• १७ भदौ २०८२, मङ्गलबार

इन्द्रजात्राको तयारी पूरा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ १७ गते । राष्ट्रिय सांस्कृतिक, धार्मिक महत्वको पर्व इन्द्रजात्राको तयारी पूरा भएको छ । काठमाडौँ महानगरपालिकाद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा यस वर्ष बिहीबार भदौ १९ गते बिहान १० बजेर ३१ मिनेटको शुभसाइतमा यःसिं थनेगु (इन्द्रध्वज) उठाइने जानकारी दिइएको हो ।

भदौ १५ गते बिहान ९ बजेर ५२ मिनेटको शुभसाइतमा यःसिं नगर प्रवेश गराइसकिएको छ ।   महानगरका प्रवक्ता नवीन मानन्धरले इन्द्रध्वज उठाएपछि इन्द्रजात्रा औपचारि रूपमा सुरु भएको मानिने र  राष्ट्रप्रमुखसहित विशिष्ट पदाधिकारीले गद्दीबैठकबाट कुमारीको दर्शन गर्नुभएपछि भदौ २१ गते शनिबार क्वने याः(तल्लो टोल) मा कुमारी रथयात्रा तानिने बताउनुभयो । रथयात्राको दोस्रो दिन भदौ २२ गते थने याः (माथिल्लो टोल) मा रथयात्रा गरिने छ ।

उहाँका अनुसार भदौ २६ गते नानिचा यात्रा हुने छ । सोही दिनको रातको १० बजेर ३१ मिनेटको साइतमा यःसिं क्वः थलेगु (यःसिं झिक्ने) झिकेपछि यस वर्षको जात्रा समापन हुने र इन्द्रजात्राका अवसरमा शास्त्रीय तथा तान्त्रिक विद्यामा आधारित नृत्य, नाटक तथा वादन, मौलिक वेशभूषा र शृङ्गारसहितको प्रस्तुति, भिडियो प्रतियोगिता, सम्पदा पदयात्रा र माटाका सामान बनाउने प्रत्यक्ष सिपको प्रदर्शनसमेत गरिने जानकारी दिनुभयो ।

१६ देखि ४० वर्ष उमेर समूहका व्यक्तिले सहभागिता जनाउन सक्ने भिडियो प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने प्रतियोगीलाई क्रमशः एक लाख, ५० हजार र २५ हजार रुपियाँ प्रदान गरिने छ भने सान्त्वना पुरस्कारस्वरूप सम्मानपत्र प्रदान गरिने निर्णय भएको छ ।

महानगरले श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको रथारोहणसहित मनाइने इन्द्रजात्रा धार्मिक पर्यटकीय आकर्षणको पर्वसमेत भएकाले यसको राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरमा प्रवर्धनका लागि सबैले अवलोकन गर्न आह्वान गरेको छ ।

इन्त्राजात्रालाई भव्य र सभ्य तरिकाले सञ्चालनका लागि गुठीगहना, हनुमानढोका सङ्ग्रहालय विकास समिति, टोल सुधार समिति, क्लब, सङ्घ संस्था तथा स्थानीयवासीको योगदान अतुलनीय रहने गर्दछ । महानगरले महानगरभित्रका जात्रा पर्वसँगै उपत्यकामा मनाइने अन्य जात्रा पर्वको निरन्तरताका लागि महानगरले नेतृत्वदायी स्थानमा रहेर सहयोग गर्दै आएको र स्थानीयको स्वतःस्फूर्त सहभागिताले जात्रा जीवन्त हुने गरेको जनाएको छ ।

लिच्छविकालीन राजा गुणकामदेवका पालादेखि मान्दै आएको धार्मिक, सांस्कृतिक र ऐतिहासिक इन्द्रजात्रामा उपत्यकावासीले आफ्ना दिवङ्गत परिवारका सदस्यको स्मरण गर्दै शान्ति र मोक्षको कामना लागि दागिं जाने र मजिपा लाखे, हलचोक भैरव, पुलकिसी, देवी महाकालीलगायत तान्त्रिक विद्या र १० अवतारलगायत पौराणिक कथामा आधारित नृत्यको प्रदर्शन गरिन्छ ।