• ७ साउन २०८२, बुधबार

बिमाले उठाएको दुग्ध व्यवसाय

गुल्मीको बम्घा गाउँमा दैनिक १४ सय लिटर दुध उत्पादन

blog

रेसुङ्गा समाचारदाता

रेसुङ्गा (गुल्मी), साउन ७ गते । दुई वर्षअघि महामारीका रूपमा फैलिएको ‘लम्पी स्किन’ फेरि फैलिँदै छ । तथापि गुल्मीमा भने अहिलेसम्म ‘लम्पी स्किन’ का घटना देखिएको छैन । 

पशुधनमा व्यापक क्षति गराएको ‘लम्पी स्किन’ बाट २०८० सालमा गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५, बम्घास्थित बम्घा बहुउद्देश्यीय सहकारी संस्थामा आबद्ध किसानका ३४ वटा गाई मरेका थिए । त्यही कारण सहकारीमा सङ्कलन हुँदै आएको एक हजार लिटर दुध घटेर तीन सयमा झर्‍यो । 

त्यसबाट निराश किसान पेसाबाटै विस्थापित हुने अवस्था थियो तर गाईको बिमा गरेका कारण उनीहरूलाई पुनर्लाभ गर्न सहज भयो । गाउँपालिकाले पनि प्रतिगाई १० हजार रुपियाँ क्षतिपूर्ति दियो । रुरु कृषि परियोजनाले दुई वर्ष ७८ गाई खरिद गरेर किसानलाई ४० हजार अनुदानमा वितरण गरेकाले किसान पुरानो अवस्थाभन्दा पनि माथि उठे । 

लुम्बिनी प्रदेश सरकारले विज्ञ केन्द्रमार्फत प्रतिलिटर दुई रुपियाँ र रुरुक्षेत्र गाउँपालिकाले प्रतिलिटर तीन रुपियाँ उत्पादनमा आधारित अनुदान सहयोग गरेकाले पनि किसानलाई ऊर्जा प्राप्त भयो ।  रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले आफूहरूले साढे तीन करोडको रुरु कृषि परियोजना नै तयार पारेर कृषि र पशुपालनका क्षेत्रमा काम गरिरहेको बताउनुभयो ।

त्यसयता बम्घाले दुध उत्पादन र बजारीकरणमा फड्को मारेको छ । रुरुक्षेत्र गाउँपालिका–५, बम्घाका महेन्द्र पुरीलाई दैनिक सखारैदेखि सहकारीमा दुध पु¥याउने चटारो हुन्छ । दैनिक ४० लिटर दुध बेच्ने पुरीले मासिक ८० देखि ९० हजार रुपियाँ कमाउँदै आउनुभएको छ ।  सोही गाउँकै बाबुराम श्रेष्ठ त सहकारीमा सबैभन्दा बढी दुध बेच्नुहुन्छ । अवकाश प्राप्त भारतीय सेना श्रेष्ठले सहकारीमा दैनिक ९० लिटरभन्दा बढी दुध बिक्री गर्दै आउनुभएको छ । जेठमा श्रेष्ठले दुधबाटै एक लाख ६० हजार रुपियाँभन्दा बढी कमाइ गर्नुभएको छ ।

२०६५ मा बम्घाका किसान मिलेर १८ लिटर दुध सङ्कलन गर्थे । अहिले त्यही बम्घा गाउँले दैनिक १४ सय लिटर दुध बेच्दै आएको छ । तत्कालीन मालिका गाईपालन समूहबाट दुध सङ्कलन थालेका स्थानीयले पछि सहकारी दर्ता गरेर काम अगाडि बढाएका थिए । बम्घा बहुउद्देश्यीय सहकारी संस्था रुरुक्षेत्र गाउँपालिका–५, बम्घामा अहिले १८८ जना सेयर सदस्य छन् भने सहकारीमार्फत जोडिएर ११९ जनाले व्यावसायिक रूपमा दुधको कारोबार गर्दै आएका छन् । 

ईश्वर डेरीमार्फत जिल्लाका विभिन्न ठाउँमा दुध बिक्रीवितरण हुने सहकारीले जनाएको छ । किसानले प्रतिलिटर न्यूनतम ६५ देखि १२० रुपियाँसम्म मूल्य पाउँछन् । बम्घा बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कुलचन्द्र पुरीले संस्थाले मासिक ३० लाख रुपियाँ बराबरको दुधको कारोबार गर्दै आएको जानकारी दिनुभयो । 

सहकारीमार्फत दैनिक तीन जनाले रोजगारी पाएका छन् । बम्घामा अहिले करिब १६० गाई र २० वटा भैँसी छन् । सहकारीका सचिव मेघराज गिरीले अहिले पाँच वटा व्यावसायिक फर्मबाट र बाँकी ८५ प्रतिशत व्यक्तिगत रूपमा आफूहरूले दुध सङ्कलन गरिरहेको जानकारी दिनुभयो ।