• २ भदौ २०८२, सोमबार

देशभर मौसम सक्रिय, भारी वर्षाबाट सचेत रहन आग्रह

blog

जिल्ला प्रशासन कार्यालय गुल्मी

रेसुङ्गा, साउन २९ गते । जिल्ला प्रशासन कार्यालय गुल्मीले भारी वर्षाबाट हुनसक्ने क्षति बारे सचेत रहन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले सार्वजनिक सूचना जारी गर्दै मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिनदेखि देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । 

बुधबार बिहानबाट गुल्मी जिल्लाभर निरन्तर रुपमा वर्षा भइरहेकोले अत्यावश्यक काममा बाहेक यात्रा नगर्न, खोला किनारमा दाउरा निकाल्ने र माछा मार्न जाने जस्ता क्रियाकलाप नगर्न सूचना जारी गरिएको कोइरालाले बताउनुभयो । वर्षाका समयमा हुन सक्ने बाढी पहिरो र खोला कटान लगायतका विपत्का घटनाहरु घट्ने जोखिम हुन सक्ने भएकाले सम्भावित जोखिमयुक्त ठाउँहरुमा बसोवास गर्ने नागरिकहरुलाई कुनै घटना हुन सक्ने अवस्था देखिए तत्काल खबर गर्न सूचनामा भनिएको छ ।

अविरल वर्षाको कारण कालिगण्डकी करिडोर र रुद्रवेणी–वामी सडक दुई दिनदेखि अवरुद्ध भएका छन् । कालिगण्डकी गाउँपालिका–२ को राक्सेमा पहिरो गएर र रुद्रवेणी–वामी सडकको सत्यवती गाउँपालिका–६ को डहरेमा खोलाको सतह बढेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायव उपरीक्षक गंगा बहादुर सारुले जानकारी दिनुभयो । पहिरोका कारण अवरुद्ध मुसिकोट नगरपालिका–४ को इन्द्रेगौडा तम्घास सडक भने सञ्चालनमा आएको सारुले बताउनुभयो । गुल्मेलीले जिल्लाका मुख्य सडक पटक–पटक अवरुद्ध हुँदा धेरै पटक सास्ती खेप्नु परेको छ । 

गुल्मी जिल्ला विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ अनुसार जिल्लाका दुई सय भन्दा बढि ठाउँमा बाढी र पहिरोको जोखिममा रहेका छन् । अहिलेको वर्षातमा २२ हजार नागरिक प्रभावित हुने अनुमान गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो । मुसिकोट नगरपालिकामा १० स्थानमा बाढी र १६ स्थानमा पहिरोको जोखिममा रहेका छन् । मुसिकोटको समुन्द्रे, कालिरह लगायत बडिगाड नदि किनार बाढीको जोखिममा छन् । भने सिम्ले, तोलादी, दजाकोट लगायतका स्थानमा पहिरोको जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । 

वि सं २०६४ र २०८१ मा गरेर मुसिकोटमा पहिरोबाट १० जनाले ज्यान गुमाएका छन् । मालिकाका नौ स्थान बाढीको जोखिममा छन् । भने सवै वडा पहिरोको जोखिममा छन् । ती मध्येपनि १८ स्थानलाई विशेष क्षेत्रको रुपमा राखिएको छ । मालिकाका छल्दीखोला, घमिर खोला, निस्ती र दुनाम खोला किनार बाढीको जोखिममा छन् । भने नेटा, म्याला, जुकेना र आठमिरे लगायतका स्थान पहिरोको उच्च जोखिममा रहेका छन् । 

गत वर्ष पहिरोले मालिकामा एकै परिवारका पाँच जनाको ज्यान गएको थियो । विभिन्न वडामा करिव एक सय घर परिवार विस्थापित भएका थिए । सत्यवती गाउँपालिकामा मुख्य नौ स्थानमा बाढी र पहिरोको जोखिममा रहेका छन् । 

बाढीबाट बडिगाड क्षेत्रका उल्लीखोला, शाहाघाट, रुद्रवेणी र लुम्दिखोला प्रभावित क्षेत्र हुन् । ठुलोलुम्पेक, चेहेमी, लिम्घा, हँसरा र अस्लेवा पहिरोको जोखिममा रहेका छन् । सत्यवती गाउँपालिकामा २०७६ सालमा पहिरोबाट १३ जनाको ज्यान गएको थियो । तत्कालिन समयमा तीन सय बढि परिवार विस्थापित भएका थिए । छत्रकोट गाउँपालिकाका १४ स्थानमा बाढी र २५ स्थानमा पहिरो, इस्माका सात स्थानमा बाढी र १० स्थानमा पहिरो, चन्द्रकोटका पाँच स्थान बाढी र १० स्थानमा पहिरो तथा मदानेका ३० स्थान पहिरोको जोखिममा रहेका छन् ।

गुल्मीको मजुवामा विपत् उद्धारको लागि सशस्त्र प्रहरीको वेश स्थापना गरिएको छ । बर्सात सुरु भएसंगै हुनेसक्ने बाढी र पहिरोमा तत्काल उद्धार गर्ने उदेश्यले चन्द्रकोट गाउँपालिका–८ मजुवाको मानका टीकाराम बहुमुखी क्याम्पसमा वेश स्थापना गरिएको हो । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सशस्त्र प्रहरी वल नेपाल प्रधान कार्यालयको निर्देशनमा सशस्त्र प्रहरी वल ३७ नं गुल्म, गुल्मीद्वारा मनसुन प्रतिकार्य वेश स्थापना गरिएको हो ।

अहिले सशस्त्र प्रहरी नायव निरीक्षक टोपबहादुर कुमालको कमाण्डमा २० जनाको टोली वेशमा खटिएको सशस्त्र प्रहरी वल ३७ नं गुल्म, गुल्मीका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक सुदिप प्रसाईले जानकारी दिनुभयो । 

सदरमुकामबाट टाढा रहेको क्षेत्र नं १ का वस्तीहरुमा हुने विपत्लाई केन्द्रमा राखेर वेश स्थापना गरिएको हो । बडिगाड खोलाले खेत कटान गर्दै आएको छ । भने झेदी, भुवाचिदी, सोता, मजुवा, उल्लीखोला, चोरकाटे, खैरेनी लगायतका बजारहरु डुबानको जोखिममा छन् । भने दुई जिल्ला जोड्ने रिडी–रुद्रवेणी–वामी मुख्य सडकखण्डसहित शाखा सडकहरु पहिरोका कारण अवरुद्ध हुने गरेका छन् । पहिरोको उच्च जोखिममा रहेका मुसिकोट, गुल्मीदरवार, छत्रकोट, रुरु, सत्यवती, चन्द्रकोट लगायतका बडिगाड खोला किनारमा तत्काल उद्धारको लागि सशस्त्रको वेश उपयुक्त देखिएको सशस्त्र प्रहरी नायव उपरीक्षक प्रसाईले बताउनुभयो । 

Author
टोपलाल अर्याल

उहाँ गोरखापत्र दैनिकको गुल्मी जिल्लाका लागि रेसुङ्गा समाचारदाताको रुपमा कार्यरत हुनुहुन्छ ।