रामकृष्ण बोहरा
बागलुङ, भदौ १७ गते । दक्षिण बागलुङको जैमिनी नगरपालिकाका दर्जनबढी विद्यालयमा विज्ञान, गणित र अङ्ग्रेजी शिक्षक पदपूर्ति गर्न ‘नगर शिक्षा ऐन’ नै परिमार्जन गर्नुपरेको छ । तीन पटकसम्म सूचना प्रकाशित गर्दा पनि आवेदन नपरेपछि जैमिनीले नगर शिक्षा ऐन नै परिमार्जन गरेर लाइसेन्स बिनाका शिक्षा नियुक्त गर्ने प्रावधान राखेको छ ।
‘‘अध्यापन अनुमति पत्र (लाइसेन्स) बिनाका शिक्षक नियुक्ति गर्ने ऐनमा व्यवस्था गरिए पनि पर्याप्त शिक्षक भने पाउन सकिएन,’’ जैमिनीका नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यले भन्नुभयो, ‘‘ऐन परिमार्जनपछि छिटफुट व्यक्तिले आवेदन दिएका थिए, उनीहरुलाई नै शिक्षक नियुक्ती गरेर पठनपाठनको व्यवस्था गर्न बाध्य भएका छौ ।’’ तलब बढाएर माग्दा पनि विज्ञान, गणित, अङ्ग्रेजी र कम्प्युटरका शिक्षक पाउन नसकेको आचार्यले सनाउनुभयो ।
सदरमुकाम बागलुङ बजारकै रुद्रेपिपल मावि झण्डै तेह्र महिनादेखि प्रधानाध्यापकविहीन छ । माध्यमिक शिक्षा परीक्षामा जिल्ला टपेको रुद्रेपिपल सहायक प्रअको भरमा चलेको छ । झण्डै पाँच सय विद्यार्थीले अध्ययन गरिरहेको विद्यालय मावि तहमा दरबन्दीका शिक्षक नहुँदा निमावि र प्रावि तहका शिक्षकहरुले मावि तहमा अध्यापन गराईरहेका छन् । निजी श्रोतको भरमा उत्कृष्ट नजिता निकाल्दै आएको विद्यालयमा प्रधानाध्यापकको अभावले व्यवस्थापन र अध्यापनमा असर गरिरहेको विद्यालयका अध्यक्ष कमल बोहरा बताउनुहुन्छ ।
अध्यक्ष बोहराले पटक पटक नगरपालिकामा दरबन्दीको शिक्षक माग गर्न पुग्दा बेवास्ता गर्दै आएको गुनासो गर्नुभयो । ‘‘नगर शिक्षा समितिका पदाधिकारीहरु सामुदायिक विद्यालय राम्रो बनाउने पक्षमा छैन, रुद्रेपिपल प्रअविहिन बन्नु यसैको उदाहरण हो’’ बोहराले भन्नुभयो । नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले भने आवश्यकता अनुसारको शिक्षक नपाउँदा पठाउन नसकिएको तर्क गर्नुहुन्छ । ‘‘पाए पठाउने हो । विषयगत शिक्षक पाउन नसक्दा रुद्रेपिपलमा दरबन्दी पुरा हुन सकेको छैन’’ पोखरेलले भन्नुभयो ।
बागलुङ नगरपालिका–८ सिगानाको बौडेचौर माविमा गणित शिक्षकको अभाव छ । प्रावि दरबन्दीका रुद्रप्रसाद जोशीले स्नातकोत्तर उत्तिर्ण गरेकाले अध्यापन गराउनुभएको छ । जोशी अन्यत्र सरुवा भएमा गणित र सामाजिकको पढाइ ठप्पै हुने विद्यालयका प्रअ जीवननाथ शर्मा किसान सापकोटा बताउनुहुन्छ । भकुण्डेको भैरव माविमा शिक्षक खोज्दा हैरान भएको प्रअ किसान सापकोटाको अनुभव छ । ‘‘लोकसेवा तयारी गरेकाहरु केही समयका लागि आउनुभएको छ, उहाँहरु जानेबित्तिकै शिक्षकको अभाव हुन्छ’’ सापकोटाले भन्नुभयो ।
पछिल्लो समय युवाहरु शिक्षण पेशामा आर्कषण नभएको र विज्ञान पढ्ने विद्यार्थीले सानो जागिर खानै नमान्दा शिक्षक अभाव खड्किएको बागलुङ नगरपालिकाको सामाजिक विकास समितिका संयोजक ज्ञानेन्द्र गौतमले बताउनुहुन्छ । बागलुङ नगरपालिकाले गतवर्ष एक दर्जन विद्यालय मर्ज र आधादर्जनलाई तह मिलान गरेको छ । विद्यालय संख्या घट्दै गएपछि गलकोट, जैमिनी र बडिगाडमा पनि केही विद्यालय बन्द भएका छन् ।
यस्तै, पश्चिम बागलुङका निसीखोला र तमानखोलामा शिक्षक अभावको समस्या विकराल छ । निसीखोलाका अधिकांस विद्यालयमा मावि तहका गणित र विज्ञान शिक्षक पाउनै मुस्किल भएको गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तिले बताउनुभयो । सबै विद्यालयमा कम्प्युटर वितरण गरेर गुणस्तरीय शिक्षा दिने लक्ष्य राखेपनि विषयगत शिक्षक नपाउँदा उपकरण प्रयोगमा आउन नसकेको तमानखोलाका अध्यक्ष जोकलाल बुढा बताउनुहुन्छ ।