारिक शिक्षा दिइरहेका थिए, त्योभन्दा सय वर्षअघिदेखि नै पूर्वीय दार्शनिक, आध्यात्मिक चिन्तक र समाज सुधारकले असल शासनका लागि राजा र कर्मचारीमा के कस्तो व्यक्तिगत गुण हुनु पर्छ, शासन सञ्चालनका आधार के के हुन् र शासक र कर्मचारीतन्त्रबिचको अन्तरसम्बन्ध कस्तो हुनु पर्छ भन्ने सम्बन्धमा धेरै प्रकाश पारिसकेका थिए । पूर्वीय एवं पश्चिमी दर्शन, इतिहास, सभ्यता, संस्कृति र शासकीय शैलीलाई विश्लेषणात्मक रूपमा अध्ययन गर्ने हो भने यी यावत् क्षेत्रमा चीन, भारत र नेपाल अगाडि छन् । 

चीनका कन्फुसियस (५५१–४७९ इसापूर्व), भारतका चाणक्य (कौटिल्य) (३७५–२८३ इसापूर्व), नेपालका गौतम बुद्ध र राजा जनक (आठौँ–सातौँ शताब्दी इसापूर्व) हरू एसियाका यस्ता नक्षत्र हुन्, जसले राजा, मन्त्री, भारदारको राजनीतिक अभीष्ट र असल शासन स्थापनाका लागि राजा र नागरिकबिचको सम्बन्धबारे विस्तृत विवेचनासहित राज्य सञ्चालनका आवश्यक आधारबारे विचार प्रस्तुत गरेका छन् । यी विचार आजको समयसम्म उत्तिकै सान्दर्भिक छन्, जति प्राचीनकालमा थिए । तथापि पूर्वेली दार्शनिकले प्रशासन सञ्चालनबारे लेखेका विषयलाई आधुनिक प्रशासनभित्र  स्पष्ट रूपमा समावेश गरिएन । 

अर्कोतिर पश्चिमेली चिन्तकको भनाइ र लेखाइलाई मात्र सार्वजनिक प्रशासनको अध्ययन र प्रयोगको आधार बनाइयो । नेपाललगायतका देशको कर्मचारीतन्त्रले पनि पश्चिमी विद्वान्कै चिन्तन र अवधारणालाई मुलुकी प्रशासनको आधार बनाए । आर्थिक रूपले कमजोर र सामाजिक हिसाबले पछाडि परेका मुलुकले दोस्रो विश्वयुद्धपछि संयुक्त राष्ट्र सङ्घका विभिन्न निकायमार्फत तिनै विषयलाई शासन सञ्चालनमा प्रयोगमा ल्याइए, जुन पश्चिमी दर्शनशास्त्र, प्रशासन र राजनीतिशास्त्रबारे लेखिएका थिए । कारण, पश्चिमेली राजनीतिक विज्ञानशालाले आफ्नो क्षेत्रका विचार र चिन्तनलाई औपनिवेशिक राज्यमा योजनाबद्ध हिसाबले दुई सय वर्षसम्म व्यापक बनायो, जबकि पूर्वीय दर्शनशास्त्रले भाषागत समस्या वा अन्य हिसाबबाट प्रचार पाउन सकेन, व्यापकता ल्याउन सकेन । प्राज्ञिक हिसाबबाट देश–देशान्तर पुग्ने अवसर पाएन । वर्तमानमा आइपुग्दा हाम्रा विश्वविद्यालयमा लेखिने किताब र लेखको सुरुवात पश्चिमी विद्वान्को उद्धरणबाट गर्न थालियो । परिणामतः आफ्नो इतिहास र पहिचानलाई बिर्सिंदै जाने खतरा बढ्ने सम्भावना देखिन थालेको छ । 

इसापूर्व पाँचौँ/छैटौँ शताब्दीतिरको चीनको शासकीय शैली यति अराजक र हिंस्रक थियो कि चीनको केन्द्रीय संस्थाको रूपमा रहेको झु राजवंश शक्तिहीन बन्यो, नाम मात्रको रह्यो र सम्पूर्ण मुलुक ‘जसको लाठी उसैको भैँसी’ जस्तो हुन पुग्यो । नाममा ‘वसन्तकालीन’ समय भने पनि व्यवहारमा नैतिकताको ह्रास भयो, सामाजिक मूल्यमान्यता हराउन थाले, संस्कारको विषय कुरामा मात्र देखिन थाल्यो, भ्रष्टाचारले दुःख दिन थाल्यो र सदाचार पराजित हुन थाल्यो । जनताको भलाइका काम हुनै छोडे । मन्त्रीले राजाको हत्या गरेर आफैँ राजा बन्न लागे । केन्द्रीय शासनप्रणाली सिसा फुटे सरी टुक्रा टुक्रा भयो । सिङ्गो चीनभित्र सयौँ ससाना राज्य बने । कुनै कसैको नियन्त्रणमा रहेनन् । आपसमा मारामार गर्न थाले । समाज विभक्त भयो, कमजोर भयो । कहाँसम्म भने छोराले बाबुको आज्ञा मान्न छाडे । फलतः समाजले आफ्नो 

आत्मसम्मान गुमायो । 

परिणामतः मानिसमा निराशा व्याप्त भयो । हिंसा बढ्यो, सुरक्षा हरायो । अब यहाँ केही हुँदैन, सबै बिग्रियो भन्ने मानिसिकता बढ्न थाल्यो । मानिसहरू एउटा राज्यबाट अर्को राज्यमा पलायन हुन थाले । सबै राज्यको स्थिति उस्तै उस्तै नै थियो । पलायन हुने ‘तावाको माछा भुङ्ग्रोमा’ परे । हो, यही समयमा कन्फुसियसले समाजको गहन अध्ययन गरे, देश–देशान्तर घुमे र निष्कर्षमा पुगे, जबसम्म व्यक्तिको सोच र व्यवहारमा सकारात्मकता आउँदैन, तबसम्म शासक भ्रष्ट भइरहन्छ र समाजले दुःख पाइरहन्छ । 

परिणामतः कन्फुसियसले शासन गर्ने राजा होस् वा मन्त्री वा कर्मचारी, जन्मजात ऊ ‘ज्युन–झी’ हुँदैन । धनी वा कुलीन घरमा जन्म लिनेबितिकै ऊ असल हुँदैन । राजा, मन्त्री र कर्मचारी सबैले सर्वप्रथम आफूलाई ‘ज्युन–झी’ बनाउनु पर्छ अर्थात् असल व्यक्ति बनाउनु पर्छ भन्ने विचार राखे । व्यक्तिको नैतिक चरित्र, सद्गुणी व्यवहार, जनताको आकाङ्क्षा पूरा गर्न सदैव तत्पर रहने बानी र आफूले शासकीय हिसाबले गर्ने कार्यबारे सबैलाई जानकारी गराई उनीहरूको सुझावका आधारमा काम गर्ने प्रणाली विकास गर्नु पर्छ र यसरी गरिने शासनले मुलुकको हित हुने र समाजमा असन्तुष्टि नआउने विचार कन्फ्युसियसले लेखे । 

कर्मचारीमा ‘ज्युन–झी’

प्रशासनले सार्वजनिक हित र सरोकारलाई सम्बोधन गर्छ र सोहीबमोजिम राज्य सुरक्षा र जनकल्याणका लागि गर्नुपर्ने सम्पूर्ण कार्य गर्नु पर्छ । यी कार्य कर्मचारीका माध्यमबाट गरिन्छ र कर्मचारीको समुच्च रूप कर्मचारीतन्त्र भएकाले, कस्तो कर्मचारीतन्त्र भयो भने राज्यले लक्षित गरेको उद्देश्य तोकिएको समयभित्र, तोकिएकै खर्चमा सकारात्मक रूपले प्राप्त हुन्छ भन्नेबारे ‘ज्युन–झी’ ले बाटो देखाउँछ । कर्मचारीले नै जनतालाई यो सुनिश्चित गर्नु पर्छ कि उनीहरूले गरेका काम न्यायपूर्ण छन्, प्रभावकारी छन् र जनताको चाहनालाई यथार्थ रूपमा सम्बोधन गरेका छन् । 

कन्फुसियसका अनुसार अहङ्कार, दम्भ, मपाईं र बल प्रयोगमा शासन अडेको हुँदैन, अपितु यो कर्मचारीको सद्गुणमा उभिएको हुन्छ । सद्गुणी, नैतिकवान्, निष्ठावान् र सदाचारी कर्मचारी नै ‘ज्युन–झी’ हुन् । असल कर्म, कुशल व्यवहार र नैतिकताले उनीहरूलाई ‘ज्युन–झी’ बनाउँछ । त्यसैले नै ‘ज्युन–झी’ का विशेषता बोकेका कर्मचारी भएमा, त्यो देश र समाजले सुख पाउँछ, समृद्धि देख्छ र सभ्यताले शिर ठाडो पारेर उभिन सक्छ । मन्त्री हुन् वा कर्मचारी, उनीहरूले आफ्नो कार्यलाई उदाहरणीय बनाउन सक्नु पर्छ, कुरा र गफ गरेर असल र सम्झनायोग्य कार्य गर्न सकिँदैन । उनीहरूले आफ्नो व्यवहारमा इमानदारी, स्वच्छता र करुणा देखाएर काम गरे भने निश्चय नै जनताको विश्वास जित्न सक्छन् । शासन सञ्चालनमा नीति निर्माण र सोको कार्यान्वयन तहमा रहेकाले के कस्तो काम गर्छन्, आममानिसले नजिकबाट हेरिरहेका हुन्छन् । उनीहरूले भलै तत्काल विरोध गर्न नसक्लान् तर एक दिन यस्तो आउँछ, जहाँ ती मौन आवाज विस्फोट हुन्छन् । 

आजको आधुनिक शासनप्रणालीले पारदर्शिता, उत्तरदायित्व, कानुनीशासन र भ्रष्टाचार नियन्त्रण जस्तो विषयलाई कर्मचारीतन्त्रका लागि आवश्यक तìवका रूपमा उल्लेख गरेको छ । ती विषय कन्फुसियसको विचारका अतिरिक्त गौतम बुद्धको नैतिक आचरण, करुणा र लोभबाट टाढा रहनुपर्ने, न्यायपूर्ण र समतायुक्त समाज बनाउनुपर्ने जस्ता ‘मध्यमार्ग’ का विचार आजको नेपालको सन्दर्भमा अति सान्दर्भिक छन् । शासन सञ्चालनमा यसको अपरिहार्यता रहेको छ ।

आर्थिक विकासमा सामाजिक न्याय, प्रभावकारिता, जनकल्याण र उत्तरदायी हिसाबले अधिकारको प्रयोग गर्नुपर्नेतर्फ गौतम बुद्धले दिएको जुन शिक्षा हो, त्यो प्रशासकका लागि नीति सन्तुलन (पोलिसी मोडरेसन) को आधार हो । चाणक्य नीतिले पनि यिनै विषयलाई उजागर गरेको छ । यसको अर्थ हो, शासन सञ्चालन उपर पूर्वीय दर्शन ज्यादै धनी छ । यसलाई नेपालको सार्वजनिक प्रशासनभित्र कसरी र कुन रूपमा लागु भइरहेको छ वा कसरी लागु गर्नु पर्छ भन्नेबारे किताब लेखिनु जरुरी छ । प्रचारप्रसार हुन आवश्यक छ । 

सारमा भन्नुपर्दा कर्मचारीतन्त्रमा नैतिक नेतृत्वको विकास अपरिहार्य छ । जुनसुकै काम गर्दा पनि त्यसलाई नैतिकताको आँखाबाट हेरेर गरियो भने ‘कार्यशुद्धता’ आउँछ । जनतालाई प्रभावकारी रूपमा सार्वजनिक सेवा प्रवाह गरी जनविश्वास जित्ने जुन लक्ष्य हो, त्यो सम्भव हुन्छ । यदि नेतृत्व आफैँमा नैतिकता र सदाचारिताको कोणबाट कमजोर देखियो भने उसप्रतिको जनविश्वास बढ्न सक्दैन । 

त्यसैले चाहे कन्फुसियसको ‘ज्युन–झी’ बारेको विचार होस् वा गौतम बुद्धको ‘मध्यमार्गी’ विचार वा कौटिल्यको अर्थशास्त्रमा लेखिएका कुरा ती सबैको एउटै मनसाय हो असल, सभ्य र न्यायपूर्ण समाजको निर्माण गर्नु । यसमा कर्मचारीतन्त्रको भूमिका महत्वपूर्ण रहने कुरा कन्फुसियस, कौटिल्यले स्पष्ट पारेका छन् । चीनमा ‘ज्युन–झी’ ले साम्राज्यिक कर्मचारीतन्त्र (इम्पेरियल ब्युरोक्रेसी) मा व्यापक सुधार ग¥यो । मूल्यमान्यतामा आधारित सदाचारिताको गुण जाँच्ने परीक्षा प्रणालीको माध्यमबाट कर्मचारीको छनोट गर्न थालियो । सद्गुणी व्यक्तिहरू निर्णय निर्माण गर्ने र सोको कार्यान्वयन गर्ने तहमा रहँदा शासकीय मामिलामा गरिने कार्यप्रति जनविश्वास बढ्न गई निराशा र नकारात्मक बाटोतिर हिँडेको समाज सभ्य र सुसंस्कृत हुन गयो । आज पर्यन्त चीनको प्रशासनतन्त्रले कन्फुसियसले उद्धृत गरेका विचारलाई प्राथमिकता दिएको छ ।

८०० इसापूर्व देखि ३०० इसंसम्म राज्य गर्ने किराँत हुन् वा ४०० देखि ७५० इसंसम्म शासन गर्र्ने लिच्छवि हुन् उनीहरूको शासन जनताको राजीखुसीबाटै चलेको थियो र शासनप्रणाली विकेन्द्रित थियो । अनुशासन, आदेशको शृङ्खला, सदाचारयुक्त आचरण र राजा, मन्त्री र कर्मचारीको असल व्यवहारबारे सिङ्गो शासन सचेत थियो । लिच्छवि राजा अंशुवर्माको शासनकाललाई ‘स्वर्णकाल’ भनिनुमा सदाचारयुक्त शासनप्रणालीले सम्भव बनाएको थियो । 

विश्व परिवेशमा आधुनिक सार्वजनिक प्रशासनले बिड्रो विल्सनको ‘दी स्टडी अफ एड्मिनिस्ट्रेसन’ नामक लेख १८८७ इसामा आएपछि संसारभरि फैलिने अवसर पाउनुपूर्व पृथ्वीनारायण शाहको दिव्योपदेशले नेपालको प्रशासनमा व्यापक प्रभाव पारेको थियो र अहिलेसम्म पनि सान्दर्भिक रहेको छ । 

विसं १८७९ सालको उजिरसिंह थापाको जङ्गी तथा निजामती स्थिति बन्देजमा भनिएको छ, “कुनै पनि प्रशासकले जङ्गी, मुलुकी तथा अदालत तिनैतर्फ विचार पु¥याई काम गर्नु पर्छ । जङ्गीतर्फ मात्र ध्यान दिए सेनाले रैतीलाई पिरोल्छ । रैतीतर्फ मात्र हे¥यो भने अदालत बलियो हुँदैन । अदालतले आम्दानी मात्र हे¥यो भने दुनियाँले इन्साफ पाउँदैन । सिपाही शुरा, अदालत बलियो र रैती सुखी रहेमा मात्र मुलुक गुलजार हुने हुनाले यी तिनैमा समन्वय राखिनु पर्छ ।” यसले देखाउँछ नेपालको प्रशासन प्राचीन समयदेखि नै समृद्ध छ र यसबारे व्यापक प्रचारप्रसारको आवश्यकता छ ।  

 

Author

डा. गोविन्दप्रसाद कुसुम