• १४ साउन २०८२, बुधबार

बजार पुँजीकरण चार वर्षपछिकै उच्च

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन १४ गते । नेप्से परिसूचक चार वर्षयताकै उच्च विन्दुमा पुगेको छ । मङ्गलबार सेयर बजारको आकार पहिलो पटक बजार पुँजीकरण ५० खर्ब रुपियाँ पुगेको हो । बजार लगातार बढ्न थालेसँगै सेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्तिका रूपमा रहेको बजार पुँजीकरण आकार नयाँ उचाइमा पुगेको हो ।

नेप्से परिसूचकले पनि तीन हजारको विन्दु पार गरेको छ । लगानीकर्ताको चार वर्षको अवधिमा सेयर बजारले तीन हजारको विन्दु पार गरेको हो ।

मङ्गलबार नेप्से ३०.७६ अङ्कले उकालो लागेर ३००२.०७ को विन्दुमा पुगेर अडिएको छ भने सेन्सेटिभ इन्डेक्स ३.६६ अङ्कले उकालो लागेर ५१८.५९ को विन्दुमा पुगेको छ । समग्रमा मङ्गलबारको नेप्से १.०३ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि ०.७१ प्रतिशतले उकालो लागेको छ ।

जुन चार वर्षयताको उच्च विन्दु हो । यसअघि २०७८ भदौ १३ गते नेप्से ३०४४.८७ विन्दुमा पुगेर बन्द भएको थियो । त्यसपछि तलमाथि गरेको बजारले तीन हजारको विन्दु पार गर्न सकेको थिएन ।

परिसूचकसँगै कारोबार रकम पनि १८ अर्बमाथि नै समालिएको छ । मङ्गलबार ३२१ कम्पनीको चार करोड १८ लाख आठ हजार ९६६ कित्ता सेयर एक लाख ५७ हजार ५२३ पटक खरिदबिक्री हुँदा १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार ८८५ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । पछिल्ला केही दिनयता कारोबार रकम पनि १६ अर्बमाथि रहेको छ ।

तेस्रो दिन हिमालयन डिस्टिलरी लिमिटेडको सर्वाधिक सेयर कारोबार भएको छ । कम्पनीको ६४ करोड ४१ लाख ३८ हजार २७५ रुपियाँ बराबरको सेयर कारोबार भएर सर्वाधिक सेयर कारोबार भएको छ ।तेस्रो दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये विकास बैङ्क, व्यापार र फाइनान्सबाहेक बाँकी उपसमूहको परिसूचक उकालो लागेको छ । अन्य उपसमूहको परिसूचक सर्वाधिक २.५८ प्रतिशतले उकालो लागेको छ भने लघुवित्त १.६९ प्रतिशत, बैङ्किङ १.३२ प्रतिशत, निर्जीवन बिमा १.१२ प्रतिशतले उकालो लागेको छ ।

औसत मूल्यबारे ध्यानाकर्षण

सेयर बजारमा देखिएको प्राविधिक गडबडीको घटनालाई लिएर लगानीकर्ताले नेप्सेको ध्यानाकर्षण गराएका छन् । नेपाल सेयर बजार लगानीकर्ता सङ्घ र नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिच सोमबार सेयर बजारमा देखिएको प्राविधिक गडबडी र लगानीकर्ताको चासोबारे छलफल भएको छ ।

सङ्घले साउन १२ गतेको १५ मिनेटको औसत मूल्यसम्बन्धी समस्या उठाउँदै सुधारका लागि ध्यानाकर्षणपत्र बुझाएको हो । नेप्सेले समस्यालाई गम्भीरतापूर्वक लिएर सुधारको प्रतिबद्धता जनाएको छ । सङ्घका पदाधिकारीले नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईंसँग भेट गर्दै साउन १२ गतेको १५ मिनेटको औसत मूल्यमा देखिएको गडबडीबारे ध्यानाकर्षण गराएका थिए । सो घटनाले सेयर बजारमा पारदर्शिता र लगानीकर्ताको विश्वासमा गम्भीर असर पारेको भन्दै सङ्घले तत्काल सुधारका उपाय अपनाउन आग्रह गरेको थियो ।

सङ्घका अध्यक्ष डा. केशवप्रसाद श्रेष्ठले नेप्से प्रमुखलाई औपचारिक ध्यानाकर्षणपत्रसमेत बुझाउँदै बजारको प्रविधिगत सुदृढीकरण र लगानीकर्ता हितको संरक्षणमा ठोस कदम चाल्न आग्रह गर्नुभएको थियो । उहाँले बजारमा देखिएको प्राविधिक कमजोरीको समाधानका लागि दीर्घकालीन नीति तथा पूर्वाधार सुधार आवश्यक भएको उल्लेख गर्नुभयो ।

नेप्से प्रमुख कार्यकारी अधिकृत चापागाईंले विषयप्रति संस्थागत रूपमा गम्भीरता देखाइएको र भविष्यमा यस्ता समस्या दोहोरिन नदिन आवश्यक सुधार लागु गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सोमबार सेयर बजारमा गणनामा प्राविधिक समस्या देखिएको भन्दै नेप्सेले क्षमायाचनासहित सच्याएको थियो ।