छुदेन काविमो नेपाली भाषी आख्यानकार हुनुहुन्छ । उहाँको कथासङ्ग्रह १९८६ ले सन् २०१८ को युवा साहित्य अकादमी पुरस्कार पाएको थियो । उहाँको पहिलो उपन्यास फातसुङ अङ्ग्रेजी, बाङ्ला, सिन्धी र हिन्दी भाषामा समेत अनूदित छ । उहाँको दोस्रो उपन्यास ‘उरमाल’ ले २०८१ को मदन पुरस्कार पाएको छ । खोज अनुसन्धान गर्ने र सीमान्तकृत मान्छेको कथालाई आख्यानीकरण गर्ने अहिलेको पुस्ताको सशक्त युवा लेखक काविमो सँग गोरखापत्रका लागि सुकृत नेपालले गर्नुभएको कुराकानी :
भारतमा रहेर मदन पुरस्कार प्राप्त गर्दा कस्तो लागेको छ ?
भारतेली र नेपाली साहित्यको दुरी खासै धेरै छैन । भाषिक र सांस्कृतिक रूपमा हामी नजिक छौं । हामीले लेख्ने मुद्दा अलग होला, विषय अलग होलान्, किनकि हाम्रो भोगाइ र सङ्घर्षको कथा अलग छ तर जब हामी साहित्यमा त्यसलाई पढिरहेका हुन्छौँ, आफ्नै पीडा सम्झिरहेका हुन्छौँ । आज पनि नेपालका राम्रा किताब भारतका नेपाली भाषी रहने कमान र बस्तीमा पुगिरहेकै छ । काठमाडौँमा हिट खाएको गीत यतातिरको बिहे बटुलमा घन्किरहेकै छ । राम्रो सिनेमा, राम्रो किताब वा राम्रो गीतले यो राजनीतिक सीमा यति सहजै नाघिदिन्छ, तपाईं महसुससम्म गर्न सक्नुहुन्न । त्यही भएर होला, हरेक पटक भारतका नेपाली लेखक–पाठकले नेपालतिर फर्किएर हेरिरहेका हुन्थे, ‘यस पटक कुन पुस्तकले मदन पुरस्कार जित्ला ?’ त्यसपछि पुरस्कृत किताब किन्न यतातिरका पाठक कुदेर बिर्तामोडसम्म नै पुग्थे । यस्तो देख्दा हामी गफै गथ्र्यौं, मदन पुरस्कार नेपालको मात्रै होइन, वैश्विक नेपाली साहित्यकै एउटा मानक पुरस्कार हो । दशकौँपछि यो पुरस्कारले भारतेली नेपाली किताबलाई समेटेको छ । त्यसैले यस पटक मैले पूरै भारतेली नेपाली साहित्य नै सम्मानित भएको अनुभव गरेको छु ।
फातसुङमा तपाईंले गोर्खाल्यान्ड आन्दोलनको रापलाई चित्रण गर्नुभएको छ । ‘उरमाल’ मा तपाईंले चिया बगानका श्रमिकको मानवीय सङ्घर्षको कथा प्रस्तुत गर्नुभएको छ । के कुनै साहित्यले देशको सिमानाभन्दा माथि उठेर मानव जातिको कथा भन्न सक्छ ?
संसारका हरेक सिमानालाई नाघेर मानवताको पक्षमा उभिनु नै साहित्यको वास्तविक काम हो । तपाईं संसारको जुनसुकै आख्यानलाई पढ्नूहोस्, त्यसको मर्म भनेको प्रेम, घृणा, विस्थापन, पर्यावरण र घरपरिवारकै वरिपरि घुमिरहेको हुन्छ तर पनि किन केही आख्यान हरेक सीमा नाघेर तपाईंसम्म आइपुग्छ, थाह छ ? किनकि त्यसले मानव संवेदनाको कथा बोकेर हिँडेको हुन्छ । मलाई लाग्छ, लेख्दा लेखकले उक्लिनुपर्ने सीमा राजनीतिक मात्रै हुँदैन । समाजको हरेक ठाउँमा आआफ्नै किसिमका सीमा छन् । जाति, धर्म, वर्ग, समुदाय र लिङ्गको सीमा । यी सब सिमानाबाट थोरैमाथि उक्लिएपछि त एउटा साहित्यले विस्तृत रूप पाउने हो । जबसम्म यी सब सीमाभित्र नै लेखक खुम्चिरहन्छ, तबसम्म त्यो लेखन बाहिर निस्किनै सक्दैन । हरेक लेखकको मुख्य चुनौती भनेकै यही सीमाबाट माथि उक्लिनु हो ।
साहित्यमा सीमान्तको कथा लेख्दा लेखकले त्यस सीमान्त समुदायको पीडालाई कसरी जोड्छ ?
लेखकले त्यही लेख्न चाहन्छ, जसको सरोकार उसलाई आत्माबाट हुन्छ । ‘क्याटिस’ बोकेर दगुर्नेहरूले चराको पीडक किन लेख्थे र, होइन ? सीमान्त समुदायका कथा पनि त्यस्तै त होला नि ! म आफैँचाहिँ आदिवासी जनजाति समुदायबाट आएको मान्छे हुँ । श्रमिक र मजदुरी गर्नेको पीडा मलाई जहिले आफ्नो लागिरहन्छ । त्यही भएर, मलाई यी सब थोकसँग प्रेम छ । लगाव छ । एक किसिमको संवेदना छ । समाजको फेदबाट ठोकिँदै हिँडनु परेको अनुभव भएर पनि होला, मलाई त म जस्तै सामान्य मान्छेको कथाभन्दा सन्तुष्टि पनि मिल्छ । त्यै भएर म सीमान्तकृत समुदायको कथा भन्नलाई जहिले अघि हुन्छु तर जसको समस्या लेख्नु छ, लेखकले उनीहरूको पीडासँग राम्ररी घुलमेल हुन सक्नु पर्छ भन्नेचाहिँ मलाई जहिले लागिरहन्छ । जब तपाईं मानसिक रूपमा कुनै विषयसँग जोडिनुहुन्छ, त्यसपछि सायद एउटा सानो दुरीको पनि जरुरी हुन्छ । जुन दुरीले नै विषयप्रति लेखकको दृष्टिकोण अझ फराकिलो बनाइदिन्छ । कुनै पनि विषय लेख्नलाई मेरो एउटै नियम छ, तपाईं जुन समाजको कथा लेख्न चाहनुहुन्छ । त्यो समाजसम्म पुगेर उनीहरूले उभिएको धरतीमा केही समय खालीखुट्टै हिँड़्नुहोस् । जे जे ले पनि पैतलामा घोचिरहन्छ, लेख्दा ती ती कुरालाई कहिले नछुटाउनुहोस् ।
डिजिटल माध्यमले भूगोल र समुदायको कथालाई थप व्यापक बनाएको हो ? या लेखकलाई सङ्कटमा पारेको हो ?
केही दिनअघि मात्रैको कुरा हो, मलाई एक जना दृष्टिशक्ति कमजोर भएका पाठकले म्यासेज गर्नुभएको थियो । उहाँले ‘उरमाल’ लाई इबुकमार्फत किनेर स्क्रिन रिडिङको माध्यमबाट पढ्नु भएको रहेछ । सुनेर म भावुक बनेँ । तपाईंको प्रश्नले मलाई ठ्याक्क त्यही कुराको सम्झना गरायो । साँच्चै किताब अब गातामा मात्रै सीमित रहेन, इबुक, अडियो बुक, भिजुअल बुक सबतिर पुगि सक्यो । उसो त, साहित्यले भूगोलको सिमानालाई हिजो पनि पार गरिरहेकै थियो । आज पनि गरिरहेकै छ । किनकि नदीलाई जस्तै साहित्यलाई पनि कुनै सिमानाले रोकेर राख्न सक्ने होइन तर डिजिटल युगले किताबको यात्रालाई अझ सुगम बनाइदिएको चैँ पक्का हो । हिजोको कुरा बेग्लै थियो । एउटा साहित्य राम्रो छ कि छैन भनेर बुझ्नलाई पाठकले पत्रिकामा छापिने समीक्षालाई पर्खेर बस्नुपथ्र्यो । अब त्यो युग रहेन । अब त हरेक पाठक नै समालोचक जस्तै भइसके । किताब मनपरे हर कोहीले खुलेर बोल्न वा लेख्न थालिहाल्छन् । यसो हुँदा आजको कथाले अझ धेरै व्यापकता पाएको पक्का हो । यति हुँदाहुँदै पनि लेखकसँग आज पनि केही सीमा छन् । लेखकको लेखन यात्रामाचाहिँ यसले धेरै फरक पारे जस्तै मलाई लाग्दैन । मचाहिँ आज पनि त्यही लेख्ने कोसिस गर्छु, जो गुगलमा भेटिँदैन । जसलाई एआईले खोजेर निकाल्न सक्दैन । त्यसको निम्ति रिसर्च गर्नै पर्ने हुन्छ ।
१९८६ र ‘फातसुङ’ मा तपाईंले इतिहासका केही अंशलाई कथामा ढाल्नुभयो । के साहित्यकारका लागि इतिहासलाई पुनर्जीवित गर्ने काम कल्पनाको दायराभित्र पर्छ ? के इतिहासलाई कलात्मक रूपमा प्रस्तुत गर्दा सत्यलाई कतै न कतै विकृत गरिन्छ ?
इतिहासको धरातलमा उभिएर कल्पना गर्नुभनेको सत्यलाई विकृत गर्नु होइन । म इतिहासका नलेखिएका पाटालाई यसकारण उपन्यासमा लेख्न चाहन्छु, किनकि म त्यसलाई मिथ बनेर गएको देख्न चाहन्न । १९८६ देखि फातसुङ अनि अहिले ‘उरमाल’ सम्म नै मैले त्यही गर्ने कोसिस गरेको छु । त्यै भएर मेरो लेखनीमा इतिहास र कल्पनाको दुरी अलि पात्लो भएर आउने गर्छ । इतिहासकार जे एच प्लम्ब भन्थे, “इतिहास भनेको बितेको समय मात्रै होइन तर यो त एउटा कथा पनि हो, जस कथामार्फत हामी विगतलाई चिहाउन सक्छौँ ।” म कथामार्फत त्यही विगतलाई चिहाउने कोसिस गरिरहेको हुन्छु । मलाई लाग्छ, जुन सुकै माध्यमबाट भए नि मान्छेले आफ्नो इतिहास सम्झिन जरुरी छ । इतिहासको राम्रो पाटो यसकारण लेखिनु पर्छ, कि यसले हाम्रा भविष्यका सम्भावनाहरू खोलिदिन्छन् र गलत पाटो यसकारण लेखिन जरुरी छ, कि यसले नयाँ पुस्तालाई नयाँ बाटो खोज्न बाध्य बनाइदिन्छन् ।
मदन पुरस्कार प्राप्तिपछि पाठक र समीक्षकको अपेक्षाको दबाबले लेखकीय चुनौती महसुस गराएको छ कि ?
लेखकलाई हरेक पुस्तक लेख्दा धेरथोर दबाब हुन्छ, हुन्छ र त्यही दबाब र चुनौतीले नै लेखन यात्रालाई रोचक पनि बनाइदिन्छ । मैले ‘उरमाल’ लेख्दा त्यो दबाब अलि बढी अनुभव गरेको थिएँ । किनकि त्यसको अघि फातसुङ थियो । मैले त्यहाँभन्दा अघिको बाटो खोज्नु थियो । हर कोही मसँग भन्थे, ‘फातसुङलाई पनि उच्छिन्ने लेख्नुहोस् ल ?’ म भित्रभित्रै डराइरहन्थे तर मलाई नयाँ कथा त लेख्नै थियो । भनिन्छ नि, ‘जहाज सबैभन्दा सुरक्षित नदी किनारमा उभिँदा हुन्छ । जसका निम्ति त्यो बनाइएको नै होइन ।’ सायद लेखकको भागमा पनि त्यही हुन्छ । तपाईं लेखनको दबाब र चुनौतीदेखि बाहिर त्यतिञ्जेलसम्म जान पाउनुहुन्न, जतिञ्जेलसम्म तपाईंमा नयाँ लेख्ने उत्साह हुन्छ । अँ, मदन पुरस्कारलाई मैले त्यसरी दबाबकै रूपमाचाहिँ लिएको छैन । मलाई लाग्छ, पुरस्कार भनेको प्रेम पनि हो । पुरस्कार भनेको विश्वास पनि हो । जहाँ प्रेम र विश्वास दुवै पाइन्छ, त्यहाँ धेरथोर आत्मविश्वास आफैँ उम्रिन्छ । अहिलेलाई पुरस्कारले नयाँ उत्साह दिएको छ र त्यही उत्साहसँग नयाँ सालदेखि नयाँ लेखनीमा लाग्ने योजना बनाइरहेको छु ।