• २ भदौ २०८२, सोमबार

बुहारीहरू पन्चैबाजा सिक्दै

blog

सत्यवती–२, चेहेमीका दलित बुहारी पन्चैबाजा सिक्दै । तस्बिर : टोपलाल अर्याल

रेसुङ्गा (गुल्मी), साउन ३१ गते । गाउँमा पाका पन्चैबाजा बजाउन जानेका पेउनारायण, रामु र दलबहादुर दर्जी मात्रै हुनुहुन्छ । कतै बाजा बजाउन जान परे समूह नपुगेर अश्लेवाबाट मान्छे बोलाउने अवस्था छ । गाउँका युवा परदेश लागे । पाकाहरू मर्दै र छोड्दै गएपछि बाजा बजाउने गाउँमा छैनन् । जसका कारण गुल्मी सत्यवती गाउँपालिका–२ चेहेमीका परियार बुहारी लगनशील महिला समूह निर्माण गरेर बाजा बजाउन कस्सिएका छन् ।

दैनिक टोलमा सासू, ससुरा र बुहारीको भेला हुन्छ । ससुराले बजाउन सिकाउँछन्, बुहारीले सिकिरहेका छन् । चेहेमीकी टुका परियारका अनुसार दैनिक १४/१५ जना बुहारीले बाजा सिकिरहेका छन् । टुकाका श्रीमान् अजित परियारलाई सबै बाजा बजाउन आउँथ्यो तर बाजाले मात्रै परिवार नचलेपछि अजित मलेसिया जानुभयो । गाउँकै निशा परियारका श्रीमान् सुमन पनि बाजा बजाउन जानेकै युवा हुनुहुन्थ्यो तर बाध्यताले उहाँलाई युएई पु¥यायो ।

कला जातले भन्दा अभ्यासले हुने कुरा हो । अहिले जनजाति र क्षेत्री समुदायले समेत पञ्चैबाजा बजाउन थालेका छन् । विवाह, मेला पर्व र उत्सवमा अझै पनि पञ्चैबाजाको मोह छ तर बाजा बजाउने युवा परदेश र सहर झरेपछि आफूहरूले सिक्न थालेको लगनशील महिला समूहकी अध्यक्षसमेत रहनुभएकी टुका परियारको भनाइ छ । उहाँले श्रीमान् बाध्यताले घर छोड्ने अवस्थाका बिच आफूहरू अधिकांश परियार समुदायकै बुहारी मिलेर बाजा सिक्न थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “अर्थोपार्जनमा पनि टेवा पुग्ने र संस्कृति संरक्षण पनि हुने । सिकेपछि बजाएर हिँड्ने पनि हिम्मत बोकेका छौँ ।”

चेहेमीका ५३ वर्षीय पेउनारायण दर्जीले १२ वर्षको उमेरबाट बाजा बजाउन थाल्नुभएको हो । गुल्मी, पाल्पा र स्याङ्जासमेत पुगेर बाजा बजाएको अनुभव दर्जीसँग छ । दर्जीले अहिले गाउँमा बुहारीले बाजा बजाउन थालेपछि खुसी लागेको बताउनुभयो । उहाँका दुई छोराले नै बाजा बजाउँथे तर उनीहरू बुटवल र भारतमा सिलाइको काम गर्न हिँडे । गाउँमा दुरी हेरेर बाजा बजाएको दैनिक १८ देखि २५ हजार रुपियाँसम्म दिने गरेका छन् । पेउनारायणले कर्नाल र सनाईबाहेक अरू बाजा बजाउन थालिसकेकाले बुहारीबाट आशा जागेको बताउनुभयो ।

संस्कृति संरक्षणतर्फ सत्यवती गाउँपालिकाले दलित तथा जनजाति समुदायलाई बाजा सहयोग गर्दै आएको छ । सत्यवसत गाउँपालिकाका उपाध्यक्ष नीरमाया तरामूले गत वर्ष पञ्चैबाजा र सत्यवती झी : नेवा समाजलाई वाद्यवादनका सामग्री प्रदान गरेको जानकारी दिनुभयो ।   

Author
टोपलाल अर्याल

उहाँ गोरखापत्र दैनिकको गुल्मी जिल्लाका लागि रेसुङ्गा समाचारदाताको रुपमा कार्यरत हुनुहुन्छ ।