काठमाडौँ, साउन १३ गते । पशुपति क्षेत्रमा ४५ वर्षदेखि हुन नसकेको ऐतिहासिक लाखे झ्यालिन्छ नाच यस वर्ष श्रावण शुक्ल पञ्चमीदेखि फेरि सुरू हुने भएको छ ।
जयवागेश्वरी मन्दिर, देवपत्तनमा ऐतिहासिक लाखे झ्यालिन्छ नाचको पुनःरुत्थान गर्न लागिएको स्थानीय श्रीकृष्ण डङ्गोलले राससलाई जानकारी दिनुभयो । दथु त्वाः बाजं खलः र स्थानीय संस्कृति तथा सम्पदाप्रेमीहरूको सक्रियताबाट यो पौराणिक र नेवारी संस्कृति झल्काउने नाचलाई पुनर्जीवन दिन लागिएको उहाँले सुनाउनुभयो । श्रावण शुक्ल पञ्चमीदेखि भाद्र कृष्ण सप्तमीसम्म १७ दिन यो नाच सञ्चालन हुने जनाइएको छ ।
पशुपति क्षेत्रमा प्रस्तुत गरिने लाखे नाचले भूतप्रेत नलागोस्, मरेका आत्माले दुःख नदिऊन् र मृतकको आत्माले चिरशान्ति पाओस् भन्ने कामनाका साथ स्थानीयहरूको अनुरोधमा घर–घरमा समेत प्रदर्शन गरिने प्रचलन रही आएको छ ।
विगतमा ४५ वर्षसम्म रोकिएको यो ऐतिहासिक परम्परालाई अब कहिल्यै लोप हुन नदिने स्थानीयवासी एवं आयोजक संस्था दथु त्वाः बाजं खलः र स्थानीय संस्कृति तथा सम्पदा प्रेमीहरूको प्रतिबद्धता छ ।