जुम्लाको स्याउ ताजा, मिठो र स्वादिलो छ । एक पटक खाएपछि सधैँ खान मन लाग्ने । चिसो हावापानीमा हुर्केर फलेको जुम्ली स्याउको स्वाद अन्यत्रको भन्दा फरक छ । यो अर्गानिक स्याउ हो । जुम्लामा यतिबेला स्याउको सिजन सुरु भएको छ । नेपाली बजारमा जुम्ली स्याउको उच्च माग छ । त्यहाँका किसान स्वदेशमा मात्र नभएर जुम्लाको स्याउले अन्तर्राष्ट्रिय बजारमा सहजै प्रतिस्पर्धा गर्न सक्नेमा विश्वस्त छन् । त्यसका लागि सङ्घीय सरकारले नै पहल गरिदिनुपर्ने भएको छ । विसं २०६२ सालमा केही किसानले जुम्लाको स्याउ बङ्गलादेश निर्यात गर्ने तयारी गरे । निर्यातका लागि जुम्ला उद्योग वाणिज्य सङ्घले अन्तरदेशीय निर्यातसम्बन्धी कानुनी आधार तयार गरेर स्याउ बङ्गलादेश पठायो । नेपाली बजार मात्रै होइन, अन्तर्राष्ट्रिय बजारमा जुम्लाको स्याउ पु¥याउने उद्देश्यले भारत हुँदै बङ्गलादेश निर्यात गरियो । केही वर्षसम्म स्याउ बङ्गलादेश पठाइयो पनि तर यसले निरन्तरता पाउन सकेन । किसानले जुम्लाको स्याउ विदेश पठाउने योजना अगाडि बढाउन सरकारी निकायसँग आग्रह गरेका छन् । जुम्लामा शीतभण्डार बनाई स्याउलाई सुरक्षित राख्ने गरिएको छ । अगुवा किसान स्याउको अन्तर्राष्ट्रिय बजारको खोजीमा छन् । गुठीचौर एग्रोफार्म जुम्लाकै सबैभन्दा ठुलो र ४० हजार बिरुवा रोपेको बगैँचामा ९९ प्रतिशत स्याउ फलेको छ । यो स्याउ भारत निकासी गर्ने सोच बनाइएको छ । त्यसका लागि परीक्षण तथा कानुनी आधार छिट्टै तयार गर्न आवश्यक छ । स्याउ निर्यातका लागि सङ्घीय सरकारसँग पहल पनि भइरहेको छ । निर्यात गर्ने आधार सरकारले तयार गरिदिएमा जुम्ली स्याउले अन्तर्राष्ट्रिय बजारमा प्रभाव पार्ने कुरामा किसान विश्वस्त छन् ।
चन्दननाथ नगरपालिका–२ का रत्नबहादुर भण्डारी आफ्नो बगैँचाका ३६५ बोटमा स्थानीय स्याउ फलेकाले बजारको खोजीमा हुनुहुन्छ । उहाँले बर्सेनि तीनदेखि छ लाख रुपियाँसम्म स्याउबाटै आम्दानी गरिरहेको बताउँदै अब अन्तर्राष्ट्रिय बजारमा लैजाने उपाय खोजिरहनुभएको छ । कृषि विकास कार्यालय जुम्लाले अहिले स्याउ ५० प्रतिशतभन्दा बढी नेपाली बजारमै खपत भइरहेको जनाएको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाले पाकेको स्याउ भदौ २ गतेबाट टिप्न सिफारिस दिइसकेको छ । जुम्ली स्याउ सुर्खेत, नेपालगन्ज, सल्यान, धनगढी, महेन्द्रनगर, तुलसीपुर, पाल्पा, बुटवल, गुल्मी, स्याङ्जा, काठमाडौँ, जनकपुर र विराटनगर पुग्ने गरेको छ । जुम्लामा यस वर्ष चार हजार चार सय हेक्टर जमिनमा स्याउ खेती गरिएको छ । यस वर्ष १० देखि १३ हजार मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान छ । यस पटक असिनापानीले क्षति पु¥याएका कारण उत्पादन गत वर्षभन्दा घटे पनि स्याउको मूल्य भने बढेको छ । गत वर्ष बगैँचामा स्याउको मूल्य ४५ देखि ५५ रुपियाँ प्रतिकेजी भएकोमा यस वर्ष ६० देखि ८० रुपियाँसम्म छ ।
आर्थिक वर्ष २०८१/८२ मा जुम्लाबाट मात्रै नौ हजार ३९१ मेट्रिक टन अर्थात् ६१ करोड ४१ लाख पाँच हजार रुपियाँको स्याउ निर्यात भएको थियो । जुम्लामा स्थानीय स्याउ रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेनसहित उच्च घनत्वका स्याउ फल्ने गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण एकाइ परियोजना अन्तर्गत जुम्लामा ५२ हेक्टरमा उच्च घनत्वको स्याउ किसानले रोपेका छन् । आव २०७५/७६ बाट सुरु गरिएको परियोजना अन्तर्गत ५८ वटा बगैँचामा लगानी भइरहेको छ । यसका साथै २०६४ सालमा ‘एक घर एक स्याउ बगैँचा’ नीति पनि सरकारले लिएपछि अहिले उत्पादन बढ्दै गएको छ । कर्णाली प्रदेश सरकारले साबिकको कर्णालीमा बढी उत्पादन हुने स्याउ खेतीको विस्तार र प्रवर्धन गर्न स्याउ विकास बोर्ड गठन गर्ने जनाएको छ । आव २०८२/८३ को बजेट तथा नीति कार्यक्रममा कर्णालीमा उत्पादन भई निर्यात सम्भावना रहेको स्याउ खेतीको विस्तार तथा प्रवर्धन गर्न बजेटको समेत व्यवस्था गरेको छ । प्रदेश सरकारले कर्णालीको स्याउ अन्तर्राष्ट्रिय बजारमा पठाउनका लागि सङ्घीय सरकारसँग आग्रह गरेको छ । कर्णाली प्रदेशमा जुम्लासहित कालीकोट, हुम्ला, मुगु र डोल्पा जिल्लामा स्याउ खेती हुन्छ । सङ्घीय सरकारले सहजीकरण गरिदिने हो भने त्यहाँको स्याउ भारत, बङ्गलादेशमा मात्र नभएर युरोप र अमेरिकासम्म निर्यात गर्न सकिने सम्भावना छ । कर्णालीको स्याउलाई बजारीकरण गर्न सके राम्रो आम्दानी हुने सम्भावना छ ।