काठमाडौँ, असार ८ गते। विश्व संगीत दिवसको अवसरमा काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा राष्ट्रिय थारू कलाकारले मौलिक गीतसहित प्रस्तुति दिएका छन्।
राष्ट्रिय थारू कलाकार मञ्चले आयोजना गरेको बृहत् राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रममा कलाकारले प्रस्तुति दिएका हुन्।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पूर्व सांसद रेशम चौधरीले पहिचानको लागि आफूले सांस्कृतिक क्रान्ति गर्दा जेलमा बस्नु परेको दाबी गर्नुभयो।
उहाँले भन्नुभयो, ‘मैले रेडियो नेपालमा २०४९ सालबाट गीत गाएर सुरु गरेको सांस्कृतिक क्रान्तिलाई गणतन्त्र देख्न सकेन। मलाई थुने,अनि राजनीतिमा बाध्य भएर आउनु पर्यो।’
देशभरका थारू कलाकारले आफ्नो भाषा, संस्कृति र परम्परागत संस्कृति झल्काउने प्रस्तुति दिने राष्ट्रिय थारू कलाकार संघका महासचिव विजय चौधरीले बताउनुभयो।
कार्यक्रममा वीर चौधरी, ममता चौधरी, विवेक चौधरी, खेम चौधरी, मनोज महतो, सुनिल चौधरी, आर्या चौधरी, नन्दुराज चौधरी, शिव चौधरीको ग्रुप डान्स, सोमति थारूलगायत देशभरका राष्ट्रिय कलाकारले आफ्नो क्षेत्रमा बोलिने थारू भाषाका मौलिक संस्कृति झल्कने प्रस्तुति दिनुभयो।
कार्यक्रममा चारजना अग्रज स्रष्टालाई सम्मान गरिएको थियो।