• २२ साउन २०८२, बिहिबार

घरसँगै चर्किएको मन

blog

धुर्कोट गाउँपालिका–४, जैसीथोककी ७९ वर्षीया हरिकला विकको घर । तस्बिर : टोपलाल अर्याल

रेसुङ्गा साउन २२ गते । चर्केको घरले झरी ओत्दैन । टालटुलले पनि थेग्न छोडेपछि पानी परे घरभित्रै भल बग्छन् । ७९ वर्षको उमेरसम्म हरिकला विकले पनि कैंयन पीडा थेग्नुभयो । अचेल हरिकला र उहाँको परिवार पीडा खप्नै नसक्ने भएको छ । घर चर्किने र मन चर्किने कुरा धेरै फरक रहेछन् । ‘दुःखीको घरमा मात्रै तेरो बास हुने भए हे ईश्वर दैव अझै मलाई दया राखी मलाई अझ दुःख दे ! साहित्यकार बालकृष्ण समले भने जस्तै हरिकलाको परिवारले पीडामाथि पीडा खेप्दै आएको छ । 

आँसु ओभाएका छैनन् !

परिवारमा कसैका आँखाका आँसु ओभाएका छैनन् । गत साउन १३ गते कक्षा ५ मा पढ्दै गरेका १० वर्षीय छोरा अनमोल विक गोठमा मृत भेटिए । परिवारले खोज्दै जाँदा अनमोलले प्लाष्टिकको पासोमा जीवन गुमाएका थिए । सानो बच्चा त्यस्ताे गर्न सक्ला र परिवारमा कल्पनाभन्दा बाहिरको कुरा थियो । बिहान आमासँग गोठको काममा सघाएका अनमोल कतिबेला गोठ छिरेर पासो लगाए आमालाई पत्तो भएन । ७९ वर्षीया हजुरआमा हरिकला विकले भन्नुभयो,“छोरा खोज्न खेल मैदानतिर गएँ तर गोठमा जाँदा अवस्था देखेर रिङ्गटा छुट्यो । उचाल्दा शरिरमा तातो थिएन ।”

माइलो भारतमा मरे, जेठो छोरा खोलामा डुबे, १३ दिनमै आमाको मृत्यु !

हरिकलाको परिवारमा चोटका गणना छैन्, भोग्नेलाई झन कस्तो होला । उहाँका अनुसार  केही वर्ष पहिले मावली गएका जेठो नातिको निस्ती खोलामा डुबेर ज्यान गयो । माइलो छोराको पीडामाथि जेठो छोरा खोलामा डुबेको घटना सहन आमा कमला विकलाई कुनै सामर्थ्य प्राप्त भएन । जसका कारण जेठो छोरा बितेकै १३ दिनकै दिन हृदयघातको कारण कमलाको पनि मृत्यु भयो । छोरा रामुले गीता विकलाई दोस्रो विवाह गरेर ल्याउनुभयो । गीतातिरका छोरा अनमोलको पनि केहि दिनअघि मृत्यु भयो । 

घरमा भएका छोरा पनि बिरामी

अहिले घरमा जेठीपट्टीका बिरामी सुरज विक र कान्छीतिरकी ६ वर्षीया छोरी रहेकी छिन् । बिरामी छोरा सुरजलाई भारतमा उपचारपछि घर छोडेर फर्किनु भएका रामु विक अनमोलको मृत्युको खबरले १८ दिनमै फर्किनुपर्‍याे । अहिले रामु आफु किरियामा हुनुहुन्छ । जीवनभर मजदुरी गरेर कमाएको कमाई घरमा किरिया उम्काउन पनि नपुग्ने स्थिती रामुको बन्यो । बुढो घर र बुढी आमासँगै बिरामी छोराको उपचार रामुको चुनौति हो ।

पीडाले विक्षिप्त श्रीमती गीतासहित अब कसरी जीवन कटाउने भन्ने रामुसँग समस्याको ठुलो पहाड आइलागेको छ । गाउँमा बाँदर लाग्ने रुखो बारी छ । जोगाउन सके तीन महिनालाई पुग्ने अन्न फल्छ । कसैले मेरो घरमा परेको घाउमा मलहम बनेर सहयोग गरिदिए धेरै आभारी हुने थिए । 

Author
टोपलाल अर्याल

उहाँ गोरखापत्र दैनिकको गुल्मी जिल्लाका लागि रेसुङ्गा समाचारदाताको रुपमा कार्यरत हुनुहुन्छ । 

लेखक बाट थप