चन्द्र पन्दाक
ताप्लेजुङ, साउन १४ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले आफ्नो पालिकाको गौरवका योजना छनोट गरेको छ । गाउँपालिकाले विभिन्न १४ वटा योजनाको नाम सूचिकृत गर्दै पालिकाको गौरवका योजना छनोट गरेको हो ।
चालु नयाँ आर्थिक वर्षका लागि पारित नीति कार्यक्रममै १४ वटा योजनालाई गाउँपालिकाले गौरवको योजनाका रुपमा सूचिकृत गरेको छ । गाउँपालिकाले छनोट गरेको गौरवका योजनामा वडा १ खोक्लिङको हान्द्रदुङदेखि डाँडागाउँ–लिबाङ–साँवा हुँदै वडा ५ पापुङ जोड्ने सडक कालोपत्रे गर्ने, निर्माणाधीन प्रशासकीय भवनलाई सम्पन्न गर्ने रहेको छ ।
यस्तै वैकल्पिक ऊर्जा प्रवद्र्धन कार्यक्रम, पाँच शøयाको अस्पताल, पापुङमा बर्थिङ सेन्टर (प्रसूति केन्द्र) स्थापना गर्ने, खोक्लिङको ओझागाउँ आधारभूत विद्यालयको भवन निर्माण, वडा १ को कार्यालय भवन निर्माणलाई गौरवको योजनामा राखिएको छ । गाउँपालिकाको गौरवको योजनाअन्तर्गत नै शेर्पा आधारभूत विद्यालयको भवन निर्माण, सिंहेश्वरी आधारभूत विद्यालय, बेसीगाउँ आधारभूत विद्यालय र साँवा माध्यमिक विद्यालयको भवन निर्माण रहेको छ ।
यसैगरी, साङ्गे छ्योलिङ गुम्बा निर्माण, सगरमाथा आधारभूत विद्यालयको भवन निर्माण, युवा खेल मैदान निर्माण र दुगुर्ने थुम्बा पुलदेखि बेसीगाउँ आधारभूत विद्यालय, २ नम्बर वडा कार्यालय–वैराखु आविदेखि दुरिङ, होवोक काँडे जोड्ने सडक स्तरोन्नति पनि पालिकाले गौरवको योजनामा राखिएको छ । गौरवको योजनाका रुपमा सूचिकृत उक्त योजनाहरुलाई मुख्य प्राथमितामा राखेर कार्यान्वयन गरिने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीका अनुसार गौरवको योजनाका रुपमा छनोट भएका योजना कार्यान्वयनका लागि बजेट तथा स्रोत सुनिश्चित गर्न पालिकाले मध्यकालीन खर्च संरचना (एमटिइएफ) को अवधारण अघि सारेको छ । पालिकाले गौरवका योजना एवम् ठुला परियोजना सञ्चालन गर्दा वातावरणीय प्रभाव अध्ययन सर्वेक्षणलाई अनिवार्य गर्ने भएको पनि अध्यक्ष कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार छनोट भएका गौरवका योजना कार्यान्वयनलाई वर्तमान कार्यकालमै पूरा गर्ने लक्ष्य राखिएको छ ।