• १२ साउन २०८२, सोमबार

मेचीनगरका दुई महिलामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि

blog

झापा,  साउन १२ गते । मेचीनगर नगरपालिकाका दुई महिलामा ‘जापानिज इन्सेफलाइटिस’ सङ्क्रमण पुष्टि भएको छ ।  मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाका अनुसार वडा नं ३ की ३६ वर्षीया र वडा नं ५ की ५५ वर्षीया महिलामा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित दुबै जनाको बिर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा उपचार गरिएको छ । उपचारपछि भर्खरै घर फर्किएका दुबै जनाको स्वासथ्य अवस्था सामान्य रहेको शाखा प्रमुख सापकोटाले बताउनुभयो ।

जापानिज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने र मस्तिष्कमा सङ्क्रमण हुने एक प्रकारको भाइरसजन्य रोग हो । यसले सङ्क्रमितको स्नायु प्रणालीलाई अङ्गभङ्ग बनाउनुका साथै बिरामीको मृत्युसमेत हुनसक्ने स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटी बताउनुहुन्छ ।

नगरमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण देखापरेपछि यसको रोकथाम र उपचारको बारेमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बाराकोटी, काठमाडौँस्थित विश्व स्वास्थ्य सङ्गठनकी प्रतिनिधि डा. सोनिया भगत, प्रादेशिक अस्पताल भद्रपुरकी डा. सङ्गीता साहलगायतको विज्ञ टोलीले मेचीनगरका जनप्रतिनिधि र स्वास्थ्य शाखाका कर्मचारीसँग छलफल गरेको नगरका प्रेस संयोजक अर्जुन कार्कीले जानकारी दिनुभएको छ ।

विज्ञ टोलीले सङ्क्रमण फैलिन नदिन समुदायमा जनचेतना अभिवृद्धिका कार्यक्रम गर्न, बिरामीको खोजी र उपचारको व्यवस्था मिलाउन सुझाव दिएको कार्कीले बताउनुभयो । छलफलमा सहभागी नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले सङ्क्रमण फैलिन नदिन स्वाथ्यकर्मीलाई घर–घर पुगेर सचेतना जगाउन र सङ्क्रमितको समयमा नै स्वास्थ्य उपचारको व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।

सङ्क्रमणको अवस्था जटिल बनेमा प्रादेशिक अस्पताल भद्रपुरमासमेत उपचारको व्यवस्था मिलाउन आवश्यक समन्वय गरिने उपप्रमुख मीना उप्रेतीले बताउनुभयो । जापानिज इन्सेफलाइटिस सार्ने भाइरसबाट सङ्क्रमित हाँस, कुखुरा, सुँगुर, बङ्गुर, घरपालुवा चरा, बकुल्ला आदिलाई टोकेको लामखुट्टेले मानिसलाई टोकेपछि रोगको सङ्क्रमण फैलिन्छ ।

स्वास्थ्य शाखाकी प्रमुख सापकोटाका अनुसार टाउको दुख्ने, उच्च ज्वरो आउने, बेहोस हुने, घाँटीमा गाह्रो भएर सास फेर्न कठिन हुने, कम्पन हुने र पक्षघात हुने यो रोगको प्रमुख लक्षण हुन् । जापानिज इन्सेफलाइटिसबाट जोगिने सबैभन्दा राम्रो उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु नै हो । शरीर ढाक्नेगरी कपडा लगाउने र झुलभित्र सुत्ने गरेमा रोगको सङ्क्रमणको जोखिम कम हुने उहाँको भनाइ छ ।

यो रोगबाट बच्नका लागि बालबालिकालाई १२ महिनाको उमेरमा खोप लगाउनुपर्छ । यो खोप लगाउन छुटेको रहेछ, भने पाँच वर्षको उमेरमा पनि खोप लगाउन सकिने उहाँले जानकारी दिनुभयो । रासस