रेसुङ्गा (गुल्मी), भदौ १६ गते । गुल्मीको रेसुङ्गा नगरपालिका–१२ का ५३ वर्षीय प्रेम तङ्नामीले सडकमा काम गर्न थालेको ३२ वर्ष भयो । उहाँले २०४६ सालबाट सडक डिभिजन कार्यालय पाल्पामार्फत दैनिक नौ रुपियाँमा काम सुरु गर्नुभएको हो । उहाँसँग तम्घासबाट ३०/३५ किलोमिटरसम्म सडक मर्मत गरेको अनुभव छ ।
तीन दशकभन्दा बढी गल, गैँती र बेल्चासँग ऊर्जाशील जीवन साट्नुभएका तङ्नामीको पारिश्रमिक २४ हजार चार सय रुपियाँ पुगेको छ । खाजा झोला राखेर बिहान ९ बजे काममा निस्केपछि फर्किंदा बेलुका ५ बज्छ । तङ्नामीले सडकबाटै चार छोरी र दुई छोरासहितको परिवार पाल्नुभयो । पहिले कच्ची सडक भएकाले कम जनशक्तिले धेरै काम गर्नु पथ्र्यो ।
अहिले तम्घासदेखि गौँडाकोटसम्मको १८ किलोमिटर सडकमा सुपरभाइजरसहित सात जनाले काम गर्दै आएका छन् । सडक मजदुरको काम दैनिक ठुलो पहिरोबाहेक नाली सफा गर्ने, घाँस काट्ने र सडकका ससाना खाल्टाखुल्टी पुर्ने हो । उहाँलाई उमेर ढल्किँदै गएपछि भने जीविकोपार्जनको पिरलो छ । उहाँले भन्नुभयो, “अब उमेरसँगै बलको काम गर्ने अवस्था छैन । ३२ वर्षसम्मको ऊर्जाशील जीवन सडकमा बित्यो । सरकारले मजदुरलाई बुढेसकालमा खाली हात घर नफर्काए हुन्थ्यो ।”
रेसुङ्गा नगरपालिका–६ की ५० वर्षीय सीता मरासिनी तम्घास–रिडी सडकखण्डको सडक सुपरभाइजर हुनुहुन्छ । उहाँका श्रीमान् रोहित मरासिनी सोही सडकमै काम गर्नुहुन्थ्यो तर कामबाट घर फर्किंदा २०७२ सालमा दुर्घटनामा परेर ज्यान गुमाएपछि सीताले काम थाल्नुभएको हो । श्रीमान्को मृत्युपछि पाँच छोराछोरीसहित ससुराको लालनपालनको काममा मरासिनीलाई सडकको जागिरले ठुलो राहत मिल्यो । उहाँले पनि सडकसँगै जीवन साटेका आफू जस्तालाई सरकारले खाली हात घर फर्काउन नहुने तर्क गर्नुहुन्छ ।
रेसुङ्गा नगरपालिका–१२ की ५४ वर्षीय पूर्णकला तङ्नामी पनि सडक मजदुर हुनुहुन्छ । १५ वर्ष सडकमै काम गरेपछि प्यारालाइसले श्रीमान् टोपबहादुर थला परेपछि पूर्णकलाले सडककै कामबाट उपचार र परिवारको जोहो गर्नुभएको छ । रेसुङ्गा नगरपालिका–९ की ५२ वर्षकी शान्ता पन्थीले बिहे नहुँदै पनि सडकमै काम गर्नुहुन्थ्यो । २५ वर्षदेखि सडक मजदुरका रूपमा काम गर्नुहुन्छ । श्रीमान् बितेका १५ वर्ष भए । श्रीमान्बिनाको आर्थिक बोझ थेग्ने एउटै उपाय पन्थीको सडककै कमाइ हो ।
मालिका गाउँपालिका–४, अर्खाबाङका पूर्णप्रसाद अर्यालले चार वर्षदेखि तम्घास–छल्दी सडकमा मदन भण्डारी राजमार्ग आयोजना कार्यालयमार्फत सडक मर्मतको काम गर्नुहुन्छ । तम्घासमै बसोबास गर्ने अर्यालसँग सडकबाटै आउने पैसाले घरखर्च चलेको छ । सडक डिभिजन कार्यालय पाल्पाका इन्जिनियर दुर्गा पौडेलले जिल्लामा १० जना सडक हेरालु भएको बताउनुभयो ।
आफूहरूलाई अर्थ मन्त्रालयबाट कुनै अख्तियारी नआएकाले लामो समय सडकमा काम गरेकालाई पनि कामबाट बिदा गर्दा खाली हात घर फर्काउनुपर्ने अवस्था रहेको पौडेलले बताउनुभयो । उहाँले लामो समयदेखि बुढेसकालमा पनि सरकारले केही सुविधा दिनुपर्ने माग गर्दै आए पनि आजसम्मको अवस्थामा कार्यालयसँग कुनै उपाय नभएको बताउनुभयो ।