रेसुङ्गा (गुल्मी), साउन २९ गते । गुल्मीको इस्मा गाउँपालिका–५, इस्मा रजस्थलमा २०७६ सालमा स्थापना भएको जीवराज आश्रित बहुप्राविधिक शिक्षालय सात वर्षसम्म भौतिक पूर्वाधारविहीन अवस्थामा रहेको छ । स्थापनादेखि नै शिक्षालयले कुमारी आधारभूत विद्यालयको कोठाबाट पठनपाठन सञ्चालन गर्दै आएको छ ।
प्रशासनिक कार्यका लागि मासिक २१ हजार रुपियाँमा स्थानीयको घर भाडामा लिइएको छ । चाँपटारी आसपासमा पक्की घर नहुँदा कक्षाकोठा र प्रशासनिक काम दुवैमा कठिनाइ भएको शिक्षालयका कर्मचारीले बताएका छन् । प्रशिक्षक तथा विद्यार्थीलाई बस्ने कोठा पाउन पनि मुस्किल परेको छ ।
वैकल्पिक स्थान नहुँदा विद्यार्थी महँगो भाडामा कच्ची घर लिन बाध्य छन् । बर्दिया, ठाकुरद्वारा नगरपालिका–९ का विद्यार्थी किरितार्थ उपाध्यायले बजार गर्न र आवश्यक सामग्री किनमेल गर्न १६ किलोमिटर टाढा तम्घास पुग्नुपर्ने बाध्यता रहेको गुनासो गर्नुभयो । उहाँका अनुसार पर्याप्त पूर्वाधार नहुँदा पठनपाठनमा ठुलो असर परेको छ ।
शिक्षालयमा प्रयोगशाला, आवासीय सुविधा र पर्याप्त कक्षाकोठा हुनुपर्ने भए पनि, कुनै पनि विषयका दृष्टिले उपयुक्त नठानिने स्थानमा शिक्षालय स्थापना भएको हो । यद्यपि स्थापना भएको छ वर्षमा गुल्मी, हुम्ला, जुम्ला, कालीकोट, जाजरकोट, सुर्खेत, रुकुम, बझाङ, बाजुरालगायतका जिल्लाबाट आएका विद्यार्थीले कठिन परिस्थितिमा अध्ययन पूरा गरेका छन् ।
इस्मा गाउँपालिका र मन्त्रीपरिषद्को ढिलासुस्तीका कारण ४४ रोपनी जग्गा उपलब्ध हुँदाहुँदै पनि पूर्वाधार निर्माण सुरु हुन सकेको थिएन । हाल गाउँपालिकाले ३० वर्षका लागि शिक्षालयलाई जग्गा भोगाधिकार दिने निर्णय गरिसकेको छ तर जग्गाको क्षेत्रफल टुङ्गो लागिसकेको छैन । शिक्षालय प्रमुख प्रदीपराज पाण्डेले चालु आर्थिक वर्षमा पूर्वाधार निर्माणका लागि तीन करोड रुपियाँ विनियोजन भइसकेकाले डिपिआर तथा भवन निर्माणको तयारी भइरहेको जानकारी दिनुभयो ।
देशभर आवश्यक पर्ने जियोमेटिक्स इन्जिनियरिङ विषयको पढाइ शिक्षालयले सञ्चालन गर्दै आएको छ । पाण्डेले दक्ष जनशक्ति र आवश्यक उपकरणको व्यवस्था गरेर नियमित पठनपाठन भइरहेको दाबी गर्नुभयो । उहाँका अनुसार धेरैले ‘अमिन’ भनेर बुझ्ने यो विषय वास्तवमा डिप्लोमा तहको तीनबर्से जियोमेटिक्स इन्जिनियरिङ हो जसको माग देशभर उच्च छ । यस विषयको डिप्लोमा अध्ययनपछि अमिन वा सर्वेक्षकका पदमा काम गर्न पाउने र स्वरोजगार हुने अवसर पनि हुन्छ ।
निजी कलेजमा यो पाठ्यक्रम अध्ययन गर्दा करिब चार लाख रुपियाँ लाग्ने भए पनि, सरकारी शिक्षालय भएकाले ५७ हजारमै पढाइ भइरहेको छ । गत वर्षदेखि गाउँपालिकाले देशभरका विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गरेको छ ।
इस्मा गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वती कुँवरले शिक्षालयको दिगो विकास तथा विद्यार्थीलाई प्राविधिक शिक्षातर्फ आकर्षित गर्न छात्रवृत्ति पनि दिइँदै आएको बताउनुभयो । गत वर्ष ११ जना विद्यार्थी छात्रवृत्तिमा अध्ययनरत थिए भने यस वर्ष १४ जना नयाँ विद्यार्थी भर्ना भइसकेका छन् ।