• ७ जेठ २०८१, सोमबार

जोखिमपूर्ण तुइन यात्रा, विद्यार्थी र सर्वसाधारण मर्कामा

blog

भेरी नदीमाथि तुईन चढेर आउजाउ गर्दै स्थानीय नागरिक । तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुम पश्चिम, असार ५ गते । सरकारले २०७२ सालमा तुइन विस्थापन कार्यक्रम ल्याउँदा रुकुम पश्चिमका खिमबहादुर नेपालीलाई भेरी तर्न अब तुइनको जोखिमपूर्ण यात्रा गर्नुपर्दैन भन्ने लागेको थियो । आठबीसकोट नगरपालिका १४ निवासी नेपालीलाई सात बर्षसम्म पनि घर नजिकको तुइनबाट भेरी तर्नैपर्ने बाध्यता छ । 

जाजरकोटका ज्ञानबहादुर घर्तीलाई पनि त्यो बेला दुई वर्षमै तुइन हटेर झोलुङ्गे पुलबाट आउजाउ गर्न पाइने रहर जागेको थियो । अहिलेसम्म पनि पायक पर्ने ठाउँमा झोलुङ्गे पुल बन्दा तुइनकै भरमा भेरी तर्नुपरेको छ । 

जाजरकोटको नलगाड नगरपालिका १ ठूला बगरदेखि रुकुम पश्चिमको आठविसकोट नगरपालिका १४ छोटेबगर जोड्न तुइनकै सहारा लिनुपर्ने बाध्यता स्थानीयको छ । यहाँका करिब तीन सय घरधुरीका जनताको तुइन छाडेर झोलुङ्गे पुल तर्ने रहर अझै पूरा हुनसकेको छैन । 

ज्ञानबहादुरले पढ्न जाने आउने विद्यार्थी, किनमेलको लागि आउजाउ गर्ने सर्वसाधारण सबैले यही पुल तर्नैपर्ने बाध्यता रहेको बताउनुभयो । सरकारले ल्याएको कार्यक्रम सुनेको तर आफूहरुले उपभोग गर्न नपाएको उहाँको गुनासो छ । 

आठबिसकोट नगरपालिका १४ का वडा अध्यक्ष हुकुमबहादुर पुनले तुइनकै सहारामा त्यहाँका स्थानीयले आउजाउ गरिरहेको बताउनुभयो । १८ वर्ष पहिला स्थानीयले बनाएको तुइनबाटै बिद्यार्थी र सर्वसाधारणले आउजाउ गर्नुपरेको उहाँले जानकारी दिनुभयो । 

‘बजार आउजाउ गर्ने, विद्यालय पढ्न जाने, उपचारका लागि अस्पताल जाने, मेलापात जाने सबैले तुइनबाटै आउजाउ गर्छन्’, वडा अध्यक्ष पुनले भन्नुभयो, ‘१८ वर्ष पुरानो तुइन झन् जोखिमपूर्ण अवस्थामा पुगेको छ ।’ 

जाजरकोटको ठूलाबगर र रुकुम पश्चिमको छोटेबगर आउजाउ गर्ने यहाँ करिब तीन सय घरधुरी छन् । दैनिक एकसय जति विद्यार्थी आउजाउ गर्छन् । यो ठाउँभन्दा १ किलोमिटर टाढा झोलुङ्गे पुल रहेको तर अपायक भएको वडा अध्यक्ष पुनले उल्लेख गर्नुभयो । स्थानीय सरकार आएपछि तुइनको समस्या समाधान हुने आशा बोकेका स्थानीयवासी निराश भएका छन् । 

झोलुङ्गे पुल अति आवश्यकता छ भनेर स्थानीय सरकारलाई प्रस्ताव पठाउँदा आश्वासन मात्रै पाउने गरेको बताइएको छ । झोलुङ्गे पुलसँगै यस क्षेत्रमा सडक, स्वास्थ्य र विद्यालयको समेत आवश्यकता खड्किएको छ ।