गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन ५ गते । साउनको पहिलो साता बित्न लाग्दासमेत रोपाइँ सन्तोषजनक भएको छैन । गत वर्ष यही अवधिमा मुलुकभरमा ८४.६ प्रतिशत रोपाइँ सकिएकामा यस पटक झन्डै १२ प्रतिशत कम रोपाइँ भएको छ ।
मुलुकभर १३ लाख ८३ हजार ७३२ हेक्टरमा धान रोपाइँ हुने अनुमान गरिएको छ । गत आवमा १४ लाख २० हजार हेक्टरमा धान रोपाइँ भएको थियो ।
भएको रोपाइँ पनि धेरै धान उत्पादन हुने तराई क्षेत्र र मधेश प्रदेशमा निकै नै न्यून छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आइतबारसम्म मुलुकभर नौ लाख ९८ हजार २२८ हेक्टर (७२.१४ प्रतिशत) मात्र धान रोपाइँ भएको छ । सबैभन्दा कम रोपाइँ नै मधेश प्रदेशमा (४६.८३ प्रतिशत) एक लाख ७४ हजार ५०८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । मधेश प्रदेशमा पानी नपरेकाले पनि धान रोपाइँ कम भएको हो ।
अन्नको भण्डार मानिने तराईमा रोपाइँ कम हुँदा यो वर्ष धानको उत्पादन घट्ने अनुमान गरिएको छ । धान बालीविज्ञ डा. उज्ज्वलकुमार कुशवाहाले तराईमा धान रोपाइँ कम हुँदा उत्पादनमा कमी आउने जानकारी दिनुभयो ।
तराईमा साउन पहिलो हप्तासम्म धान रोप्दा उत्पादन हुन्छ, यस वर्ष पानी नपरेका कारण ६० देखि ७० प्रतिशतभन्दा बढी धान रोपाइँ नभएकाले पनि उत्पादन घट्ने देखिएको उहाँले जानकारी दिनुभयो । जति ढिलो रोपाइँ भयो, त्यति धानको उत्पादन घट्ने भएकाले पनि कम समय १२० दिनमा पाक्ने हर्दिनाथ १, हर्दिनाथ ३ धानका जात लगाउन उपयुक्त हुने उहाँको भनाइ छ ।
यस्तै कोशी प्रदेशमा ६१.७९ अर्थात् एक लाख ७० हजार ७९० हेक्टर, बागमती प्रदेशमा ८७.१९ प्रतिशत अर्थात् एक लाख २० हजार ५४५ हेक्टर, गण्डकी प्रदेशमा ७९.२८ प्रतिशत अर्थात् ९४ हजार १८२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । लुम्बिनी र कर्णाली प्रदेशमा ८७.९३ प्रतिशत अर्थात् तीन लाख दुई हजार ९३९ हेक्टरमा धान रोपाइँ सकिएको छ । सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ९६.९९ प्रतिशत एक लाख ७० हजार ८४३ हेक्टरमा धान रोपाइँ भएको छ ।