• ११ साउन २०८२, आइतबार

मेरिङ्देन सडक १६ दिन सम्मका लागि बन्द

blog

डाइभर्सन निर्माण गरिँदै आएको लिङ्तेप र थुकिमाको सिमानास्थित मुङ्वाखोला ।

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन ११ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकास्थित मेरिङ्देन सडक दुई साताभन्दा बढी समयसम्मका लागि बन्द गरिएको छ । मेरिङ्देन सडकको लिङ्तेप–थुकिमा सडक खण्डमा निर्माणको काम भइरहेकाले १६ दिनसम्मका लागि बन्द गरिएको हो ।

मेरिङ्देन गाउँपालिकाका अनुसार शनिबारदेखि आउँदो साउन २५ गतेसम्मका लागि लिङ्तेप–थुकिमा सडक खण्ड बन्द गरिएको हो । मेरिङ्देन गाउँपालिका–४ लिङ्तेप र वडा ५ थुकिमाको सिमाना भई बग्ने मुङ्वाखोलामा ह्युमपाइप बिच्छ्याई डाइभर्सन निर्माण तथा ढलानको काम भइरहेकाले उक्त समयावधिसम्म सडक बन्द गर्नुपरेको गाउँपालिकाले जनाएको छ ।

हाल मङ्वाखोलामा मेवा डेभलपर्स हाइड्रोपावर लिमिटेडले डाइभर्सन निर्माणको काम गरिरहेको छ । डाइभर्सन निर्माणका कारण लिङ्तेप–थुकिमा सडक खण्ड बन्द भएपछि विकल्पका रुपमा थुकिमाको मुदुम्सको मुख्य मार्ग माश्रिङ स्वास्थ्यचौकी हुँदै मुङ्वाखोला–लिङ्तेप–कान्छी बजार सडक प्रयोग गर्न पनि गाउँपालिकाले सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

गाउँपालिकाले साउन २५ गते सम्ममा मङ्वाखोलाको डाइभर्सन निर्माण गरिसक्ने लक्ष्यसहित निर्माणको काम भइरहेको र काम सम्पन्न नभएसम्म सबैखाले यातायातका साधन सञ्चालनमा रोक लगाइएको जनाएको छ । उक्त सडक सदरमुकाम फुङ्लिङदेखि मेरिङ्देन गाउँपालिका हुँदै मिक्वाखोला गाउँपालिका जोड्ने मुख्य सडकमा पर्दछ ।