दमक समाचारदाता
दमक, साउन १४ गते । कृषि उपजका रूपमा रहेको लसुन पूर्वी नाका मेची भन्सार हुँदै ठुलो परिमाणमा नेपाल भित्रेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्क अनुसार १० करोड २१ लाख १९ हजार ६२० किलोग्राम लसुन नेपाल भित्रेको छ ।
भन्सार मूल्याङ्कन अनुसार एक अर्ब ३० करोड ३९ लाख रुपियाँ बराबरको लसुन नेपाल भित्रेको हो । यसबापत ३३ करोड ६६ लाख ७९ हजार रुपियाँ बराबर राजस्व सङ्कलन भएको मेची भन्सार कार्यालयले जनाएको छ । अघिल्लो वर्षको तुलनामा लसुनको आयात २२५.१ प्रतिशतले वृद्धि भएको देखिएको छ ।
मेची भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा ४० करोड सात लाख ९४ हजार रुपियाँको ३२ लाख १६ हजार २० किलोग्राम लसुन आयात भएकोमा पछिल्लो वर्ष आयात बढेको हो ।
चीनबाट भारत हुँदै लसुन नेपाल भित्रिने गरेको छ । सबैभन्दा बढी राजस्व वृद्धि भएका १० वस्तुमा लसुन पनि रहेको मेची भन्सार कार्यालयका सूचना अधिकारी हुमागाईंले बताउनुभयो ।