• १३ साउन २०८२, मङ्गलबार

कर्णालीका पत्रकारको स्वास्थ्य बिमा

blog

पत्रकार स्वास्थ्य बिमा पोलिसी हस्तान्तरण गरिँदै ।

वीरेन्द्रनगर समाचारदाता 

सुर्खेत, साउन १२ गते । कर्णाली प्रदेश सरकारले प्रदेशभित्रका ६९३ जना पत्रकारको स्वास्थ्य बिमा गरेको छ । नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिको सहकार्यमा प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सो बिमा गरिएको हो । स्वास्थ्य बिमा योजनाका लागि मन्त्रालय र राष्ट्रिय बिमा कम्पनी लिमिटेडबिच सम्झौता भएको छ । 

बिमा अनुसार पत्रकारले प्रतिवर्ष ७० हजार रुपियाँसम्मको औषधोपचार सेवा लिन सक्ने छन् । कुल बिमा खर्च करिब १४ लाख रुपियाँ रहेको मन्त्रालयले जनाएको छ । बिमित पत्रकारले बिरामी परेको ६० दिनभित्र वा अस्पतालबाट डिस्चार्ज भएको ३५ दिनभित्र बिमा कम्पनीलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ । 

आइतबार कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको पत्रकार स्वास्थ्य बिमा पोलिसी हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यामलाल कँडेलले पत्रकारको सुरक्षामा राज्यको भूमिका हस्तक्षेप होइन, संरक्षण अनिवार्य भएको बताउनुभएको छ । मुख्यमन्त्री कँडेलले पत्रकारिता पेसा जोखिमपूर्ण मात्र नभई लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, “पत्रकारिता सधैँ सत्य खोज्ने, जनताको आवाज बुलन्द पार्ने पेसा हो । यस्तो संवेदनशील र कठिन जिम्मेवारी निर्वाह गर्ने पत्रकारको सुरक्षामा राज्यको चासो र संरक्षण अपरिहार्य हुन्छ ।” प्रदेश सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै राज्य र सञ्चारकर्मीबिच पारदर्शिता, आपसी सम्मान र सहकार्य आवश्यक रहेको मुख्यमन्त्री कँडेलको भनाइ थियो । स्वास्थ्य बिमा कार्यक्रमले पत्रकारको सुरक्षाप्रतिको राज्यको दायित्वबोध, लोकतान्त्रिक मूल्य र मानव अधिकारको पक्षमा सरकारको प्रतिबद्धता पूरा हुने मुख्यमन्त्री कँडेलले विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, मन्त्रालयका कर्मचारी, नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समिति, विभिन्न सञ्चार संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।