• १२ असोज २०८१, शनिबार

गुरुङद्वारा उम्मेदवारी फिर्ता

blog

उम्मेदवारी फिर्ता घोषणा गर्दै कृष्णमुरारी गुरुङ । तस्बिर : गोरखापत्र

काठमाडौं, असार ४ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को केन्द्रीय निर्वाचनमा सदस्य पदका लागि उम्मेदवारी दिनुभएका कृष्णमुरारी गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । हाम्रो फुटबल नेपालमार्फत फुटबल गतिविधिमा सक्रिय गुरुङले शनिबार पत्रकार सम्मेलन गर्दै आफूले उम्मेदवारी फिर्ता लिएको जानकारी गराउनुभएको हो । 

‘फुटबल भित्रको गतिविधि हामीले सोचेको भन्दा फरक रहेछ । त्यहाँ हुने कार्यक्रमहरु आफ्नो पहुँचभन्दा बाहिरको विषय ठाने । लडाइमा जाने तर हतियार पनि आफूसँग नभएपछि त्यसको कुनै तुक नदेखेर उम्मेदवारी फिर्ता लिने निर्णय गरेको हुँ । 

उम्मेदवारी फिर्ता लिने समय सकिएकाले मेरो नाम भने एन्फामा रहिरहनेछ । तर, मैले नाम फिर्ता रहेकाले मेरो प्रतिस्पर्धा हुनेछैन । एन्फा निर्वाचनमा दुई प्यानल भएकोले प्यानलविना मैले जित्ने सम्भावना पनि छैन,’ गुरुङले भन्नुभयो । यसैगरी शनिबार नै पत्रकार सम्मेलन गर्दै सदस्य पदमा उम्मदवारी दिनुभएका कुमार कटुवालले फुटबल विकासका लागि आफूलाई मत दिन सबैसँग आग्रह गर्नुभएको छ । उहाँले निर्वाचन जितेमा एन्फामा प्राप्त गर्ने सबै सुविधा र भत्ता खेलाडी कल्याण कोषमा जम्मा गर्ने प्रतिबद्धता पनि जनाउनु भएको छ । 

एन्फाको केन्द्रिय निर्वाचन असार ६ गते हुँदैछ । निर्वाचनका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र उपाध्यक्ष पंकजविक्रम नेम्वाङले छुट्टा छुट्टै प्यानल बनाएर निर्वाचन लड्दै हुनुहुन्छ । अध्यक्षमा फ्रेन्ड्स क्लबका राजीव पौडेलले पनि उम्मेदवारी दिनुभएको छ ।