सल्यान समाचारदाता
सल्यान, साउन ६ गते । सल्यानमा सुन्तलाका बिरुवाको माग बढेको छ । बागचौर नगरपालिका–८ र ९, कोटमौलाका नर्सरी व्यवसायीले माग अनुसार बिरुवा पुर्याउन सकेका छैनन् ।
बागचौर नगरपालिका–८, कोटमौला डाँगीगाउँका प्रदीप डाँगीले केही वर्षअघिसम्म खासै चर्चा नपाएको सुन्तलाको बिरुवा अहिले किसानको माग धान्नै नसक्ने गरी लोकप्रिय बनेको बताउनुभयो । उहाँले भन्न्नुभयो, “अघिल्लो वर्षकै अर्डर पूरा गर्नै हम्मे हम्मे परिरहेको छ ।” उहाँले १० वर्षदेखि व्यावसायिक फलफूल नर्सरी सञ्चालन गर्दै आउनुभएको छ ।
कृषि जेटिए अध्ययन गरेका डाँगीले अहिले ‘नेपाल कृषि तथा पशुपन्छी फार्म’ मार्फत सुन्तला, कागती र टिमुरका बिरुवा उत्पादन गर्दै आउनुभएको छ । उहाँले यस वर्ष मात्र २५ हजार बिजु र १२ हजार कलमी सुन्तलाका बिरुवा बिक्री गर्नुभएको छ ।
करिब ४० लाख रुपियाँको कारोबारबाट झन्डै २० लाख नाफा सुरक्षित भएको छ । डाँगी भन्नुभयो, “सुरुमा आठदेखि १५ रुपियाँमा बिक्री भएको बिरुवा अहिले ४५ देखि ७५ रुपियाँसम्ममा सजिलै बिक्री हुने गरेको छ ।”
वैदेशिक रोजगारीका सपनासहित विदेश जान चाहेको तर नर्सरी स्थापनापछि आफ्नो दैनिकी बदलिएको गोल्डेन कृषि तथा पशुपन्छी फार्मका सञ्चालक नीरज डिसीको भनाइ छ । उहाँ १२ वर्षदेखि नर्सरी व्यवसायमा सक्रिय हुनुहुन्छ । उहाँले यस वर्ष २० हजार कलमी र १० हजार बिजु सुन्तलासहित कागती र टिमुरका हजारौँ बिरुवा बेचेको बताउनुभयो । करिब २२ लाख रुपियाँको कारोबारबाट १७ लाख रुपियाँ नाफा भएको छ । कोटमौलामा अर्घाखाँची, पाल्पा, दैलेख, रुकुम, रोल्पा, कालीकोटलगायतका जिल्लाबाट सुन्तलाको बिरुवा माग हुने गरेको छ ।
दुई करोडभन्दा बढीको कारोबार
सल्यानबाट हरेक वर्ष सुन्तलाका बिरुवा जिल्लाबाहिर निर्यात हुँदै आएको छ । कृषि विकास कार्यालय सल्यानका अनुसार गत आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म जिल्लाका किसानले तीन लाख ९३ हजार बिरुवा बेचेका छन् । जसमध्ये ५७ हजार ४५० बिरुवा जिल्लामै खपत भएको छ भने तीन लाख २५ हजार ५५० बिरुवा जिल्लाबाहिर निर्यात गरिएको छ । कार्यालयका सूचना अधिकारी ईश्वरीनारायण घर्तीले हालसम्म ३४ लाख ३५ हजार तीन सय रुपियाँ बराबरका बिरुवा जिल्लामै बिक्री भएको बताउनुभयो । उहाँका अनुसार एक करोड ९४ लाख ६६ हजार सात सय रुपियाँ बराबरका बिरुवा जिल्लाबाहिर पठाइएको छ ।