• ५ जेठ २०८१, शनिबार

विद्युतकाे अनियमित आपूर्तिले उद्योग सङ्कटमा

blog

नेपालगञ्ज, असार ४ गते । गत एक महिनाभन्दा बढी समयदेखि बाँके जिल्लामा विद्युतकाे  आपूर्ति अनियमित भएपछि यहाँका उद्योग कलकारखाना सञ्चालनमा समस्या भएको छ । विद्युत्को अनियमित आपूर्तिका कारण बाँकेमा रहेका उद्योग गम्भीर समस्या भोग्न बाध्य भएका छन् । आवश्यक विद्युत् नपाउँदा अधिकांश उद्योग बन्द हुने अवस्थामा पुगेको सम्बद्ध उद्योगी, व्यवसायीले बताएका छन् । 

बाँके जिल्लाकै पहिलो सिमेन्ट उद्योग, जय मङ्गलम् सिमेन्ट प्रालिका प्रबन्ध निर्देशक सञ्जय अग्रवालले विद्युत् अनियमितता गहिरिएर उद्योगमा गम्भीर सङ्कट उत्पन्न भएको बताउनुभयो । उहाँले केही घण्टा मात्र विद्युत् उपलब्ध हुँदा ८० प्रतिशतभन्दा बढी उत्पादन घटेको बताउनुभयो । 

प्रबन्ध निर्देशक अग्रवालले बाँके जिल्लामा रहेका सबैजसो ठूला उद्योग विद्युत्का कारण धराशायी हुने अवस्थामा पुगेको जनाउँदै अब यसरी धेरै दिन उद्योग चलाउन नसकिने बताउनुभयो । पश्चिम क्षेत्रकै ठूलो खाद्य उद्योग केएल दुगडका महाप्रबन्धक प्रदीप छाजेडले पनि विद्युत् समस्याले गर्दा उत्पादन समस्या चुलिँदै गएको जनाउँदै यसबाट उद्योगलाई ठूलो मार परेको गुनासो गर्नुभयो । 

उहाँका अनुसार विद्युत् आउने निश्चित तालिका नहुँदा सयौँ मजदुरलाई उद्योग परिसरमा दिनरात पर्खाइराख्नुपर्छ । उत्पादन निश्चित नहुँदा पर्खिरहेका कर्मचारीलाई बढी पैसा दिनुपर्छ भने उत्पादन पनि निकै कम मात्र हुन्छ । 

विद्युत्कै कारण उद्योग धराशायी हुने अवस्था आइसकेको जनाउँदै महाप्रबन्धक छाजेडले यसरी उद्योग चलाउनुभन्दा सरकारले विद्युत् नियमित नगर्ने हो भने बन्द गर्दा नै न्याय हुने बताउनुभयो । विद्युत्का कारण अधिकांश उद्योग धराशायी हुने अवस्थामा पुगेको गुनासो नेपालगञ्ज उद्योग वाणिज्य सङ्घमा दैनिक धेरै आउने गरेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ । 

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुलवाहिद मन्सुरीले विद्युत् सङ्कटलाई लिएर दैनिक धेरै उद्योगीले गुनासो गर्ने तथा समस्या समाधान गराउन पहल गर्न आग्रह गर्ने गरेको बताउनुभयो । उद्योग, व्यवसायमा गहिरिँदो विद्युत् सङ्कटप्रति कसैले पनि गम्भीर भएर सोचेको नपाइएको उहाँको गुनासो छ । विद्युत् सङ्कटलाई लिएर विद्युत् प्राधिकरणसँग पटकपटक छलफल गरे पनि आश्वासनबाहेक केही नपाएको अध्यक्ष मन्सुरीले बताउनुभयो । 

“२४ घण्टा विद्युत् उपलब्ध नभए पनि जति समय प्राप्त हुने हो, त्यो पूर्वजानकारी भइदिए मजुदर, कर्मचारी व्यवस्थापनमा सहज हुने थियो,” उहाँले भन्नुभयो । विद्युत् वितरण केन्द्र नेपालगञ्जले भने विद्युत् आपूर्तिको समस्यालाई लिएर कार्यालय गम्भीर रहेको जनाउँदै विद्युत् नियमित गर्ने प्रयास भइरहेको जनाएको छ । 

Author

सिराज खान