कालीकोट, असार ८ गते। स्थानीय तहले संंविधान अनुसार असार १० गतेसम्म आ–आफ्नो पालिकाको नीति तथा कार्यक्रम र बजेट ल्याइसक्नुपर्छ। त्यसैको तयारीमा स्थानीय तह जुटेका छन् । कालीकोटको रास्कोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा बजेट सार्वजनिक गरेको छ।
शनिबार नगरसभाको १६ औँ अधिवेशनबाट ४७ करोड २२ लाख ८२ हजार ५५१ रुपियाँको बजेट सभामा प्रस्तुत गरेको छ। नयाँ नीति तथा कार्यक्रममा कालीकोट जिल्लाका जन्मदाता अर्थात् जिल्ला स्थापना गर्ने रास्कोट–४ का धर्मदत्त उपाध्यायको नाममा आधारभूत विद्यालय स्थापनादेखि रैथाने बालीको संरक्षण गर्ने उल्लेख छ।
नीति तथा कार्यक्रम नगर प्रमुख धर्मराज शाहीले प्रस्तुत गर्नुभएको थियो भने बजेट प्रस्तुत उपप्रमुख मनिराज बरालले प्रस्तुत गर्नुभएको थियो। नगरपालिकाका एमआइएस अप्रेटर तथा गैरसरकारी संस्थाका फोकल व्यक्ति हुकुम शाहीले प्राय कार्यक्रम पुरानैलाई जोड दिँदै यहाँको रैथाने मार्सी धान स्याउ, कोदोलाई उत्पादन वृद्धि र किसानलाई अनुदानमा जोड दिने नयाँ नीति आएको बताउनुभयो।