रेसुङ्गा (गुल्मी), साउन २९ गते । गुल्मीको सत्यवती गाउँपालिका–८, भार्से अर्थात् लाहुरे गाउँ प्राकृतिक, सांस्कृतिक र पर्यटकीय हिसाबले मात्रै नभएर ऐतिहासिक रूपले समेत महत्वपूर्ण छ । भार्सेबाट प्रथम र दोस्रो विश्वयुद्ध लड्नेहरूको फोटो र इतिहासको लागि भूपू गोर्खा ग्यालरी तथा भार्सेबाट गोर्खा, भारत र नेपाली लाहुरेसहित सामाजिक अगुवासमेतको भार्से ग्यालरी निर्माण गरिएपछि यो गाउँको महत्व झन् चुलिएको छ ।
हालसम्मको अध्ययन तथा खोजीबाट प्रथम विश्वयुद्ध लड्ने ८४ जना र दोस्रो विश्वयुद्ध लड्ने १७८ जना भार्से गाउँका लाहुरे थिए । भूपू गोर्खा ग्यालरीमा पहिलो र दोस्रो विश्वयुद्ध लडेका अहिलेसम्म ३४ जना दिवङ्गत व्यक्तिहरूको तस्बिर र सङ्क्षिप्त विवरण राखिएको छ । भार्सेका अगुवा नरबहादुर बुढाथोकीका अनुसार जसमा विश्वमै कम उमेर र नेपालबाट पहिलो भिक्टोरिया क्रस पाउने कर्णबहादुर रानादेखि भारतीय सेनामा नेपालबाट पहिलो कर्णेल श्रीप्रसाद बुढाथोकी तथा श्रीप्रसादकै बुवा गिरिप्रसाद बुढाथोकीको तस्बिर राखिएको छ । गिरि र श्रीप्रसाद बुढाथोकी बाबुछोरा नै नेपालका पूर्वमन्त्रीहरू हुनुहुन्छ । उहाँहरू बाबुछोरा एउटै पल्टनबाट विश्वयुद्ध लड्नुभएको थियो । लेफ्टिनेन्ट कुलबहादुर बुढाथोकीका बुवा मोतीबहादुर बुढाथोकी पनि विश्वयुद्ध लडेकाले आफ्नो बुवासहित भार्सेली पुर्खा, इतिहास र पहिचानका लागि ग्यालरी स्थापना गरिएको हो । भार्सेमा जन्मिएर अहिले हङकङमा रहनुभएका लेफ्टिनेन्ट कुलबहादुर बुढाथोकीले आफ्नै अगुवाइमा भार्से भूपू गोर्खा र भार्से ग्यालरी स्थापना गर्नुभएको छ ।
बुढाथोकी एक्लैले ग्यालरीका लागि करिब ५७ लाख रुपियाँ लगानी गर्नुभएको छ । उहाँले भन्नुभयो, “स्वदेश तथा परदेशमा भार्सेलीको गर्विलो इतिहास भए पनि भार्सेको गरिमा जोगाउन सकिएन । त्यसैले मैले इतिहास जोगाउने प्रत्यन गरेको हुँ ।” भार्से ग्यालरीमा भार्सेली भारतीय, ब्रिटिस, नेपाली सेना, प्रहरी, राष्ट्रसेवक कर्मचारीको फोटो राखिएको छ । नेपाल प्रहरीका डिआइजी नीरज पुन तथा नेपाली सेनाका मेजर जनरल नरबहादुर बुढाथोकीलगायत ६८४ मध्ये करिब चार सय जनाको फोटो राखिएको छ । भार्सेका अगुवा नरबहादुर बुढाथोकीले ग्यालरीमा मूर्तिकार यमबहादुर थापाले निर्माण गरेको १९ वर्षकै उमेरमा बेलायतको भिक्टोरिया क्रस पाउने कर्णबहादुर रानाको सालिक राख्ने अन्तिम तयारी रहेको बताउनुभयो । भार्से ग्यालरीमा लाहुरेबाहेक मुखिया, लामा, निजामती कर्मचारी, डाक्टरलगायतको तस्बिर पनि राखिएको छ । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय गुल्मीका प्रमुख तथा अजिरकोट गाउँपालिका–२, गोरखाका भरत सापकोटले भार्से वास्तवमै अध्ययन केन्द्र रहेको बताउनुभयो ।
भार्सेलीले पर्यटन प्रवर्धनमा टेवा पु¥याउने उद्देश्यले साढे दुई करोडको लागतमा बौद्ध स्तूप निर्माण गरेका छन् । बौद्ध स्तूप निर्माणको परिकल्पनाकारसमेत रहनुभएका लेफ्टिनेन्ट कुलबहादुर बुढाथोकीको एक करोड १५ लाख सहयोग र भार्सेली समाज हङकङसहित, भार्से समाज युके, भार्सेली समाज तराई क्षेत्र, भार्सेली समाज काठमाडौँ र छिमेकी गाउँका प्रवासी गरेर आठ सयले आर्थिक सहयोग गरेका छन् । स्तूप र ‘फन पार्क’ ले आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बन्दै गएको छ ।
जिल्लाका पुरानामध्येको रानीवन होमस्टे अहिले पाहुनाले कहिल्यै खाली हुँदैन । स्थानीय परिकारको स्वादसँगै सोरठी र कृष्ण चरित्रको सांस्कृतिक प्रस्तुतिले सबैलाई लोभ्याउँछ । भार्सेमा तामाखानीसमेत छ । स्थानीय ७२ वर्षीय मनबहादुर श्रीसले भार्सेमा १०/१२ पुस्ताअघिका संरचना र संस्कृति अझै जीवित रहेको बताउनुभयो ।