अमेरिकामा बनेका अत्याधुनिक लडाकु जेटहरू प्रयोग गरिरहेको इजरायललाई आफ्नो आकाशमा रोक्न सक्ने सामथ्र्य इरानसँग नभएको प्रतीत हुन्छ । इजरायलले जहाँ मन लाग्यो त्यहीँ प्रहार गर्यो । रातमा मात्रै नभएर दिनकै उज्यालोमा पनि बम प्रहार गरेको थियो ।
इरानको परमाणु कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि भनिँदै आए पनि त्यसलाई अमेरिका र इजरायलले विश्वास नगरेपछि इरानसँग १२ दिने युद्ध भयो । इजरायल र इरानबीच युद्ध सुरु भएको १० औँ दिनमा अमेरिकाले इरानका तीन वटा परमाणु केन्द्रमा ‘बङ्कर बस्टर’ बम प्रहार गर्दै युद्धमा होमियो ।
अमेरिका र इजरायल एकातिर अनि अर्कोतिर इरानबीच जारी युद्ध तत्काल अन्त्य हुने सम्भावना कम बन्दै थियो । आत्मसमर्पण गर्न इरानले मानेको थिएन । अमेरिका युद्धमा होमिएको भोलिपल्ट इरानले जुक्तिबुद्धि लगाएर कतारस्थित अमेरिकी सैन्य अखडामा आक्रमण गर्यो । यो आक्रमणबाट अमेरिका झस्कियो । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले एकाएक युद्धविरामको प्रस्ताव गरे । इरान र इजरायल दुवै युद्धविरामका लागि सहमत भएसँगै युद्ध सुरु भएको १२ औँ दिनमा युद्ध अन्त्य भयो ।
मूलतः इरानलाई उसको कथित परमाणु कार्यक्रम गलपासो बन्यो । यही निहुँमा इजरायल र अमेरिकाको संयुक्त आक्रमणले इस्लामिक इरानी सत्ता नै डगमगाउने अवस्थामा पुग्यो । ४५ वर्षदेखिको इरानी सत्ता परिवर्तन गर्न र इरानको परमाणु कार्यक्रम सदाका लागि बन्द गराउन सके मात्र यो युद्धमा अमेरिका र इजरायलको विजय हुने ठानिएको थियो तर त्यसो भएन । युद्ध फैलिने र अमेरिकी सेना असुरक्षित हुने ठानेर ट्रम्पले युद्धविरामको प्रस्ताव गरे । इरान पनि युद्ध लम्ब्याउने पक्षमा थिएन । युद्धविराम भयो, तत्काललाई ठूलो युद्धको जोखिम टर्यो ।
छद्म युद्ध गर्दै आएका दुई प्रतिद्वन्द्वी इजरायल र इरान जुन १३ देखि प्रत्यक्ष युद्धमा होमिए । इजरायलले एक्कासि इरानविरुद्ध भीषण आक्रमण गरी उच्च सैन्य नेतृत्व र परमाणु वैज्ञानिकको हत्या गर्नुका साथै परमाणु केन्द्रमा क्षति पुर्याएसँगै इरान प्रत्याक्रमणमा उत्रियो । दुवै देशले एकअर्काविरुद्ध आक्रमणलाई तीव्र बनाए । अत्याधुनिक हातहतियार र प्रविधिका हिसाबले इरानभन्दा इजरायल बलियो भएकाले बढी क्षति इरानतर्फ भयो । १२ दिने युद्धमा इरानले सन् १९८० देखि सन् १९८८ सम्म इराकसँगको युद्धमा भएजति क्षति बेहोरेको अनुमान छ ।
तैपनि इरानी नेतृत्व आत्मसमर्पण गर्ने पक्षमा थिएन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई बिनाशर्त आत्मसमर्पण गरी परमाणु कार्यक्रम बन्द गर्न दुई साताको समय दिए पनि हतार गरेर दुई दिनपछि असार ८ गते इरानका तीन वटा परमाणु केन्द्रमा बङ्करभेदी बम प्रहार गर्दै अमेरिका युद्धमा होमियो । उनले इरानलाई आत्मसमर्पण गर्न फेरि पनि चेतावनी दिए । इरानका सर्वोच्च नेता अयोतोल्लाह अली खुमेनीले अमेरिका र इजरायलसामु कहिल्यै पनि आत्मसमर्पण नगर्ने अडान लिए । आफूलाई इजरायलले कुनै पनि बेला मार्न सक्ने सम्भावना बढेपछि उनी बङ्करमा बसे ।
चीन र रुसले यस युद्धमा सामेल नहुन अमेरिकालाई आग्रह गर्दागर्दै पनि इजरायलको आग्रहमा अमेरिका युद्धमा सामेल भयो । महाशक्तिशाली अमेरिका र इजरायलसँग इरानले युद्ध लम्ब्याउनु भनेकै आफूलाई हदैसम्म कमजोर बनाउनु थियो । युद्धबाटै छिनोफानो गर्ने पक्षमा इजरायल र अमेरिका थिए ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका अनुसार इरानको विवादास्पद परमाणु कार्यक्रम नै इजरायलको सुरक्षामा मुख्य चुनौती छ । यो कार्यक्रम समाप्त नगरेसम्म इजरायल सुरक्षित नहुने उनको भनाइ छ । इरानको परमाणु कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि भनिए पनि अन्ततः परमाणु हतियार बनाउने उद्देश्य त्यसमा निहित रहेको दाबी इजरायल र पश्चिमा देशहरूको छ । इजरायल इरानका परमाणु केन्द्रहरू नष्ट गर्नका लागि आक्रमण गरिएको कुरामा अडिग छ । क्यानडामा सम्पन्न जी–सातको शिखर सम्मेलनले पनि इरानका कारण मध्यपूर्व असुरक्षित भएको दाबी गर्दै इजरायलले सुरु गरेको सैन्य कारबाहीप्रति समर्थन जनाएको थियो ।
गत अक्टोबरको आक्रमणमा इजरायलले इरानका धेरै हवाई सुरक्षा प्रणाली ध्वस्त पारेको थियो । अहिले पनि पहिलो हमला इरानको हवाई सुरक्षा प्रणालीमै गरिएको छ । अमेरिकामा बनेका अत्याधुनिक लडाकु जेटहरू प्रयोग गरिरहेको इजरायललाई आफ्नो आकाशमा रोक्न सक्ने सामथ्र्य इरानसँग नभएको प्रतीत हुन्छ । इजरायलले जहाँ मन लाग्यो त्यहीँ प्रहार गर्यो । रातमा मात्रै नभएर दिनकै उज्यालोमा पनि बम प्रहार गरेको थियो ।
इजरायलले पहिलो दिनमै इरानी सेनाको चेन–अफ–कमान्ड तोड्न इरानी सेना प्रमुख, उपप्रमुख, इस्लामिक रिभोलुसनरी गार्ड कोरका (आइआरजिसी) प्रमुखलगायत वरिष्ठ जनरलहरूको हत्या गरेको थियो । तिनको ठाउँमा नयाँ नियुक्त भएका जनरलहरूको पनि हत्या गरिरहेको छ । त्यस्तै इरानको परमाणु कार्यक्रममा संलग्न धेरै वैज्ञानिक र विज्ञको समेत हत्या गरिएको छ ।
उता इरानले प्रहार गरेका धेरैजसो क्षेप्यास्त्रलाई इजरायली हवाई सुरक्षा प्रणालीले खसालेर ठूलो जनधनको क्षति रोकेको छ । केही क्षेप्यास्त्र खसाल्न नसके पनि इजरायलमा लगभग सबै जनताका लागि लुक्न मिल्ने निजी र सार्वजनिक बङ्कर बनाइएको छ । जसले गर्दा त्यहाँ धेरै ठूलो मानवीय क्षति भएन ।
विगत दुई महिनादेखि अमेरिका र इरानबीच विभिन्न चरणमा वार्ता भइरहेको थियो तर इजरायलले एक्कासि आक्रमण गरेसँगै वार्ता पनि भाँडियो । इरानी नेतृत्वले आत्मसमर्पण नगर्ने जिकिर गरे पनि बाह्य सहयोगबिना एक्लै युद्ध लम्ब्याइरहन सक्ने अवस्था भने कमजोर थियो । उसलाई सहयोग गर्ने हमास, हुथी र हेजबुल्लाह जस्ता विद्रोही समूहलाई इजरायलले तहसनहस पारिदिएको छ । यस्तो अवस्थामा लामो समय युद्ध लम्ब्याउनु इरानको हितमा थिएन ।
गत डिसेम्बरमा सिरियामा बसर अल–असदको सत्ता ढलेपछि मध्यपूर्वमा आफ्नो प्रभाव भएको अर्को देशमा पनि सत्ता परिवर्तन नहोस् भनेर रुसले यो युद्ध रोक्न लगातार ट्रम्प सरकारसँग पहल गरेको थियो । तथापि युक्रेनसित तीन वर्षदेखि युद्ध गरिरहेको रुस पनि इरानलाई आवश्यक सहयोग गर्न सक्ने अवस्थामा छैन । यस्तो अवस्थामा इरानलाई ठूलो बाह्य सहयोग मिलिहाल्ने सम्भावना कम देखिन्छ । अर्कोतिर इजरायलले इरानका कुनै पनि नेतालाई आक्रमणको निसाना बनाउन सक्ने क्षमता राख्छ ।
इरानले लामो समयदेखि सञ्चालित आफ्नो परमाणु कार्यक्रम परमाणु हतियार बनाउन नभएर शान्तिपूर्ण उद्देश्यका लागि हो भन्दै आएको छ तर इजरायल, अमेरिकालगायत पश्चिमा राष्ट्र इरानको यस कुरामा विश्वस्त छैनन् । इरानले परमाणु हतियार नै बनाउन खोजेको भन्दै त्यसलाई रोक्ने कोसिस उनीहरूले गर्दै आएका छन् ।
इरानले परमाणु हतियार बनाउन थालेको भरपर्दो प्रमाण भएको इजरायलको दाबी छ । इरानलाई हराउने मात्र होइन उसको परमाणु कार्यक्रम सदाका लागि समाप्त पार्ने र सत्ता परिवर्तन गराई उदारवादीको हातमा सत्ता सुम्पनेसम्मको तयारी इजरायलले गरेको अनुमान लगाउन सकिन्छ ।
इरानले परमाणु हतियार बनाए आफूमाथि आक्रमण गर्ने वा अतिवादीलाई त्यस्ता हतियार उपलब्ध गराएर ठूलो खतरा उत्पन्न गर्ने ठम्याइ इजरायलको छ । अहिले कमजोर भएको बेलामा कडा सर्त माने पनि विस्तारै शक्ति सञ्चय गरेर इरानले फेरि परमाणु हतियार विकास कार्यक्रम अघि बढाउँछ भन्ने डर इजरायललाई छ । त्यसैले भरसक युद्धबाटै इरानका परमाणु केन्द्रहरू ध्वस्त पार्न र सदाका लागि परमाणु हतियार विकास कार्यक्रम रोक्नुपर्ने मान्यतामा रहेका इजरायलका प्रधानमन्त्री नेतन्याहुले त्यसका लागि अमेरिकालाई मनाएको विश्वास गर्न सकिन्छ ।
इजरायल एक्लैले इरानका सबै परमाणु केन्द्रहरू नष्ट गर्न नसक्ने भएकाले युद्धमा अमेरिकालाई इजरायलले सहभागी गराउन चाह्यो र अमेरिका आफ्नै किसिमले सहभागी भयो पनि । अमेरिका युद्धमा होमिएको दुई दिनमै युद्धविराम भयो । युद्धविरामसँगै मध्यपूर्व ठूलो युद्धबाट जोगियो ।
–युवामञ्च