रेसुङ्गा (गुल्मी), भदौ २ गते । गत फागुनमा मालिका गाउँपालिका–५, छापघर भई कतारमा व्यवसाय गर्दै आउनुभएका युवा उद्यमी झविन्द्र आचार्यको सडक दुर्घटनामा ज्यान गयो । दुर्घटनामा गम्भीर घाइते आचार्यको कतारको हमाद हस्पिटलमा मृत्यु भएको खबरले परिवारसहित गाउँ नै शोकमा डुब्यो । सन् २००७ मा कतार छिरेर गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद्, गुल्मी सेवा समाज कतारलगायतका थुप्रै संस्थामा आबद्ध आचार्य सो परिवारका असल अभिभावकमा गनिन्थे ।
मालिका गाउँपालिका–५ का वडाध्यक्ष रेखाकुमार जिसीले भन्नुभयो, “उहाँको पहलमा चार/पाँच सय बिरामीले उपचारमा सहयोग पाए । उहाँकै अगुवाइमा गाउँमा कैँयन सामाजिक काम भएका छन् तर यो पटक उहाँको मृत्युले परिवारसहित गाउँ नै शोकमा डुबेको छ ।”
रेसुङ्गा नगरपालिका–१२ का अनिल विक पनि रङ्गीन सपना बोकेर बिहे भएको वर्षदिन नपुग्दै घरपरिवारलाई छाडेर परलोकको यात्रा तय गर्न पुगे । २०८१ वैशाखमा युएई उड्नुभएका विकले तीन महिना नहुँदै साउन १० गते दुर्घटनामा परेर ज्यान गुमाउनु प¥यो । श्रीमती सरस्वती विकले परिवारका सपना बोकेर परदेश पस्नुभएका श्रीमान् आँखाअगाडि सेतो बाकसमा देखेपछि मुर्छा पर्नुबाहेकको विकल्प नभएको पीडा सुनाउनुभयो ।
रुरुक्षेत्र गाउँपालिका–४, बलेटक्सारका बालकृष्ण थापा दम्पती युएईमा सँगै काम गर्नुहुन्थ्यो । थापाको पनि २०८१ असारमा सडक दुर्घटनामा ज्यान गयो । बुवा प्रेमबहादुर थापा छोराको मृत्युले आफूहरूसँगै छोराछोरी र श्रीमतीको बिचल्ली बनाएको बताउनुभयो । प्रेमबहादुरले परिवारको खुसी खोज्न श्रीमान्सँगै परदेश पसेकी बुहारी सीताले श्रीमान्लाई आफैँले बाकसमा बोकेर घर आउने अवस्था बनेको विडम्बना सुनाउनुभयो ।
सुरक्षित वैदेशिक रोजगारका लागि आप्रवासान परियोजना (सामी) का गुल्मी जिल्ला कार्यक्रम संयोजक तिलक खनालले वैदेशिक रोजगार बोर्ड र विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीको क्रममा विभिन्न देशमा २२ जना गुल्मेलीको मृत्यु भएको जानकारी दिनुभयो । त्यस्तै १७ जना घाइते तथा बिरामी भएका छन् । त्यसमध्ये रेसुङ्गा नगरपालिकाका मात्रै छ जनाको मृत्यु र पाँच जना घाइते तथा बिरामी भएका छन् । गुल्मेलीहरू वैदेशिक रोजगारीका लागि धेरै मुलुकमा गएका छन् । गत वर्ष गुल्मीका ११ हजार १४८ पुरुष र एक हजार ४१ महिला गरेर १२ हजार १८९ जनाले श्रम स्वीकृत गरेका छन् भने श्रम स्वीकृति नगरेर विभिन्न गैरकानुनी बाटो परदेश पस्नेको सङ्ख्या पनि उल्लेख्य छ । वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार २०६५/६६ देखि अहिलेसम्म २१६ जनाको मृत्यु भएको छ ।
वैधानिक प्रक्रियाबाट परदेश जानेको कुनै घटना वा दुर्घटना भएका विभिन्नखाले सहायता रहेका छन् । मृत्यु भएकालाई सात लाख रुपियाँ बिमाबापतको रकम, छोराछोरीलाई शैक्षिक छात्रवृत्ति, परिवारका सदस्यलाई पाँच प्रकारका गम्भीर रोग लागेकालाई ५० हजार रुपियाँ सहयोग उपलब्ध हुने सामीले जनाएको छ ।
परियोजना संयोजक खनालले गत वर्ष एक करोड ६३ लाख ५० हजार रुपियाँ मृतक र ३५ लाख ३५ हजार रुपियाँ घाइतेको परिवारलाई क्षतिपूर्तिबापतको रकम वितरण भएको बताउनुभयो । जिल्लामा २०७९ सालबाट रेसुङ्गा नगरपालिकामा सामी परियोजना लागु भएको छ । चालु आवबाट मालिका, इस्मा, धुर्कोट, मुसीकोट, कालीगण्डकी, छत्रकोट र चन्द्रकोटमा परियोजना कार्यान्वयन हुँदै छ ।