• १७ भदौ २०८२, मङ्गलबार

सञ्चालनमा आएको दुई सातामै लघु जलविद्युतमा क्षति

blog

फक्ताङलुङ गाउँपालिकाको लेलेपमा रहेको थाक्पाखोला लघुजलविद्युतको विद्युत गृहमा बाढी पहिरोले पुगेको क्षति । तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू
फुङलिङ, भदौ १७ गते ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ लेलेपमा रहेको थाक्पाखोला लघु जलविद्युत आयोजनामा बाढीले क्षति पुर्‍याएको छ । सोमबार राति आएको बाढीले लेलेपमा रहेको ५० किलोवाट क्षमताको लघुजलविद्युतमा बाढीले क्षति पुर्‍याएको हो ।

गत असार अन्तिम सातामा आएको बाढीले क्षति पुर्‍याएको विद्युतको पुनर्निर्माण गरी सञ्चालनमा आएको दुई सातामै फेरि अवरुद्ध भएको छ । महिनौ दिन लगाएर मर्मत गरी गत भदौ २ गतेबाट उत्पादन सुरु भएको लघुजलविद्युतमा गएरातिको बाढीले पुनः क्षति पुर्‍याएको स्थानीय तेञ्जिङ वालुङ शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनाको खोलामा रहेको ड्यामसाइड, विद्युत गृह, ट्रान्सफर्मर तथा अन्य विभिन्न क्षेत्रमा क्षति पुगेको छ ।

लघुजलविद्युतमा बाढीले क्षति पुर्‍याएपछि करिब २ सय घर परिवार पुनः विद्युतविहीन भएका छन् । स्थानीय शेर्पाका अनुसार साविक लेलेपको तीन, चार, पाँच, छ र सात नम्बर वडाका नागरिक विद्युत सेवाबाट बञ्चित भएका छन् । गाउँपालिकाको केही लागत र महिनौँ दिनको स्थानीयको श्रमदान मार्फत पुनः विद्युत उत्पादन सुरु भएको थियो । क्षति पुगेको संरचना तथा उपकरण मर्मत गरी सञ्चालनमा ल्याउन पुनः महिनौ दिन लाग्ने बताइएको छ ।

यसैबिच लुङथुङमा रहेको लुङथुङ गुम्बा समेत जोखिममा रहेको छ । गुम्बा परिसरको छेउको भाग भत्किएकाले जोखिममा पुगेको हो । तत्काल नै पुनर्निर्माण नगरे गुम्बा समेत क्षति पुग्ने स्थानीयको भनाइ छ ।