• २३ साउन २०८२, शुक्रबार

चार दशकदेखि डहरेको डरैडर

blog

डहरेखोलामा निर्माणाधीन पुल । तस्बिर : टोपलाल अर्याल

रेसुङ्गा (गुल्मी), साउन २३ गते । गत मङ्गलबार सत्यवती गाउँपालिका–६ को डहरेखोलामा पानी पनि कम थियो । स्थानीय पत्रकार घनश्याम गौतम सवारीसाधनसहित खोलामा पुग्दै गर्दा खोलाको पानी बढ्यो र  खोलामा कार फस्यो । माथिबाट लेदो बढ्न सुरु भएपछि  गाडी छोडेर भाग्नुको विकल्प रहेन । अन्ततः डहरेले गौतमका सवारीसाधन बगाएर बडीगाड नदीमा मिसायो । 

त्यो घटना सम्झँदै उहाँले भन्नुभयो, “गाडी फसेपछि खोला बढ्दै गयो, मैले गाडीबाट हामफालेर ज्यान बचाएँ । धेरै तलसम्म गाडी बगाएर लग्यो । बल्लतल्ल निकालियो ।” चन्द्रकोट गाउँपालिका–४, शान्तिपुर घरबाट बुटवल हिँड्नु भएका गौतमको कार डहरेले बगाएको हो । डहरेले गाडी बगाएको यो घटना पहिलो भने होइन । स्थानीयका अनुसार डहरेमा पहिरो खस्न थालेको २०३२ सालबाटै हो । रिडी–रुद्रवेणी–वामीटक्सार सडक विस्तार भएको पनि २०३५ सालमा हो तर स्थानीयका सास्ती ४७ वर्षसम्म उस्ताको उस्तै छ ।

डहरेले २०७९ कात्तिक १ गते मुसीकोट नगरपालिका– ६, भुवाचिदीका नरबहादुर गुरुङको लु. १ ज ३४३२ नम्बरको जिप पनि बगाएको थियो । डहरेखोलामै पहिरोसहितको बाढीले बुटवलदेखि बागलुङको हटियातर्फ जाँदै गरेको मालवाहक लु. १ ख ७४०६ नम्बरको ट्रक पनि बगेको थियो । 

यो क्षेत्रबाट प्रतिनिधित्व गर्ने नेकपा (एमाले) उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा. चन्द्र भण्डारीलाई डहरेको पीडा थाहा भए पनि खासै चासो नदेखाएको सत्यवती गाउँपालिका–३ का वडाध्यक्ष जितबहादुर तरामुले गुनासो व्यक्त गर्नुभयो ।

रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्डका चार पुल प्याकेजमा निर्माण हुँदै छन् । डहरेसहित नादेवा, भार्से र गिदीखोलामा २२ करोडमा एकमुष्ट ठेक्का लागेको थियो । ती पुल अझै बन्न सकेका छैनन् । समग्रमा ५८ प्रतिशत काम भएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । 

सबैभन्दा जोखिम भएको डहरेखोलाको पुलको काम ८४ प्रतिशत भएको छ । बर्खाअगावै काम सक्ने गरेर चैतमा ढलान भए पनि पैसाका कारण काम गर्न नसकिएको ठेकेदार कम्पनी राजेश्वरी निर्माण सेवाका भागवत गिरीले बताउनुभयो । सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी इन्जिनियर दुर्गा गौतमका अनुसार मूल ठेक्कामा निर्माण व्यवसायीले करिब १३ करोड रुपियाँको काम गरे पनि छ करोड रुपियाँ मात्र भुक्तानी भएको छ । 

चालु आर्थिक वर्षमा छ करोड रुपियाँ बजेट विनियोजन भएको छ तर कार्यालयले निर्माण व्यवसायीलाई गत आवकै सात करोड रुपियाँ बुझाउनुपर्ने छ । पुरानै एक करोड भुक्तानी बाँकी राखेर नौ करोडको योजनाको काम गराउन कार्यालयलाई ठुलो चुनौती देखिएकाले अर्थ मन्त्रालयमा सहजीकरणको प्रयास भइरहेको इन्जिनियर गौतमले बताउनुभयो । 

उहाँका अनुसार नादेवा र भार्सेखोलामा पुलका दुवै पिल्लरको काम सकिएको छ भने गिदीखोलामा करिब १५ प्रतिशत मात्रै काम भएको छ ।  

Author
टोपलाल अर्याल

उहाँ गोरखापत्र दैनिकको गुल्मी जिल्लाका लागि रेसुङ्गा समाचारदाताको रुपमा कार्यरत हुनुहुन्छ ।