धरान (सुनसरी), साउन ११ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धार्मिक क्षेत्रको संरक्षण, पूर्वाधार निर्माण तथा सुधार र जल व्यवस्थापनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ ।
आज वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिको आयोजनामा सुनसरीको वराहक्षेत्र नगरपालिका-१ स्थित वराहक्षेत्र मन्दिरमा आयोजित दोस्रो वराहजयन्ती कार्यक्रममा उहाँले यहाँका धार्मिक तथा सांस्कृतिक महत्त्वलाई कायम राख्दै यसको संरक्षणप्रति प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
हरेक वर्ष हजारौँ श्रद्धालुहरूको आगमन हुने यस तीर्थस्थलमा पूर्वाधार र संरचनाको स्तरोन्नति अपरिहार्य भएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । पछिल्लो समय बाढी तथा कटानको उच्च जोखिममा परेको वराहक्षेत्रमा तटबन्ध निर्माणका साथै अन्य सुरक्षाका उपाय अघि बढाइने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
वराहक्षेत्रलाई धार्मिक पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने रणनीतिअन्तर्गत सड़क, पदमार्ग र सूर्यकुण्डसम्म पहुँचमार्ग स्तरोन्नतिका लागि प्रदेश सरकारले सरोकार भएकासँग समन्वय र सहयोग गर्ने मुख्यमन्त्री कार्कीले उल्लेख गर्नुभयो । प्रदेश र स्थानीय सरकारबीचको समन्वयलाई सुदृढ गर्दै धार्मिक पूर्वाधार विकासलाई अझ प्रभावकारी रूपमा अघि बढाइने उहाँले धारणा राख्नुभयो ।
कोकाहा खोलाको पानीलाई आधुनिक प्रविधिबाट प्रशोधन गरी धार्मिक प्रयोजनमा प्रयोग गर्न सकिने भएकाले त्यसका लागि आवश्यक योजना अघि सारिएको मुख्यमन्त्री कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वर्तमान सतही ढाँचाबाट हटेर सम्मानजनक र सुरक्षित ढङ्गले प्रशोधन गरी प्रयोग प्रणालीमा ल्याउने र जल प्रशोधन संयन्त्र स्थापनाका लागि प्राविधिक पहल सुरु गरिनेछ ।”
उपचारित तथा स्वच्छ पानीलाई धार्मिक अनुष्ठान, पूजाआजा, आरती र मन्दिर परिसरमा पवित्र उद्देश्यका लागि प्रयोग गर्न प्रोत्साहित गरिने प्रदेश सरकारको योजना रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले यसले वराहक्षेत्र आउने श्रद्धालु र पर्यटकलाई विश्वसनीय, सुरक्षित र शुद्ध पानीको व्यवस्था गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । “धार्मिक सम्पदाको संरक्षणसँगै वातावरणीय सन्तुलन र आधुनिक प्रविधिको संयोजनमार्फत धार्मिक क्षेत्रको व्यवस्थित विकासमा प्रदेश सरकार प्रतिबद्ध छ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं १ वराहबाहिनी मुख्यालय सुनसरीका सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपाने, वराहक्षेत्र नगरपालिकाका उपप्रमुख नन्दकुमारी सुनुवा,र जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनालगायत स्थानीय जनप्रतिनिधिको उपस्तिथि थियो । रासस