• २ भदौ २०८२, सोमबार

भ्रष्टाचारभन्दा ठुलो समस्या ढिलासुस्ती : महासचिव पोखरेल

blog

एमाले सुशासन विभागले आयोजना गरेको अन्तरसंवादमा सहभागी नेताहरु ।

गोरखापत्र अनलाइन

काठमाडौं, साउन ३१ गते । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालमा भ्रष्टाचारभन्दा ठुलो समस्या ढिलासुस्ती भएको बताउनुभएको छ । भ्रष्टाचार आफैंमा समस्या भए पनि ढिलासुस्तीले भ्रष्टाचारलाई थप मद्दत गरेको पोखरेलले बताउनुभयो ।

पार्टीको अर्थ तथा योजना विभाग र उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आज केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा महासचिव पोखरेलले ढिलासुस्तीले आर्थिक अनियमित्तालाई प्रश्रय दिएको बताउनुभयो । ‘भ्रष्टाचार त समस्या हुँदै हो, त्योभन्दा ठुलो समस्या ढिलासुस्ती हो’ महासचिव पोखरेलले भन्नुभयो  ‘ढिलासुस्तीले राज्यलाई ठुलो नोक्सानी गरेको छ । त्यसको ज्वलन्त नमुना मेलम्ची खानेपानी आयोजना हो । त्यसै ढिलासुस्तीले भ्रष्टाचारलेभन्दा ठूलो क्षति गरेको छ ।’ मेलम्ची निर्माणमा ढिलाइ गरेको एकजना खलपात्र पूर्व सचिव भीम उपाध्याय नै अहिले  शुसासनको प्रवक्ता हुनु हास्यास्पद भएको पोखरेलको भनाइ छ ।  

ढिलासुस्ती गर्नेलाई इमान्दार मान्ने चलन समाजमा व्याप्त रहेको उहाँले भन्नुभयो । यस्तो कुराले समाजमा ब्यापक निराशा फैलाएको पोखरेलले बताउनुभयो । ‘जसले काम गर्दैन उसलाई इमान्दार मान्ने भ्रमबाट समाज मुक्त हुनु पर्दछ’ पोखरेलले भन्नुभयो  ‘काम नगर्नु भनेको इमान्दार हुनु हो भन्ने भाष्य तोड्नु पर्दछ ।’

ढिलासुस्तीले गर्दा नै नारायणगढ बुटवल सडक खण्डको बेहाल भएको उहाँले बताउनुभयो । 

समयमा काम नगर्ने प्रवृतिका कारण सडकमा दुई पटक वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गर्नुपर्ने अवस्था आएको पोखरेलले जानकारी दिनुभयो । उहाँले प्रशासनिक ढिलासुस्तीका कारण ठेकेदार काम छोडेर हिड्ने अवस्थामा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको उच्चस्तरको कुटनीतिक सम्बन्धका कारण सडक निर्माणले निरन्तरता पाएको पोखरेलले बताउनुभयो । 

पोखरेलले प्रशासनिक ढिलासुस्तीलाई न्यून गर्ने हो भने व्यवस्था र प्रणालीप्रति आमजनता स्वतः सकारात्मक हुने बताउनुभयो । प्रशासनिक संयन्त्रले गरेको ढिलासुस्तीको दोष पनि राजनीतिक संयन्त्रले खेप्नुपर्दा प्रणालीप्रति मानिसहरुको अविश्वास बढेको उहाँले बताउनुभयो ।  ‘सबै कागजपत्र पुगेका कामको निर्णय सात दिनभित्र भइसक्नु पर्दछ’ उहाँले भन्नुभयो  ‘जसले यस्ता कुरामा निर्णय दिन ढिलाइ गर्दछ उसलाई कारबाहीको दायरामा ल्याउनु पर्दछ ।’

कार्यक्रममा एमालेका उपमहासचिव एवं प्रधानमन्त्रीका मूख्य सल्लाहकार विष्णु रिमाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी, संसदको लेखा समितीका सभापति ऋषिकेश पोखरेल लगायतले बोल्नुभएको थियो ।