• २० असार २०८१, बिहिबार

वर्षाले पोखराको सुइँखेत फाँट डुबानमा, ६ सय घर प्रभावित

blog

रमेश पौडेल 

पोखरा, असार ११  गते । गएराति पोखरामा परेको भारी वर्षाका कारण पोखरा महानगरपालिका २५, हेम्जाको सुइँखेत फाँटका घरहरु डुबानमा परेका छन् । पहिरोले घर क्षतिग्रस्त हुँदा र डुबानका कारण मानिसहरु विस्थापित भएका छन् ।

पोखरा २५ का वडाध्यक्ष मोतीराज तिमिल्सिनाले भारी वर्षाका कारण त्यस क्षेत्रका करिब ६ सय घर प्रभावित भएको बताउनुभयो । उहाँकाअनुसार २ वटा घरमा पूर्णरुपमा क्षति पुगेको छ भने १५ घर पहिरोले आंशिक क्षतिग्रस्त बनाएको छ ।  डुवानमा परेको सबै घर नयाँ बस्तिका रुपमा रहेका छन् । डुवानले म्याग्दीचोकदेखि सुन्दरपुरी टोलसम्मको पूरै बस्ती जोखिममा परेको स्थानीयको भनाई छ ।

केही ठाउँमा खसेको पहिरोसँगै ठाडो खोलामा आएको बाढीले म्याग्दीचोकमा २ घर पूर्णरुपमा क्षति पुगेको छ । वडा सदस्य सुवास भण्डारीका अनुसार लक्ष्मी बिकको पक्की घरको पर्खाल भत्किएको छ । त्यस्तै, हालैमात्र निर्माण सम्पन्न भई सामान सार्दैगरेको अर्को पक्की घर पनि भत्किएको छ । त्यस क्षेत्रको चौरासी नहरको ड्याम फुटेको छ ।

सुइँखेत खोलामा आएको ठूलो बाढीले निकास नपाउँदा फाँटका घरहरु डुबानमा परेका हुन् । घरगोठ र कृषि फर्महरु बाढीले डुबानमा परेका छन् । घरभरि माटोले भरिएको छ । बाढीले बाख्राहरु मरेका छन् । कति क्षति भयो भन्ने विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।

राति ११ बजेतिर भीषण वर्षाका कारण बस्तीमा बाढी छिरेपछि स्थानीय घर छोडेर आफन्त तथा छिमेकीको सुरक्षित ठाउँमा ओत लाग्न गएका थिए । बर्षाको पानीले निकास नपाउँदा सुइँखेत क्षेत्र डुबानमा परेको हो । 

पहिला धानखेत हुने स्थानमा प्लटिङ गरेर घडेरी बनेपछि बर्खाको पानीले निकास नपाएको हो । लगातारको वर्षाले सुइँखेतको चौरासी नहर बढेर बस्तीतर्फ सोझिएको थियो । वरपरका खोल्साबाट बगेर आएको पानी समेतले फाँट डुबाएको छ । 


यस्तो समस्या अब्यबस्थित रुपमा जग्गा विकास गरी प्लटिङ गरेर घडेरी  बनेका धेरैजसो स्थानमा हुनेगरेको छ । पोखराको छोरेपाटन, मालेपाटन, कमलपोखरी, काहुँखोला लगायतका ठाउँमा पानीको राम्रो निकास नभएका कारण वर्षेनी  डुबान हुँदैआएको छ  ।